- सागर बुढाथोकी
- भदौ ३, २०८१
मेयर बालेनको ‘डिपफेक’ भिडियो भाइरल
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोल देखिने एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, हाम्रो तथ्य जाँचले उक्त भिडियो ‘डिपफेक’ प्रविधि उपयोग गरी जोसुकैले बनाउन सक्ने गरी सार्वजनिक रुपमा उपलब्ध वेबसाइटबाट तयार पारेको प्रष्ट भएको छ।
के छ भिडियोमा ?
२६ सय फलोअर रहेको Eklai Pani Ma (एक्लै पनि म) नामक फेसबुक पेजमा ‘के हो यो को हो यो भनम त साथीहरु !!’ शीर्षक राखेर एउटा रिल अपलोड गरिएको छ।
भिडियोमा कालो कोटमा सजिएका शाहले नीलो फुलबुट्टे सारी र कालो कोट लगाएकी एक महिलालाई चुम्बन गरिरहेको देख्न सकिन्छ। उनले चुम्बन गरिरहँदा पृष्ठभूमिमा एउटा अंग्रेजी गीत बजिरहेको छ। उनीहरुका पछाडि अन्य मानिसहरु रहेको बुझिएपनि अनुहार भने देखिँदैन।
हामीले तथ्यजाँच गर्दासम्म १८ लाख पटक हेरिएको यो भिडियोमा १७ हजार रियाक्सन र ९७४ कमेन्ट छ । त्यस्तै, ९९ सय पटक सेयर गरिएको छ।
हेर्नुस्, स्क्रिनसट-
(सार्वजनिक शिष्टाचार विपरीत तयार पारिएको कारण हामीले तथ्य जाँचका लागि पनि यो भिडियो यहाँ राखेका छैनौँ)
तथ्य के हो ?
भिडियो डिपफेक प्रविधिबाट तयार पारिएको बुझ्नलाई हामीले भिडियोमा देखिएका केही विषयलाई आधार मानेका छौँ। उदाहरणका लागि भिडियोमा देखिने बालेन शाहको हात स्वभाविक छैन।
अधिकांश एआई टुलहरुले मानव हत्केलालाई जस्तो हो त्यस्तो बनाउन सक्दैनन्। थप जानकारीका लागि हेर्नुस्- Why Can’t AI Draw Hands? The Complex Challenge of Depicting Human Anatomy
डिपफेक भनेको कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिको प्रयोग गरेर वास्तविक जस्तो देखिने नक्कली भिडियो वा अडियो सामग्री बनाउने प्रविधि हो। यो प्रविधिले कुनै पनि व्यक्तिको अनुहार वा स्वरलाई अरूको अनुहार वा स्वरसँग प्रतिस्थापित गर्न सक्छ, जसले गर्दा भिडियो वा अडियो सामग्रीलाई वास्तविकभन्दा फरक ढंगले प्रस्तुत गर्न सकिन्छ।
त्यसैगरी भाइरल भिडियोमा हामीले ‘LUMA’ लेखेको पनि देख्यौँ-
लुमाल्याब्सले गएको जुन १२ तारिखदेखि सार्वजनिक गरेको ड्रिम मेसिन एआई मोडलले फोटोलाई दिइएको अक्षर निर्देशनका आधारमा चल्ने भिडियो बनाउने क्षमता राख्छ। लुमाले यो सेवा निःशुल्क राखेको छ।
हाल सामाजिक सञ्जालमा पुराना फोटोहरु राखेर ती फोटोहरु चल्ने भिडियो बनाएको देखिन्छ। यस्ता भिडियो पनि यही वेबसाइटबाट तयार पारिएको हो।
बालेन शाह र उपमेयर सुनीता डंगोल उपस्थित फोटो वा भिडियो राखी यही वेबसाइटबाट हुँदै नभएको दृश्य तयार पारिएको यसैबाट प्रष्ट हुन्छ।
उदाहरणका लागि हामीले कोपाइलट एआईबाट एक जोडी नेपालीको स्केच तयार पार्यौँ-
अब यही स्केचलाई हामीले लुमा वेबसाइटमा गई ‘Kissing’ प्रम्प्ट दिएपछि तयार भएको भिडियो यस्तो छ-
त्यसैले, यो भाइरल भिडियो पनि यही प्रविधिबाट यही वेबसाइटमा तयार पारिएको हाम्रो निश्कर्ष रह्यो।
हामीले सोही स्थानमा बालेन शाह उपस्थित भएको ओर्जिनल भिडियो पनि खोज्यौं। भिडियो खोज्ने क्रममा हाम्रो खेलकुद नामक अनलाइनले अगस्ट ७ मा युट्युबमा लाइभ गरेको एउटा भिडियोमा पुग्यौँ।
त्यो दिन काठमाडौँको त्रिपुरेश्वरस्थित कभर्ड हलमा काभा महिला भलिबल नेसन्स लिगको फाइनल खेल भएको थियो। उक्त फाइनल खेलमा नेपाल र भारत भिडिरहेका थिए। उक्त खेल हेर्न काठमाडौँ महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल पनि पुगेका थिए। खेल हेर्न पुगेका शाहले कालो टिसर्टमा कालो कोट र उपमेयर शाहले निलो फुलबुट्टे सारीमा कालो कोट लगाएकी थिइन्।
उक्त खेलमा नेपालले पहिलो सेट २५-२३ ले जितेको थियो। त्यही क्रममा खुशीयाली मनाएर ताली बजाउदै मेयर शाह र उपमेयर डंगोलले कानेखुशी गरेका थिए ।
यो दृश्य हाम्रो खेलकुदले लाइभ गरेको भिडियोको १ घण्टा ४२ मिनेट ५० सेकेण्डमा देख्न सकिन्छ।
तथ्यजाँच
दावी : काठमाडौँका मेयर बालेन शाहले सार्वजानिक स्थानमा एक महिलालाई चुम्बन गरेको भिडियो।
दावीकर्ता : एक्लै पनि म नामक फेसबुक पेज।
तथ्यजाँच : मिथ्या सूचना – डिपफेक भिडियो । एक्लै पनि म नामक फेसबुक पेजले लुमाल्याब्स नामको वेबसाइटबाट नक्कली दृश्य तयार पारेको हाम्रो निश्कर्ष रह्यो।