- नेपाल फ्याक्ट चेक
- असार २३, २०८१
प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेको भन्दै एक वर्ष पुरानो भ्रामक भिडियो युट्युबमा भाइरल
युट्युबमा संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्दै गरेको शुक्रबार अपलोड गरिएको एउटा भिडियो भाइरल भएको छ। संसदमै प्रचण्डको यस्तो बाचा: ओली आरजु देउवा थर्कमान, राजिनामा नदिनुको कारण खुलाए शीर्षक राखिएको यो भिडियोको भ्युज आइतबार बिहानसम्म ५ लाख ४४ हजार पुगिसकेको छ।
तर हाम्रो तथ्य जाँचले यो भिडियो भ्रामक पुष्टि भएको छ। एक वर्षअगाडि तत्कालीन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गर्दा शीर्ष नेताबीच सहमतिपछि खुलेको संसदमा गरेको सम्बोधनको भिडियोलाई अहिले भ्रामक व्याख्या गर्दै फैलाइएको देखियो।
के छ भाइरल भिडियोमा ?
‘कलर अफ नेपाल’ नामको १० लाखभन्दा बढी सब्सक्राइबर भएको युट्युब च्यानलमा शुक्रबार (जुलाई ५, २०२४) एउटा भिडियो राखिएको छ जसको शीर्षक राखिएको छ- संसदमै प्रचण्डको यस्तो बाचा: ओली आरजु देउवा थर्कमान, राजिनामा नदिनुको कारण खुलाए।
भिडियोको थम्बनेलमा लेखिएको छ- ‘प्रचण्डले संसदमै खाए कसम। रविले ठोके टेबल। १० दिन प्रधानमन्त्री हुन्छु होला, अब मौका गुमाउँदिन। गिरीबन्धु र भुटानी काण्डको नाइकेलाई जेल कोचेरै इतिहास रच्छु। ओली आरजु देउवाको होस उड्यो।’
भिडियोमा आइतबार बिहानसम्म १४ हजार लाइक छन् भने १९५३ कमेन्ट छन् जसमध्ये अधिकांशले कांग्रेस र एमालेले गठबन्धन सरकार चलाउने निर्णय गरिसकेपछिको घटनाक्रम ठानेर प्रतिक्रिया दिएका छन्। यही कारण हामी यो भिडियोको तथ्य जाँच गर्ने निर्णयमा पुग्यौँ।
भिडियोमा प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोष्ट्रममा उभिएर सम्बोधन गर्दै गरेको दृश्य देख्न सकिन्छ।
के हो तथ्य ?
हामीले भिडियो अपलोड भएको दिन शुक्रबार (जुलाई ५, २०२४) अर्थात् असार २१ गते प्रतिनिधि सभाको बैठक थियो कि थिएन भनी प्रतिनिधि सभाको आधिकारिक वेबसाइटमा हेर्यौँ।
त्यहाँ उपलब्ध असार १६ गतेको कार्यव्यवस्था परामर्श समितिबाट पारित कार्यतालिका अनुसार सो दिन मात्र नभई असार १७ गते पछि प्रतिनिधि सभाको बैठक नबसेको देखियो।
बीबीसी नेपालीका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असार २८ गते प्रतिनिधिसभामा विश्वासको मत जाँच गर्ने व्यवस्था गर्न सङ्घीय संसदका महासचिवलाई पत्राचार गरेका छन्।
त्यसअघि प्रधानमन्त्रीले संसदमा सम्बोधन गरेका छैनन्।
एक वर्षअघिको भिडियो भाइरल
त्यसो भए अहिले भाइरल भएको भिडियो कहिलेको हो? यो थाहा पाउन हामीले भिडियोलाई ध्यान दिएर हेर्यौँ।
भाइरल भिडियोको २ मिनेट २१ सेकेन्डमा प्रचण्डले सोधेका छन्- ‘के प्रतिपक्षले राजीनामा दिनु (भन्ने) बित्तिकै राजीनामा दिनुपर्ने हो?’
यही कीवर्ड राखेर गुगलमा सर्च गर्दा हामी अनलाइनखबर, इकान्तिपुर, रातोपाटी, बाह्रखरी लगायतका अनलाइन न्युजपोर्टलमा पुग्यौँ।
हामीले देख्यौँ ती समाचार २०८० असार २५ गते अर्थात् झण्डै एक वर्ष अगाडि प्रकाशित हुन्। हेर्नुस् स्क्रिनसट-
यसैका आधारमा हामीले प्रतिनिधि सभाको आधिकारिक वेबसाइटमा खोज्दा ‘प्रतिनिधि सभा बैठक, २०८० असार २५ गते, साेमबार दिनकाे ३ः०० बजे / सम्माननीय प्रधानमन्त्री श्री पुष्प कमल दाहाल (प्रचण्ड)’ लेखिएको पेजमा ४७ मिनेट २० सेकेन्डको भिडियो भेट्टायौँ जुन काँटछाँट गरेर भाइरल भिडियोमा प्रयोग गरिएको छ। हेर्नुस् प्रतिनिधि सभाको वेबसाइटमा भिडियो।
त्यसैगरी प्रतिनिधि सभाको युट्युब च्यानलमा पनि यो भिडियो उपलब्ध छ। यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ।
भाइरल भिडियोको शीर्षक र थम्बनेलमा दावी गरिए जस्तो ‘गिरीबन्धु र भुटानी काण्डको नाइकेलाई जेल कोचेरै इतिहास रच्छु’ जस्ता विषय प्रचण्डले बोलेका छैनन्।
के थियो त्यतिबेलाको प्रसंग ?
एक पुस्तक विमोचनका क्रममा आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको भन्ने अर्थ लाग्ने अभिव्यक्ति प्रचण्डले दिएपछि तत्कालीन प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर तीन दिन संसद अवरुद्ध गरेको थियो।
कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीचको सहमतिपछि संसद खुलेको थियो र त्यही बैठकमा प्रधानमन्त्रीले स्पष्टीकरण दिएका थिए।
त्यतिबेला प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस सहभागी थियो भने एमाले प्रतिपक्षमा थियो।
तथ्य जाँच
दावी : संसदमै प्रचण्डको यस्तो बाचा: ओली आरजु देउवा थर्कमान, राजिनामा नदिनुको कारण खुलाए शीर्षकको युट्युबमा भाइरल भिडियो जसको थम्बनेलमा लेखिएको छ- ‘प्रचण्डले संसदमै खाए कसम। रविले ठोके टेबल। १० दिन प्रधानमन्त्री हुन्छु होला, अब मौका गुमाउँदिन। गिरीबन्धु र भुटानी काण्डको नाइकेलाई जेल कोचेरै इतिहास रच्छु। ओली आरजु देउवाको होस उड्यो।’
दावीकर्ता : ‘कलर अफ नेपाल’ नामको युट्युब च्यानल
तथ्य : भ्रामक सूचना। शीर्षक र थम्बनेलमा दावी गरिएको विषय भिडियोमा छैन। भिडियो एक वर्षअघि फरक प्रसंगमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको रोष्ट्रममा उपस्थित भई स्पष्टीकरण दिँदाको हो।