- सागर बुढाथोकी
- साउन १४, २०८१
के धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिकमा आफ्नै कीर्तिमान भंग गरेकी हुन्?
थाहा खबर डटकमले पेरिस ओलम्पिकमा नेपालबाट म्याराथनमा सहभागी धाविका सन्तोषी श्रेष्ठले आफ्नै कीर्तिमान भंग गरेको दावीसहितको समाचार लेखेको छ।
तर, हाम्रो तथ्य जाँचले भने यो समाचार मिथ्या देखाएको छ। धाविका श्रेष्ठले म्याराथनमा दौडने मिति आउन अझै १४ दिन बाँकी छ। उनी पेरिस ओलम्पिकमा सहभागी हुन भोलि मंगलबार बल्ल फ्रान्स जाँदैछिन्।
के छ दावी ?
थाहाखबर डटकमले २०८१ साउन १३ गते आइतबार ‘सन्तोषी श्रेष्ठले भंग गरिन् आफ्नै कीर्तिमान’ शीर्षकमा समाचार राखेको थियो।
समाचारको लिडलाइनमा लेखिएको छ – ‘पेरिस ओलम्पिकमा नेपालबाट म्याराथनमा सहभागी धाविका सन्तोषी श्रेष्ठले आफ्नै कीर्तिमानमा सुधार गरेकी छन्। यसअघि २ घण्टा ४६ मिनेट समयमा दौड पूरा गरेकी उनले यसभन्दा ६ मिनेट छिटो दौडँदै कीर्तिमान सुधारेकी हुन्। पेरिस ओलम्पिकमा उनले २ घण्टा ४० मिनेटमै दौड पूरा गरिन्।’
सुधारिएको प्रदर्शन गरेपछि श्रेष्ठको हौसला बढाउन विभिन्न व्यक्ति तथा संस्थाहरुले उनलाई नगद सहयोग गर्ने घोषणा गरेको समेत समाचार लेखिएको छ।
समाचार अनुसार,उनलाई एथलेटिक्स परिवार नेपालका सल्लाहकार मोहन नेपालले ५० हजार रुपैयाँ, रामकृष्ण महर्जनले ३० हजार रुपैयाँ, बैकुण्ठ मानन्धर खेलकुद नेपालले २५ हजार रुपैयाँ, एथलेटिक्स परिवार नेपालले २५ हजार रुपैयाँ, उपाध्यक्ष दीपक रन्जितले २५ हजार रुपैयाँ तथा नेपाल एडभेन्चर रनिडग महासंघका सदस्य सहदेव व्यन्जनकारले २० हजार रुपैयाँ प्रदान गर्ने भएका छन्।
हेर्नुस्, अर्काइभ लिंक
हेर्नुस्, स्क्रिनसट
तथ्य के हो ?
यो विषयमा तथ्यजाँच गर्न हामी पेरिस ओलम्पिक २०२४ को वेबसाइटमा गयौँ। वेबसाइटको खेल तालिका क्याटोगोरीमा गएर वुमन म्याराथनको मिति सर्च गर्दा सन्तोषी श्रेष्ठ सहभागी हुने भनिएको म्याराथन ११ अगस्तमा रहेको फेला पार्यौँ। उक्त वेबसाइटमा दिएको जानकारी अनुसार, श्रेष्ठ सहभागी हुने भनिएको म्याराथन पेरिसको समय अनुसार २०२४ को ११ अगस्त आइतबारको दिन बिहान ८ बजे परेको छ ।
यो विषयमा थप बुझ्न हामीले धाविका श्रेष्ठसँग फोन सम्पर्क गर्यौँ । उनले सोमबार बिहानसम्म काठमाडौंस्थित दशरथ रंगशालामा अभ्यास गरिरहेको बताइन्। ‘आफ्नै कीर्तिमान भंग गरेको भन्ने समाचार मैले पनि पढेँ। तर मेरो खेल ओलम्पिकको अन्तिम दिन ११ अगस्तमा रहेको छ, त्यसमा सहभागी हुन भोलिको फ्लाइटमा जाँदैछु” उनले भनिन्।
कसरी फैलियो मिथ्या समाचार ?
जुलाई २७ को दिन एथलेटिक्स परिवार, नेपाल नामक फेसबुक पेजले ‘पेरिस ओलम्पिकमा नेपालबाट म्याराथन दौडमा सहभागी धाविका सन्तोषी श्रेष्ठले २ घण्टा ४० मिनेट भित्र दौड पूरा गर्नुभएमा हौसलाको लागि नगद पुरस्कार घोषणा गरिएको छ ‘ भनेर पुरस्कार घोषणा गर्नेको नाम र राशी राखिएको छ।
हेर्नुस्, स्क्रिनसट
हेर्नुस्, अर्काइभ लिंक
थाहा खबरको समाचार सोही फेसबुक पेजको स्टाटसका कारण फैलिएको हुनसक्ने खेल पत्रकारहरुले बताएका छन्।
धाविका श्रेष्ठका अनुसार, २ घण्टा ४० मिनेटमा दौड पूरा गरेमा नेपालको लागि नै ठूलो उपलब्धि हुन जानेछ। किनकि, आजसम्म २ घण्टा ४० मिनेटमा कोही पनि नेपाली महिलाले सो म्याराथन पूरा गरेका छैनन्। सोही कारण २ घण्टा ४६ मिनेटको आफ्नै कीर्तिमान तोड्नका लागि हौसला दिन विभिन्न संघसंस्था र गुरुहरुले एक कार्यक्रम गरेर पुरस्कार घोषणा गरेको श्रेष्ठको भनाइ छ। ‘त्यो पुरस्कार घोषणा कार्यक्रम राम्रोसँग नसुन्दा रिपोर्टरहरुले गलत समाचार लेखे कि भन्ने लाग्छ’. श्रेष्ठ भन्छिन्।
तथ्यजाँच
दावी : धाविका सन्तोषी श्रेष्ठले २ घण्टा ४० मिनेटमै दौड पूरा गरेर यसअघिको (२ घण्टा ४६ मिनेट) आफ्नै कीर्तिमानमा सुधार गरेकी छन्।
दावीकर्ता : थाहा खबर डटकम अनलाइन।
तथ्यजाँच : मिथ्या सूचना । धाविका सन्तोषी श्रेष्ठ सहभागी हुने भनिएको म्याराथन खेल भएकै छैन। पेरिस ओलम्पिक २०२४ को वेबसाइटमा उल्लेख गरेको तालिका अनुसार, श्रेष्ठ सहभागी हुने भनिएको म्याराथन पेरिसको समय अनुसार २०२४ अगस्त ११ तारिक आइतबारको दिन बिहान ८ बजे परेको छ। त्यसैले म्याराथन खेल सुरु हुन भन्दा दुई साताअघि ‘आफ्नै कीर्तिमान भंग गरेको’ समाचार मिथ्या छ।