- सागर बुढाथोकी
- भदौ १९, २०८१
सरकारले भदौ १९ गते सार्वजनिक विदा दिएको होइन, सम्पादित पुरानो विज्ञप्ति भाइरल
कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले नेपाल भ्रमण गर्ने भएकाले भदौ १९ गते देशभर सार्वजनिक बिदा दिएको दावीसहितको सूचना सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, हाम्रो तथ्य जाँचले यो दावी मिथ्या भएको पुष्टि भएको छ। न कतारका अमिर नेपाल भ्रमणमा आउन लागेका हुन्, न सरकारले सार्वजनिक विदा नै घोषणा गरेको छ।
के छ दावी ?
एक लाख २६ हजार फलोअर रहेको शिक्षा नामको फेसबुक ग्रुपमा ललित पौडेल नामक फेसबुक प्रयोगकर्ताले ‘के यो साँचो हो’ भन्ने क्याप्सन राखेर एउटा गृह मन्त्रालयको लेटरहेड प्रयोग भएको एउटा विज्ञप्ति पोस्ट गरेका छन्।
उक्त विज्ञप्तिको विषय सार्वजनिक बिदा सम्बन्धि सूचना भन्ने छ। र, विज्ञप्तिमा ‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०५/१८ को बैठकबाट ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूको मैत्रिपूर्ण निमन्त्रणामा मित्रराष्ट्र कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीज्यूले गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा संवत् २०८१ साल भाद्र १९ गते बुधबार का दिन नेपालभर सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ’ लेखिएको छ।
हेर्नुस्, स्क्रिनसट
यो तथ्यजाँच गर्दासम्म उक्त विज्ञप्तिमा ८० वटा प्रतिक्रिया, ६८ वटा सेयर र ३२३ भन्दा बढी रियाक्सन रहेको छ।
तथ्य के हो ?
उक्त विज्ञप्तिको अन्य अक्षर स्वभाविक भएपनि बिदा दिने भनिएको मिति र बार भने अलिक अस्वभाविक देखिन्छ।
त्यसैले, हामीले तथ्यजाँच गर्नका लागि गृह मन्त्रालयले उक्त विज्ञप्ति जारी गरेको छ कि छैन भनेर आधिकारिक वेबसाइटमा खोज्यौँ। गृह मन्त्रालयले तत्कालै यस्तो विज्ञप्ति जारी गरेको भेटेनौँ।
त्यसपछि ‘कतारी राजाको नेपाल भ्रमण, कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणमा सार्वजानिक बिदा’ की वर्डहरु राखेर गुगलमा ‘डिप सर्च’ गर्यौँ।
त्यस क्रममा २०८१ बैशाख १० गते कतारी राजाले नेपाल भ्रमण गर्ने भन्ने समाचारहरु फेला पार्यौँ । कान्तिपुर, हिमालखबरलगायत सञ्चार माध्ययमले अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आएको अवसरमा बैशाख ११ गते सरकारले सार्वजनिक बिदा दिएको समाचार लेखेको भेट्यौँ।
हेर्नुस, स्क्रिनसट
सो क्रममा हामीले त्यतिबेला गृह मन्त्रालयले जारी गरेको विज्ञप्ति पनि फेला पार्यौँ।
हेर्नुस्, पुरानो विज्ञप्ति
अहिले सो विज्ञप्तिको पुरानो मितिको ठाउँमा कम्प्युटरबाट सम्पादन गरेर नयाँ मिति राखेको प्रष्ट देखिन्छ। किनकि, कतारी राजा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी गत वैशाखयता नेपाल आएका छैनन्।
सम्पादन गरेर अहिले भाइरल गरेको विज्ञप्ति
तथ्यजाँचको क्रममा हामीले गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईलाई पनि सम्पर्क गर्यौँ। उनले यो अफवाह भएको बताए।
“गृह मन्त्रालयको लेटरहेड प्रयोग गरेर कसैले अफवाह फैलाएको हो, कुनै बिदा दिएको छैन,” उनले भने।
तथ्यजाँच
दावी : कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणको क्रममा २०८१ भदौ १९ गते देशभर सार्वजानिक बिदा।
दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता
तथ्यजाँच : मिथ्या सूचना । अहिले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गरेका छैनन्। गृह मन्त्रालयले जारी गरेको पुरानो विज्ञप्तिलाई सम्पादन गरेर अहिले भाइरल गराइएको हो।