तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

नेपालको कार्यक्रममा पाकिस्तानको झण्डा प्रयोग गरिएको दावी मिथ्या


नेपालको कार्यक्रममा पाकिस्तानको झण्डा प्रयोग गरिएको दावी मिथ्या

नेपालमा मदरसा शिक्षा ऐन बोर्ड गठन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा पाकिस्तानको झण्डा प्रयोग भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा एक फोटो सहितको सूचना भाइरल भएको छ। विभिन्न फेसबुक पेज तथा ग्रुपहरुमा नेपालमा गरिएको कार्यक्रममा पाकिस्तानी झण्डा राखिएको र सो कुरा कानून विपरीतसमेत रहेको भन्दै पोस्ट गरिएको हो। फेसबुक पोस्टमा आम जनता पार्टीको भ्रातृ संगठन आम मुस्लिम मोर्चाले नेपालमा गरेको कार्यक्रममा पाकिस्तानको झण्डा प्रयोग भएको दावी गरिएको छ।

तर हाम्रो तथ्यजाँचमा उक्त दावी मिथ्या सूचना भएको पाइएको छ।

के हो दावी?

३१ हजार फलोअर रहेको हिन्दु सम्राट नेपाल नामको फेसबुक प्रयोगकर्ताले गत जुलाई २४ (साउन ९ गते) “पाकिस्तानी झण्डा लगाएर नेपालमा आम मुस्लिम मोर्चाद्वारा मदर्शा शिक्षा ऐन गठन समबन्धी अन्तरक्रिया कार्यक्रमहरू गरिँदैछ…..” भन्ने दावी सहित एक फोटो पोस्ट गरेको छ।  

फोटोमा आम मुस्लिम मोर्चा मदरसा शिक्षा ऐन बोर्ड गठन सम्बन्धी अन्तरक्रिया कार्यक्रम लेखिएको एक ब्यानर र मुस्लिम मानिसले लगाउने टोपी लगाएका मान्छेहरु स्टेजमा र दर्शकदीर्घामा देख्न सकिन्छ। ब्यानरमा एकापट्टी नेपालको झण्डा देख्न सकिन्छ भने अर्को पट्टी अर्धचन्द्रमा र तारा भएको एक हरियो झण्डा देखिन्छ। यसैगरी कार्यक्रमको स्टेजमा रहेको रोष्ट्रममा पनि अर्धचन्द्रमा र तारा भएको एक हरियो झण्डा लगाएको देखिन्छ।

उक्त पोस्टमा यो तथ्यजाँच तयार पार्दासम्म १८५ वटा लाइक छन्  भने ३८ पटक उक्त सेयर भएको छ। 

हेर्नुहोस स्क्रिनसट

हिन्दु सम्राट नेपाल नामक फेसबुक प्रयोगकर्तालेले पनि सोही व्यहोराको फोटो सहित विभिन्न फेसबुक ग्रुपमा समेत पोष्ट गरेको छ। हिन्दु सम्राट सेना/supporter नामक ग्रुपमा राखिएको पोस्टमा यो तथ्यजाँच तयार गर्दासम्म ५६ वटा लाइक र  १६ पटक सेयर देखिन्छ। 

हेर्नुहोस स्क्रिनसट

७ हजार ८ सय फलोअर रहेको  हिन्दु युथ्स अफ नेपाल नामक फेसबुक प्रयोगकर्ताले “नेपाल देशभन्दा पाकिस्तानी झन्डा ठूलो” लेख्दै सोही फोटो गत जुलाई २४ (साउन ९ गते) काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई समेत मेन्सन गर्दै फेसबुक पोस्ट गरेको छ। यो तथ्यजाँच तयार गर्दासम्म ११४ वटा लाइक छन् जसमध्ये ५० जनाले रिसाएको रियाक्ट गरेको देखिन्छ। साथै  ८ पटक सेयर गरेको देखिन्छ।

हेर्नुहोस स्क्रिनसट

यसैगरी ७ हजार ४ सय फलोअर रहेको हिन्दु सम्राट सेना नामक फेसबुक प्रयोगकर्ताले “नेपाल देश भन्दा पाकिस्तानी झन्डा ठूलो” लेख्दै सोही फोटो गत जुलाई २४ (साउन ९ गते) पोष्ट गरेको हो। उक्क फेसबुक पोस्ट १२ पटक सेयर देखिन्छ भने, ५६ जनाले लाइक गरेका छन्।

हेर्नुहोस स्क्रिनसट

के हो तथ्य?

आम जनता पार्टीको भ्रातृ संगठन आम मुस्लिम मोर्चाले गरेको कार्यक्रममा पाकिस्तानको झण्डा प्रयोग भएको दावी सही हो कि हैन यकिन गर्न हामीले ह्युमन इन्टेलिजेन्स प्रयोग गर्दै  डिप सर्च गर्ने निर्णय गर्‍यौँ। 

इन्टरनेटमा आम जनता पार्टी, मदरसा शिक्षा ऐन जस्ता कि-वर्ड सर्च गरेर हेर्दा एक फेसबुक पोस्ट हामीले फेला पार्‍यौँ। आम नेपाली एकता समाज नामक फेसबुक पेजले अगस्त १४, २०२३ (साउन २९, २०८०) मा उपस्थितिको लागी अनुरोध गरेको एक पोष्ट गरेको थियो। उक्त पोस्टमा राखिएको व्यानर र पाकिस्तानको झण्डा राखेर गरेको कार्यक्रम भन्ने दावी गरिएको फोटोमा भएको व्यानर एउटै भएको पनि हामीले थाहा पायौं।

हेर्नुहोस सकृनसट

आम नेपाली एकता समाज नामक फेसबुक पेजले पोष्ट गरेको व्यानर अनुसार “मदरसा शिक्षा ऐन वोर्ड गठन सम्बन्धी अन्तरक्रिया कार्यक्रम” ललितपुरको जावलाखेलमा रहेको नेपाल मुस्लिम आयोगको सभाहलमा २०८०, भदौ २ मा भएको रहेछ।

थप खोज्ने क्रममा आम जनता पार्टीको केन्द्रीय प्रवक्ता चन्द्रभूषण साहले उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको फोटोहरु राखेको फेसबुक पोस्ट भेट्यौँ। यो पोस्ट अगस्त १९, २०२३ (भदौ २, २०८०) मा फेसबुकमा राखिएको रहेछ।  चन्द्रभूषण साहको फेसबुक पोस्टमा भएको एक फोटो र  पाकिस्तानको झण्डा राखेर गरेको कार्यक्रम भन्ने दावी गरिएको फोटो एकै भएको समेत हामीले पायौं।

हेर्नुहोस स्क्रिनसट

अर्थात् जुन कार्यक्रमको विरोधमा पोस्टहरु गरिएका छन्, त्यो अहिलेको नभएर एक वर्ष पुरानो हो। 

अनि झण्डा?

भाइरल पोस्टहरुमा अन्तरक्रिया कार्यक्रममा पाकिस्तानको झण्डा प्रयोग गरेको दावी गरिएको थियो। उक्त कार्यक्रमको फोटोमा देखिने अर्धचन्द्रमा र तारा अंकित झण्डा पाकिस्तानकै हो कि हैन यकिन गर्न हामीले पकिस्तानको परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको पाकिस्तानको झण्डा र सो कार्यक्रममा प्रयोग भएको झण्डा एकै ठाउँमा राखेर हेर्‍यौँ।

हेर्नुहोस तुलनात्मक फोटोः

पाकिस्तानको झण्डामा बायाँपट्टी सेतो रङ्ग र त्यसपछि मात्र हरियो रङ्गमा अर्ध चन्द्रमा र तारा रहेको देखिन्छ तर आम मुस्लिम मोर्चाले गरेको अन्तरक्रिया कार्यक्रममा प्रयोग भएको झण्डामा केवल हरियो रङ्गमा अर्ध चन्द्रमा र तारा रहेको देखिन्छ। 

यसर्थ उक्त कार्यक्रममा प्रयोग भएको झण्डा पाकिस्तानको होइन।

पाकिस्तानको नभए कहाँको झण्डा हो?

हामीले उक्त झण्डा बारे खोज्ने क्रममा भारतीय समाचार संस्था दी क्विन्ट ले गरेको तथ्यजाँच फेला पार्‍यौँ। उक्त तथ्यजाँचमा निर्वाचनको नतिजा पश्चात् पाकिस्तानको झण्डा फहराइएको दावीको तथ्यजाँच गर्दै सो झण्डा इस्लामिक झण्डा भएको उल्लेख छ।

हेर्नुहोस दी क्विन्ट ले गरेको तथ्यजाँचको स्क्रिनसट

हामीले उक्त झण्डाबारे थप बुझ्न इस्लामी संघ नेपालका केन्द्रीय सदस्य अरमान हाश्मीलाई सोध्यौं। हाश्मीका अनुसार “कार्यक्रममा प्रयोग भएका झण्डाहरु मुस्लिम/इस्लामिक एकताको प्रतिनिधित्वका लागि हुन् र ती पाकिस्तानको राष्ट्रिय झण्डा होइनन्।”

तथ्यजाँच

दावीः आम मुस्लिम मोर्चाले गरेको अन्तरक्रिया कार्यक्रममा पाकिस्तानको झण्डा प्रयोग गरिएको।

दावीकर्ताः सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता।

तथ्यजाँचः मिथ्या सूचना। आम मुस्लिम मोर्चाले गरेको मदरसा शिक्षा ऐन बोर्ड गठन सम्बन्धी अन्तरक्रिया कार्यक्रम १ वर्ष पहिलेको हो। सो कार्यक्रममा पाकिस्तानको झण्डा प्रयोग भएको होइन। यो झण्डा इस्लामिक एकताका लागि प्रयोग हुने झण्डासँग मिल्दो देखिन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add