- सागर बुढाथोकी
- भदौ ६, २०८१
बिरामीले खाने क्याप्सुलभित्र फलामको काँटी ? के हो भाइरल भिडियोको तथ्य ?
बिरामीले खाने क्याप्सुल औषधिभित्र फलामको काँटी फेला परेको दावीसहितको भिडियो फेसबुक रिल्समा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचमा यो भिडियो नेपालसँग सम्बन्धित नभएको, भिडियो पुरानो भएको र विभिन्न देशका तथ्य जाँचकीले भिडियोमा गरिएको दावी मिथ्या भएको प्रमाणित गरिसकेको भेटियो।
के छ दावी ?
१२ सय फलोअर्स रहेको राजेश सुनार नामको फेसबुक पेजको रिल्समा २०२४ अगस्त २१ मा अपलोड गरिएको भिडियोमा अशुद्ध नेपाली भाषामा ‘दबाइ खादा एकचोटि हेरेर खानुहोला, यो कलियुगको घडीमा कसैको विस्वास छैन’ भन्ने क्याप्सन राखिएको छ।
२१ सेकेण्ड लामो भिडियोमा हरियो कलरको Esoral 20 mg लेबल लगाइएको क्याप्सुललाई खोल्दा भित्रपट्टी फलामका साना-साना काँटी भएको देखाइएको छ।
हामीले तथ्यजाँच गर्दा मंगलबार दिउँसोसम्म यो भिडियो ५६ हजार पटक हेरिएको छ भने १ सय जनाले सेयर, ११ जनाले कमेन्ट र ४८४ जनाले रियाक्सन दिएका छन्।
हेर्नुस्, स्क्रिनसट
तथ्य के हो ?
एक वर्षअघि पनि यस्तै किसिमको भिडियो टिकटकमा भाइरल भएको थियो । त्यसबेला नेपाल तथ्यजाँचले यो भिडियो मिथ्या भएको तथ्यजाँच गरेको थियो।
तथ्य जाँच गर्ने क्रममा उक्त औषधी व्यवस्था विभागमा (डिडिए) दर्ता नभएको भेटिएको थियो। विभागका सूचना अधिकारी प्रमोद केसीले उक्त औषधी नेपालमा दर्ता नभएकाले नेपालमा बिक्री वितरण पनि गर्न नमिल्ने जानकारी दिएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको डिडिएले स्वदेश तथा विदेशमा उत्पादन हुने मानव तथा पशुपंक्षीका औषधीको मूल्याङ्कन र दर्ता सम्बन्धी कार्य गर्छ। विभागको अनुमति बिना कुनै पनि औषधी नेपालमा आयात गर्न र बिक्री गर्न पाइँदैन।
तथ्यजाँच गर्ने क्रममा यो भिडियो छिमेकी देश भारतमा सन् २०२१ मै भाइरल भएको र विभिन्न संस्थाले फ्याक्ट चेक गरेको थाहा पायौँ।
भारतमा ‘औषधी जिहाद’ दावी गर्दै भिडियो भाइरल भएको रहेछ। तथ्य जाँच गर्ने भारतीय वेबसाइट बुमलाइभले Esoral 20 mg औषधी पाकिस्तान र बंगलादेशमा उत्पादन हुने भए पनि भारतमा उत्पादन र बिक्री नहुने र भाइरल भिडियो भारतको नभएको लेखेको छ।
भाइरल भएको भिडियोमा दुई वटा क्लिप जोडिएको र अर्को भिडियोमा रुसी भाषामा लेखिएको अक्षरलाई गुगल ट्रान्सलेट गरेर गर्दा ENTEROFURIL 200 mg लेखेको देखिने र त्यो औषधी बोस्निया हर्जगोभिनामा उत्पादन हुने गरेको बुम लाइभले उल्लेख गरेको छ।
पढ्नुस् बुमलाइभको तथ्य जाँच।
यो भिडियो बारे भारतकै क्विन्ट, न्यूज चेकरले पनि तथ्य जाँच गरिसकेका छन्।
अमेरिकाको फ्याक्ट चेक सम्बन्धी संस्था लिड्स स्टोरीजले २०२२ अप्रिल १८ मा यही विषयमा तथ्य जाँच गरेको थियो । लिड्स स्टोरिजले क्याप्सुलमा फलामको काँटी फेला परेको दावीसहितको भिडियो भारतमा मात्र हैन, किर्गिजस्तान, कजाखस्तान, युक्रेन, जर्जिया, वेस्ट अफ्रिका र ब्राजिलमा पनि फैलिएको र त्यहाँका तथ्यजाँचकीहरुले यसलाई मिथ्या ठहर गरेको उल्लेख छ।
पढ्नुस् विभिन्न देशका तथ्य जाँच
किर्गिजस्तानको फ्याक्टचेक डट केजी
युक्रेनको भक्सयुक्रेन डट ओआरजी
जर्जियाको फ्याक्टचेक डट जीई, मिथडिटेक्टर डट जीई
लाइबेरियाको द स्टेज मिडिया
ब्राजिलको बोआटोस डट ओआरजी
यी सबै देशका तथ्य जाँचको निश्कर्ष तीन वटा फरक फरक भिडियो विभिन्न देशमा भाइरल भएका छन्। यसै मध्येको एउटा भिडियो अहिले फेरि नेपालमा भाइरल भएको हो। नेपालमा भाइरल भएको भिडियोमा Esoral को नाम प्रष्ट देखिन्छ भने ENTEROFURIL नामको क्याप्सुलको भिडियोमा नाम लुकाइएको छ। तर भाइरल भिडियोहरु हेर्दा यो अरु देशमा भाइरल भएको त्यही क्याप्सुलको भिडियो भन्ने प्रष्ट हुन्छ। यी दुवै नामका क्याप्सुल नेपालमा ल्याउने र बेच्ने अनुमति विभागले दिएको छैन।
तथ्य जाँचहरुले यी नामको क्याप्सुलमा यस्तो काँटी भेटिएको वा खाएर बिरामी परेको बारे कुनै गुनासो नभेटिएको उल्लेख गरेका छन्। उनीहरुले भिडियोमा क्याप्सुलको एकापट्टीको भाग मात्रै देखाएको उल्लेख गर्दै अर्को पट्टीको भाग च्यातेर त्यसमा पहिल्यै आफैले काँटीभित्र राखेर क्याप्सुल बन्द गरी भित्र राखेको हुनुपर्ने निश्कर्ष निकालेका छन्।
तथ्य जाँच
दावी : क्याप्सुल (औषधी) भित्र फलामका काँटी फेला परे।
दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य : मिथ्या सूचना । भिडियोमा देखाइएको औषधी नेपालमा दर्ता नभएको र बिक्री वितरण गर्न नमिल्ने औषधी व्यवस्था विभागका सूचना अधिकारी प्रमोद केसीले जानकारी दिए। भारत लगायतका विभिन्न देशमा सन् २०२१ मै भाइरल भएको यो भिडियोका बारेमा धेरै वटा संस्थाले तथ्य जाँच गरी भिडियोमा गरिएको दाबी मिथ्या भएको बताइसकेका छन्।