तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

नझुक्किनुस्, चितवनको पहिरो भन्दै भाइरल फोटो वास्तवमा कोलम्बियाको


नझुक्किनुस्, चितवनको पहिरो भन्दै भाइरल फोटो वास्तवमा कोलम्बियाको

२०८१ असार २८ गते बिहान नारायणगढ-मुग्लिङ सडकखण्ड अन्तर्गत चितवनको सिमलतालमा पहिरोका कारण दुई वटा यात्रुवाहक रात्री बस बगाएर त्रिशुलीमा बेपत्ता भएको छ। यो खबरसँगै एउटा फोटो सामाजिक सञ्जाल फेसबुक र एक्समा दुर्घटनास्थलको भएको दावी सहित भाइरल भएको छ। अनलाइन न्युजपोर्टल रातोपाटीले समेत आफ्नो समाचारमा सोही फोटो प्रयोग गरेको थियो।

हाम्रो तथ्यजाँचमा यो फोटो मिथ्या भएको देखियो। फोटो नेपालको नभई कोलम्बियाको रहेछ। 

के हो दावी?

नारायणगढ-मुग्लिङ् सडकखण्ड अन्तर्गत चितवनको सिमलतालको पहिरो भन्ने दावी गरिएको फोटो अनलाइन न्युजपोर्टल रातोपाटीले सो विपद्को समाचारसँगै राखेको थियो।

फोटोमा पहाडमा रहेको सडकको एक भाग पहिरोले क्षति पुर्‍याएको देखिन्छ। पहिरोले अवरुद्ध गरेको सडकको दुवैतर्फ मानिस फँसेको समेत देख्न सकिन्छ।

तर तथ्यजाँच तयार गर्दासम्म यो फोटो समाचारबाट हटाइसकिएको छ। यद्यपि, अनलाइन न्युज एग्रिगेटर ‘हाम्रोपात्रो’ मा रातोपाटीले राखेको फोटो अझै देखिन्छ। हेर्नुस् स्क्रिनसट

यस्तै ३ लाख ३९ हजार लाइक भएको ईन्फ्लुन्सर ईशा गुरुङको भेरिफाइड फेसबुक पेजमार्फत् समेत सोही फोटो सिमलतालको पहिरोको हो भन्ने आशय सहित सार्वजनिक गरिएको छ। यो तथ्यजाँच तयार गर्दासम्म तीन हजारभन्दा बढी लाइक र २ सय ६५ जनाले कमेन्ट गरेका छन् भने ६१ जनाले सो पोष्ट सेयर गरेका छन्।

हेर्नुहोस इन्फ्लुन्सर ईशा गुरुङको पोष्टको स्क्रिनसट

अर्काइभ लिङ्क

यसैगरी ६ लाख ४४ हजार लाइक र ७ लाख ९ हजार फलोअर भएको दी नेपालटप  (The Nepaltop) नामक फेसबुक पेजमार्फत् सोही फोटो सिमलतालको पहिरोको हो भन्ने दावी सहित सार्वजनिक गरिएको छ। यो पेजले “सिमताल पहिरो अपडेट : दुइटा बसका ६५ यात्रु बेपत्ता, पहिरोमा अड्किए गोताखोर” लेख्दै फोटो सार्वजनिक गरेको हो। उक्त पोष्टमा यो तथ्यजाँच तयार गर्दासम्म  १३ सय जनाले लाइक र २ सय ६५ जनाले कमेन्ट गरेका छन् भने ११९ जनाले सो पोष्ट सेयर गरेका छन्।

हेर्नुहोस नेपालटप पेजको पोष्टको स्क्रिनसट

अर्काईभ लिङ्क

यसैगरी ६ हजार ९ सय फलोअर रहेका राष्ट्रिय समाचार समितिका पत्रकार टीकाराम सुनारले समेत आफ्नो फेसबुक पेजमार्फत् सोही फोटो सेयर गरेका छन्। सुनारले  फोटो सिमलतालको पहिरोको हो भन्ने आशय दिंदै “यस सडकमा म पनि मृत्युलाई नजिकबाट देखेर फर्केको छु एक समय। आजको यो घटना आकस्मिक होइन, दशकौँदेखि यहाँ यस्तै हुन्छ/हुनेवाला छ भनेर राज्यलाई राम्ररी थाहा छ तर रोकथाम गर्न नसक्दा बारम्बार यस्तै हत्या हुनेगरेको छ” लेखेका छन्।

हेर्नुहोस् पत्रकार टीकाराम सुनारको फेसबुक पोष्टको स्क्रिनसट

अर्काईभ लिङ्क 

के हो तथ्य?

एक पहाडमा सडक अवरुद्द हुने गरी गएको पहिरोको फोटो नेपालको हो कि होइन यकिन गर्न हामीले यो फोटोलाई विभिन्न सर्च इन्जिनमा रिभर्स ईमेज सर्च गरेर हेर्‍यौँ।

यस क्रममा हामीले यो फोटो नेपालको नभई दक्षिण अमेरिकी देश कोलम्बियामा सन् २०२२ डिसेम्बरमा गएको पहिरोको भएको विभिन्न मिडियामा भेट्यौँ। 

यो फोटो उत्तरपश्चिमी कोलम्बियामा गएको पहिरोको भएको उल्लेख गर्दै अस्ट्रेलियाको एबीसी न्युजले ६ डिसेम्बर २०२२ मा समाचार लेखेको छ। हेर्नुस् स्क्रिनसट-

हेर्नुस् अर्काइभ लिङ्क।

 

त्यसैगरी टाइम्स अफ इन्डियाले पनि कोलम्बियाकै पहिरो उल्लेख गर्दै यही फोटो डिसेम्बर ५, २०२२ मा समाचार तयार पारेको देखिन्छ। हेर्नुहोस स्क्रिनसट

हेर्नुस् अर्काइभ लिङ्क। 

यसैगरी सोही पहिरोको भिडियो CGTN नामक चाईनिज समाचार संस्थाले  डिसेम्बर ५, २०२२ मा “Rescuers comb scene of deadly landslide in Colombia” भन्ने शीर्षकमा युट्युवमा सार्वजनिक गरेको भिडियो पनि हामिले फेला पार्यौं। भिडियोमा पहिरो नजिकबाट देख्न सकिन्छ साथै भिडियोको विवरणमा पहिरो कोलम्बियाको दुर्गम उत्तरपश्चिमी क्षेत्रमा रहेको पुएब्लो रिको नगरको भएको समेत उल्लेख गरिएको छ।

तथ्यजाँच

दावी: नारायणगढ-मुग्लिङ् सडकखण्ड अन्तर्गत चितवनको सिमलतालको पहिरो दावी गरिएको फोटो।  

दावीकर्ता : रातोपाटी अनलाइन, सामाजिक सञ्जाल प्रयोगकर्ता

तथ्य : मिथ्या सूचना।  नारायणगढ-मुग्लिङ् सडकखण्ड अन्तर्गत चितवनको सिमलतालको पहिरो भन्ने दावी गरिएको फोटो नेपालसँग सम्बन्धित छैन। उक्त फोटो सन् २०२२ मा कोलम्बियामा गएको पहिरोको हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add