तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

के नेपालमा कोरोनापछि एड्सको महामारी फैलिएको हो ?


के नेपालमा कोरोनापछि एड्सको महामारी फैलिएको हो ?

  • सागर बुढाथोकी 

नेपालमा कोरोनापछि अहिले एचआइभी एड्स फैलिएको र अधिकांश कलेज पढ्ने र स्कूल पढ्ने युवायुवती पीडित रहेको दावी गर्दै सामाजिक सञ्जालहरु भिडियो पोस्ट गरिएको छ। भिडियोमा प्रत्येक अभिभावकले आफ्ना बालबालिकालाई समयमा नै स्वास्थ्य जाँच गराई मृत्युको समय लम्बाउन विश्व स्वास्थ संगठनले आग्रह गरेको समेत दावी गरिएको छ। 

तर हाम्रो तथ्य जाँचमा यो दावी भ्रामक देखियो। हामीले राष्ट्रिय एड्स तथा याैनरोग नियन्त्रण केन्द्रबाट पछिल्लो तथ्याङ्क लिएर पनि हेर्‍यौँ जसले एचआईभी एड्सको महामारी फैलिएको देखिन्न। 

के छ दावी ?

१० हजार फलोअर्स रहेको ‘ई-दैनिक पोस्ट’ नामको फेसबुक पेजको रिलमा सन् २०२४ जुन २४ मा पोस्ट गरिएको एक भिडियोमा अशुद्ध नेपाली भाषामा ‘नेपालमा  HIV AIDS कोरोना पछिको महामारी’ शीर्षक राखिएको छ।

टेलिभिजन तथा रेडियोमा समाचार पढ्दा पृष्ठभूमिमा बजाइनेजस्तै संगीत राखेर ग्राफिक्स बनाइएको छ। त्यसमा पनि अशुद्ध नेपाली भाषामा लेखिएको छ – ‘#Breaking News – सावधान – नेपालमा कोरोनाको महामारीपछि HIV AIDS फैलिएको र अधिकांश कलेज पढ्ने र स्कूल पढ्ने युवायुवती रहेको खुलासा र प्रत्येक parents ले आफ्ना बच्चाबच्चीहरुलाई समयमा नै स्वास्थ्य जाँच गराई मृत्युको समय लम्ब्याउन विश्व स्वास्थ्य संगठनको आग्रह।’

हेर्नुस भिडियोको स्क्रिनरेकर्ड

ई दैनिक पोस्टको उक्त भिडियो वैदेशिक रोजगार नेपाल नामक एक लाख सदस्य भएको फेसबुक ग्रुपमा पनि सेयर भएको छ ।

यही भिडियो युट्युब र टिकटकमा पनि पोस्ट गरिएको थियो, जुन हामीले तथ्य जाँच गर्दागर्दै हटाइसकिएका छन्।

के हो तथ्य ?

यसको तथ्यजाँच गर्न हामीले राष्ट्रिय एड्स तथा याैनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्मासँग सम्पर्क गर्‍यौँ। उनले केन्द्रले सामाजिक सञ्जालमा आएजस्तो एड्स फैलिएको कुनै नयाँ तथ्याङ्क सार्वजनिक नगरिएको बताए।

उनका अनुसार,केन्द्रले हरेक अंग्रेजी वर्षको डिसेम्बरमा आधिकारिक तथ्यांक सार्वजानिक गर्ने गर्छ। अन्तिम पटक सन् २०२३ को डिसेम्बरमा आधिकारिक तथ्याङ्क सार्वजानिक गरेको थियो।

सन् २०२२ को अन्त्यसम्म नेपालमा नयाँ पुराना गरेर ३० हजार व्यक्तिहरुमा एचआईभी रहेको केन्द्रको तथ्याङ्क छ।

उक्त तथ्याङ्क केन्द्रको वेब साइटमा गएर समेत हेर्न सकिन्छ ।

राष्ट्रिय एड्स तथा याैनरोग नियन्त्रण केन्द्रको वेबसाइट

अर्काइभ लिङ्क।

२०२३ डिसेम्बरमा सार्वजानिक गरिएको उक्त तथ्यांङ्क अनुसार, सन् २०२२ मा ४८८ जना व्याक्तिहरुमा एचआइभीको नयाँ संक्रमण देखिएको थियो जुन सन् २०२१ को ६८० जना भन्दा १९२ जनाले कम हो। 

केन्द्रका अनुसार, सन् २०२२ मा भेटिएको ४८८ जना नयाँ संक्रमित सन् २००० को तुलनामा ९० प्रतिशतले कम हो। सन् २००० मा ५०८७ नयाँ संक्रमित भेटिएका थिए। 

भिडियोमा अधिकांश कलेज पढ्ने र स्कुल पढ्ने युवायुवतीमा एचआइभी फैलिएको दावी गरिएको छ। उक्त तथ्यांक अनुसार, सो दावी पनि भ्रामक छ । किनकि, केन्द्रका अनुसार, स्कुल कलेज पढ्ने विद्यार्थीहरु एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समूह अन्तर्गत पर्दैनन्। त्यस्तै, स्कूल-कलेज पढ्ने विद्यार्थीहरुलाई वर्गीकरण गरेर केन्द्रले कुनै तथ्याङ्क राखेको छैन।

केन्द्रका अनुसार, नेपालमा  एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समूहहरु सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, जेलमा रहेका कैदीहरु, पुरुष समलिङ्गीहरु तथा तेस्रो लिंगीहरु र रोजगारीको लागि विदेशिनेहरु हुन्।

सन् २०२० मा गरिएको राष्ट्रिय सर्वेक्षणमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरुमा ३ प्रतिशतका दरले एचआईभीको संक्रमण रहेको पाइएको थियो। यसैगरी, सन् २०१७ र २०१८ मा भएका सर्वेक्षण अनुसार, महिला यौनकर्मीहरुमा २.२ प्रतिशत र पुरुष समलिंगीहरुमा ६.२ प्रतिशतका दरले एचआईभीको संक्रमण रहेको पाइएको थियो।

कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा गरिएको सर्वेक्षणले भारतमा कामदार नेपालीहरुमा एचआईभीको संक्रमण १ प्रतिशत भन्दा कम रहेको पाइएको छ।

उपलब्ध तथ्याङ्कलाई विश्लेषण ग‍रेर केन्द्रले नेपालको वर्तमान एचआईभीको अवस्थालाई केन्द्रीकृत महामारी (concentrated epidemic) को रुपमा परिभाषित गरेको छ।  यसको अर्थ एक वा सो भन्दा बढी एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहमा एचआईभी संक्रमण दर पाँच प्रतिशत भन्दा बढी तर सामान्य जनसङ्ख्या वा पूर्व प्रसुति सेवा लिएका गर्भवती महिलाहरुमा एचआईभी संक्रमण दर एक प्रतिशत भन्दा कम हुनु हो।

के माथिको तथ्याङ्कले कोरोनापछि एड्सको महामारी फैलिएको जनाउँछ त ?

पछिल्लो तथ्याङ्कले कोरोनापछि एचआईभी एड्सको महामारी फैलिएको नदेखिने केन्द्रका निर्देशक डा. शर्मा बताउँछन्।

उनको भनाईमा कोरोना फैलिनुअघि पनि नेपालमा एड्सको ‘केन्द्रीकृत महामारी’ नै थियो। अझ त्यतिबेला २०२२ मा भन्दा धेरै नयाँ संक्रमितहरु भेटिएका थिए। 

जस्तो कि, सन् २०१९ मा कोरोना महामारी फैलिनुअघि सन् २०१८ मा नेपालमा दुई हजार १०१ जना नयाँ संक्रमित भेटिएका थिए।  यो सन् २०२२ मा भेटिएका ४८८ जना भन्दा एक हजार ६१३ जनाले बढी हो।

‘सामाजिक सञ्जालमा जसरी कोरोनापछि एड्सको महामारी फैलिएको भनेर प्रचार गरिएको छ, त्यो भ्रामक सूचना फैलाइएकाे हो’, डा. शर्माले भने।

 

a graph of different colored lines

सन् २००० देखि २०२२ सम्मको एचआईभी संक्रमण सङख्या।  

विश्व स्वास्थ्य संगठनले आग्रह गरेको हो ?

भिडियोमा प्रत्येक अभिभावकले आफ्ना बच्चाबच्चीहरुलाई समयमा नै (एचआईभी/एड्सको) स्वास्थ्य जाँच गराई मृत्युको समय लम्ब्याउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको दावी गरिएको छ। 

तर विश्व स्वास्थ्य संगठनले नेपालका अभिभावकलाई यस्तो आग्रह गरेको हामीले विश्व स्वास्थ्य संगठनको आधिकारिक वेबसाइट र अरु कुनै पनि विश्वसनीय वेबसाइटमा भेटेनौँ।

तथ्य जाँच

दावी : नेपालमा कोरोनापछि एचआईभी एड्सको महामारी फैलिएको, अधिकांश कलेज पढ्ने र स्कूल पढ्ने युवायुवती पीडित रहेको र प्रत्येक अभिभावकले आफ्ना बच्चाबच्चीहरुलाई समयमा नै स्वास्थ्य जाँच गराई मृत्युको समय लम्ब्याउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको।

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता ।

तथ्य : भ्रामक सूचना। भिडियोमा दावी गरेजस्तै नेपालमा कोरोनापछि एचआईभी एड्सको संक्रमण बढेको छैन, बरु हरेक वर्ष घट्दै गएको छ। त्यस्तै, भिडियोमा दावी गरे जस्तै अधिकांश कलेज र स्कूल पढ्ने किशोरकिशोरीमा पनि एचआईभी एड्सको संक्रमण भएको कुनै तथ्याङ्क छैन। अर्थात्, उनीहरु एचआईभी संक्रमणको उच्च जोखिममा रहेका समूहभित्र पर्दैनन्। विश्व स्वास्थ्य संगठनले नेपालका अभिभावकलाई भिडियोमा दावी गरिएको जस्तो आग्रह हामीले विश्व स्वास्थ्य संगठनको आधिकारिक वेबसाइट र अरु कुनै पनि विश्वसनीय वेबसाइटमा भेटेनौँ।

 

 

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add