- सागर बुढाथोकी
- साउन २१, २०८१
के नेपालमा ट्याटु बनाउँदा ४० जनालाई एचआइभी सरेको हो ?
नेपालमा ट्याटु बनाउँदा ४० जनालाई एचआइभी सरेको दाबी गरिएको पोस्ट सामाजिक सञ्जालमा भाइरल भएको छ।
तर, कुनै पनि विश्वसनीय मिडिया र आधिकारिक निकायले यो दाबी पुष्टि नगरेकोले हाम्रो तथ्य जाँचमा यो मिथ्या सूचना भएको पाइएको छ।
के छ दावी ?
२४ हजार फलोअर रहेको ‘भाइरल पोस्ट’ नामक फेसबुक पेजमा २०२४ जुलाई २४ मा ‘नेपालमा ट्याटु बनाउँदा ४० जनालाई सर्यो एचआइभी’ लेख्दै भाइरल२४पोस्ट डटकममा प्रकाशित समाचारको लिङ्क सेयर गरिएको छ।
उक्त लिंक क्लिक गर्दा खुल्ने पेजमा समेत शीर्षक ‘नेपालमा ट्याटु बनाउँदा ४० जनालाई सर्यो एचआइभी’ नै राखिएको छ। तर, सामग्रीमा भने नेपालको कुन ठाउँमा ट्याटु बनाउँदा, कहिले र कसरी एचआइभी सरेको भन्ने उल्लेख छैन। त्यतिमात्र होइन, शीर्षक बाहेक पूरा कन्टेन्टमा नेपालमा ट्याटु बनाएको प्रसंग कतै उल्लेख गरिएको छैन।
बरु भारतको समाचार संस्था अमर उजालालाई उदृत गर्दै भारतको पूर्वाञ्चलका ४० जनामा ट्याटु बनाउँदा एचआइएभी सरेको पाइएको उल्लेख छ।
यो तथ्यजाँच गर्दासम्म भाइरल पोस्ट नामक फेसबुक पेजको उक्त पोस्टमा झण्डै ८ हजार वटा रियाक्शन, ६ सयवटा भन्दा बढी कमेन्ट र एक हजार भन्दा बढी पटक सेयर भएको छ।
हेर्नुस्, अर्काइभ लिंक
हेर्नुस्, स्क्रिन सट
यस्तै शीर्षकका पोस्ट अरु फेसबुक पेज र ग्रुपहरुमा पनि देखिएको छ।
३ लाख ११ हजार भन्दा बढी फलोअर रहेको कुलमान घिसिङ समर्थक नामक फेसबुक ग्रुपमा पनि ‘नेपालमा ट्याटु बनाउँदा ४० जनालाई सर्यो एचआइभी’ शीर्षक राखेर अनुपम न्यूज डटकम नामक वेबसाइटको लिंक पोस्ट गरिएको छ। तर, यो समाचारमा पनि नेपालको प्रसङ्ग कतै उल्लेख छैन।
यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा एक सयभन्दा बढी रियाक्शन, १६ वटा कमेन्ट र २६ पटक सेयर देखिन्छ। हेर्नुस् अर्काइभ लिङ्क
त्यस्तै, तीन लाख ७४ हजार भन्दा बढी सदस्य रहेको कुलमान घिसिङ फ्यान क्लबमा पनि सोही आशयको समाचारको लिंक पोस्ट गरिएको छ। उक्त समाचारमा पनि अनुपमन्यूज डटकमको लिंक सेयर गरिएको छ। तर, समाचार भित्र कतै नेपालको प्रसङ्ग उल्लेख गरिएको छैन।
यो तथ्य जाँच गर्दासम्म उक्त पोस्टमा एक सय वटा रियाक्सन, ११ वटा कमेन्ट र २८ जनाले सेयर गरेका छन्। हेर्नुस, अर्काइभ लिंक
तथ्य के हो ?
यो विषयको तथ्य जाँच गर्नका लागि हामीले ‘ट्याटु बनाउदाँ एचआइभी’, ‘नेपालमा ट्याटु बनाउँदा भारतमा एचआइभी’ लगायतका की वर्डहरु राखेर गुगलमा डिप सर्च गर्यौँ।
सोही क्रममा हामीले अमर उजालाले ‘Exclusive: पूर्वांचल के दस जिले में 26 हजार एचआईवी संक्रमित, 40 में टैटू बनवाना वजह; एक सुई का कई बार इस्तेमाल’ शीर्षकमा प्रकाशित एक समाचार फैला पार्यौँ।
हेर्नुस्, स्क्रिनसट
उक्त समाचारको सारमा ‘पूर्वाञ्चलको १० जिल्लामा २६ हजार भन्दा बढी एचआइभी संक्रमित रहेको, जसमध्ये ४० जनामा ट्याटु बनाउदाँ एचआइभी सरेको र बनारसमा २६, आजगमगढमा १२ सोनभद्र र मउमा एक-एक जनामा ट्याटु बनाउदाँ संक्रमण सरेको उल्लेख छ।
समाचारमा आजमगढ जिल्लाको एआरटी सेन्टरको सिनियर मेडिकल अफिसर डा. प्रिति अग्रवाललाई उदृत गर्दै ‘एउटै सुई धेरै व्यक्तिमा प्रयोग गरेर ट्याटु बनाउँदा एचआइभी सरेको हुनसक्ने’ उल्लेख छ। समाचारमा ‘एउटा सुई कै १२ सय भारतीय रुपैयाँ पर्ने भएपनि चौक-चौराहमा जम्मा २०० रुपैयाँमा ट्याटू बनाइने गरेको’ उल्लेख गरेको छ।
तर, पूरा समाचारमा कतै पनि नेपालमा ट्याटु बनाएको प्रसङ्ग उल्लेख गरेको छैन्।
हामीले सो विषयमा थप सर्च गर्दा जी न्यूज इण्डिया, न्यूज एटिन हिन्दी, दैनिक भास्कर डटकम लगायत भारतीय सञ्चार माध्ययमले समाचार लेखेको भेट्यौँ । ती समाचारमा पनि ट्याटु बनाउँदा ४० जनामा एचआइभी सरेको उल्लेख छ । तर, कतैपनि नेपालमा ट्याटु बनाएको कारण एचआइभी भएको भन्ने प्रसङ्ग उल्लेख छैन्।
यो विषयमा थप सर्च गर्दा नेपाल लाइभ, स्वास्थ्यखबर लगायत सञ्चार माध्यमले ‘भारतमा ट्याटु बनाउँदा ४० जनालाई सर्यो एचआइभी’ शीर्षकमा अमर उजालालाई उदृत गर्दै समाचार लेखेको भेट्यौँ । यी समाचारमा ट्याटु बनाउदाँ ४० जनामा एचआइभी सरेको उल्लेख छ।
तर,नेपालमा ट्याटु बनाउँदा ४० जनालाई एचआइभी सरेको भन्ने प्रसङ्ग कतै उल्लेख छैन्।
यो विषयमा थप बुझ्नका लागि हामीले राष्ट्रिय एड्स तथा यौन रोग नियण्त्रण केन्द्रका प्रवक्ता लोकराज पाण्डेलाई सम्पर्क गर्यौ।
आफूले पनि सामाजिक सञ्जालमा त्यस्ता किसिमको खबरहरु देखेको सुनाउँदै एड्सजस्तो सरुवा रोग नेपालको ट्याटु बनाउने ठाउँबाट सरेको भए भारतको आधिकारिक निकायले नेपाललाई जानकारी गराउने बताए ।
त्यही जानकारीका आधारमा केन्द्रले एड्स निवारणको लागि चाल्नुपर्ने कदम चाल्ने उनको भनाइ थियो । “ट्याटु बनाउने ठाउँमा सुरक्षाको मापदण्ड अपनाएन भने एड्सजस्ता सरुवा रोग सर्न सक्छ, तर त्यस्तो भएको हालसम्म जानकारी आएको छैन” प्रवक्ता पाण्डेले थपे, ” एड्स निवारणको लागि काम गर्ने देशभरमा रहका हाम्रो स्थानीय निकायले यस्तो भएको रिपोर्ट दिएका छैनन्, र भारतबाट पनि यस्तो सूचना आएको छैन।”
त्यसैले, भाइरल पोस्ट लगायत अन्य सामाजिक सञ्जालले नेपालमा ट्याटु बनाउदाँ भारतमा ४० जनामा एचआइभी सरेको भन्ने प्रसङ्ग गलत छ।
तथ्यजाँच
दावी : नेपालमा ट्याटु बनाउँदा ४० जनालाई सर्यो एचआइभी।
दावीकर्ता : भाइरल पोस्ट नामक फेसबुक पेज।
तथ्यजाँच : मिथ्या सूचना । भाइरल पोस्टले नेपालमा ट्याटु बनाउँदा ४० जना भारतीयलाई एचआइभी सरेको दावी गरे पनि त्यसको विस्तृत प्रसङ्ग समाचारमा उल्लेख गरेको छैन् । भाइरल पोस्टले समाचारमा अमर उजालालाई उदृत गरेपनि अमर उजालाको समाचारमा नेपालमा ट्याटु बनाउँदा एचआइभी सरेको भन्ने उल्लेख छैन्। त्यसैगरी कुनैपनि विश्वसनीय सञ्चार माध्यम र आधिकारिक निकायले नेपालमा ट्याटु बनाउँदा एचआइभी सरेको भन्ने विषय उल्लेख गरेका छैनन्। त्यसैले, भाइरल पोस्टले गरेको दावी मिथ्या छ।