तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

के हो सौर्य एयरलाइन्स दुर्घटनापछि अरु विमानका यात्रु भागाभागको दावीसहित भाइरल भिडियोको तथ्य?


के हो सौर्य एयरलाइन्स दुर्घटनापछि अरु विमानका यात्रु भागाभागको दावीसहित भाइरल भिडियोको तथ्य?

सौर्य एयरलाइन्सको 9N-AME कलसाइन भएको जहाज २०८१ साउन ९ गते बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनामा परेसँगै अन्य विमानका यात्रु पनि त्रसित भएको र भागाभाग परेको दावीसहित एउटा भिडियो फेसबुकमा भाइरल भएको छ। २ लाख ६४ हजारले हेरेको यो भिडियोमा श्री एयरलाइन्सको जहाजबाट यात्रु र्‍याम्प बिना नै बाहिर निस्किरहेको देख्न सकिन्छ।

तर, हाम्रो तथ्यजाँचमा फरक प्रसंगको यो  पुरानो भिडियो भ्रामक दावीका साथ फैलाएको पाइयो।  

के हो दावी?

२० हजार फलोअर्स रहेको र व्यवसायी दुर्गा प्रसाईंको प्रोफाइल फोटो राखिएको  ‘दुर्गा माता भक्त’ नामक फेसबुक प्रयोगकर्ताले साउन ९ गते विमान दुर्घटना भएको केही घण्टामा भिडियो अपलोड गर्दै २१ वर्ष पुरानो सौर्य एयरलाइन्स दुर्घटनाग्रस्त भएपछि अन्य जहाजका यात्रु पनि त्रसित, भागाभाग’ लेखेका हुन्।

भिडियोमा श्री एयरको 9N-ANF कलसाइनको जहाज देखिन्छ भने सेतो टि-सर्ट लगाएका एक व्यक्तिले “श्री एयरलाइन्स मुर्दाबाद” भन्दै गरेको सुन्न सकिन्छ। जहाजको दुवै प्रवेशद्वार खुला रहेको र यात्रु ढोकाबाट र्‍याम्प बिना नै बाहिर निस्किरहेको देख्न सकिन्छ।

हेर्नुहोस स्क्रिनसट

दुर्घटनाको केही घण्टामै पोष्ट गरिएको भिडियोमा १ हजार १ सय वटा रियाक्सन छ भने ४० वटा कमेन्ट देखिन्छ। भिडियो ५९२ पटक सेयर भएको देखिन्छ। 

हेर्नुहोस स्क्रिनरेकर्ड-

के हो तथ्य?

झट्ट हेर्दा आपतकालLन अवतरण  जस्तो देखिने भिडियो दुर्घटना भएकै दिनको हो कि हैन पत्ता लगाउनन हामिले विभिन्न सर्च इन्जिनमा डिप सर्च गरेर हेर्‍यौँ। 

श्री एयरको कुनै जहाज आवतरण भएको छ कि छैन भनी हेर्ने क्रममा हामीले भिडियोमा देखिएको जहाज 9N-ANF सँग सम्बन्धित केही समाचार दुई वर्षअघि (२०७९ साउन १९ गते) प्रकाशन भएको फेला पार्‍यौँ।

अनलाइनखबर तथा नयाँ पत्रिकाको समाचारमा श्री एयरको 9N-ANF जहाज बायाँ  इन्जिनमा धुवाँ देखिएका कारण नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरिएको उल्लेख छ। अनलाइनखबरको समाचारमा सोही जहाजको फोटोसमेत राखिएको छ।

हेर्नुहोस स्क्रिनसट-

भिडियो बारे अझै बुझ्न हामीले भिडियो सर्च समेत गरी हेर्‍यौँ। भिडियो सर्च गरी हेर्दा कोशी अनलाइन नामक फेसबुक पेजले ४ अगस्त २०२२ (साउन १९, २०७९) मा एउटा भिडियो अपलोड गरेको भेट्यौं। ‘नेपालगञ्ज विमानस्थलमा श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण’ लेखिएको भिडियोमा 9N-ANF कलसाइनको जहाज देख्न सकिन्छ। 

गत बुधबारको दुर्घटना पछिको भिडियो भन्दै दावी गरिएको भिडियोमा सेतो सर्टमा देखिएका व्यक्ति कोशी अनलाइनले राखेको भिडियोमा समेत देखिन्छन्। उक्त भिडियोमा सेतो कालो बुट्टा भएको ज्याकेट लगाउने व्यक्ति पनि देखिन्छन्।

हेर्नुहोस स्क्रिनसट

 

अतः बुधबार भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना पछिको भनी दावी गरिएको भिडियो २ वर्ष अगाडि नेपालगञ्जको हो।

तथ्यजाँच

दावी : सौर्य एयरलाइन्स दुर्घटनाग्रस्त भएपछि अन्य जहाजका यात्रु पनि त्रसित भई भागाभाग भएको दावी सहितको भिडियो्।

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता।

तथ्य : भ्रामक सूचना।  भाइरल भिडियो सौर्य एयरलाइन्सको बुधबार भएको दुर्घटनापछिको नभई २ वर्ष अगाडि नेपालगञ्जमा आपतकालीन अवतरण गरेको श्री एयरको 9N-ANF जहाजको हो। फरक प्रसंगको पुरानो भिडियो नयाँ सन्दर्भमा भाइरल गरिएका कारण हामीले यसलाई भ्रामक सूचनामा वर्गीकरण गरेका हौँ।  

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add