तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

के हो नेपालमा प्लास्टिकको चामल बिक्री भएको दावी गर्दै भाइरल भएको भिडियोको तथ्य?


के हो नेपालमा प्लास्टिकको चामल बिक्री भएको दावी गर्दै भाइरल भएको भिडियोको तथ्य?

नेपालको एउटा मार्टमा प्लास्टिकको चामल बिक्री गरिएको दावी गरिएको एउटा भिडियो युट्युबमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी मिथ्या रहेको पायो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकारीले प्लास्टिकको चामल हल्ला मात्रै रहेको बताए।

के छ दावी ?

२०२४ अगस्त ३१ मा दुई लाख ८६ हजार सस्क्राइबर रहेको आर सेभन भ्लग नामक युट्युब च्यानलमा ‘बिग मार्टले बेच्दै प्लास्टिकको चामल, सोझा जनताको स्वास्थ्यमाथि खेलवाड’ शीर्षक राखेर एउटा भिडियो अपलोड गरिएको छ।

१५ मिनेट ३६ सेकेण्ड लामो भिडियोमा प्लाष्टिकको चामल भन्दै भात पकाएर डल्लो पारेर भूईँमा फाल्दा उफ्रिएको, उक्त डल्लोलाई बलिरहेको ग्यासमा तताएको र चामल फिर्ता गर्न बिग मार्टसम्म पुगेको दृश्य राखिएको छ।

भिडियोमा असभ्य भाषाहरु प्रयोग गरिएकाले हामीले स्क्रिनरेकर्ड नगरी स्क्रिनसट मात्र राखेका छौँ।

तथ्य के हो ?

यो विषयमा तथ्य जाँच गर्न हामीले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य विज्ञ तथा प्रवक्ता मोहनकृष्ण महर्जनलाई सम्पर्क गर्‍यौँ। महर्जनले एमाइलोज तत्व धेरै भएको चामललाई प्लाष्टिकको भन्दै उजुरी परेको बताए।

कतिपय अवस्थामा पुरानो तथा कम मूल्य भएको चामलमा यस्तो गुनासो आएको उनको भनाई थियो।

उनका अनुसार, चामलको स्टार्चमा हुने एमाइलोज नामक तत्त्व बढी भएको चामललाई पकाएर तात्त्तात्तै डल्लो बनाउँदा दानाहरुको बीचमा हावा भरिएकाले यस्तो डल्लो भूँंईमा बजार्दा उफ्रिन्छ।

चामलमा जति बढी एमाइलोज भयो त्यति बढी उफ्रिने महर्जनको भनाइ छ।

‘प्लाष्टिक न पानीमा डुब्छ, न पानी सोस्छ, मानिसले प्लाष्टिक पचाउन पनि सक्दैन्, त्यस्तै प्लाष्टिकको चामल बनाएर बेच्दा व्यापारीलाई फाइदा पनि छैन,  त्यसलै प्लाष्टिकको चामल भन्नु भ्रम मात्रै हो’, महर्जनले भने।

यो विषयमा थप बुझ्न हामीले गुगलमा ‘प्लाष्टिकको चामल’ कीवर्ड राखेर खोज्यौँ।

सो क्रममा इकान्तिपुर डटकममा २०७४ असार ३१ गते प्लाष्टिकको चामल पुष्टि भएन’ भन्ने शीर्षकको समाचार भेट्यौँ।

समाचार अनुसार त्यतिबेला प्लाष्टिकको चामल बेचेको आरोपमा सीतापाइलास्थित शेरचन ब्रदर्स प्राइभेट लिमिटेडका टंकप्रसाद शेरचनलाई पक्राउ गरिएको थियो। र, उनको गोदाममा सिल गरेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चामलको नमूना परीक्षण गरेको थियो। उक्त नमूना परीक्षणपछि चामलमा प्लाष्टिक नमिसाइएको पुष्टि भएको थियो।

विभागका प्रवक्ता महर्जनका अनुसार २०७६ असोजमा प्लाष्टिकको चामल भन्दै विभागमा दुई दर्जनभन्दा बढी उजुरी परेको थियो। एउटै विषयमा धेरै उजुरी परेपछि विभागले प्लाष्टिकको चामल भन्दै फैलाइएको अफवाह चिर्न सार्वजानिक सूचना नै जारी गरेको उनले बताए।

हामीले उक्त सूचना गोरखापत्र राष्ट्रिय दैनिकमा २०७६ असोज ८ गते छापिएको भेट्यौँ। उक्त सूचनामा खाद्य विभागले गरेको परीक्षणमा त्यस्तो नपाइएको उल्लेख छ। हेर्नुस्, २०७६ असोज ८ को गोरखापत्रको पिडिएफ लिङ्क

तथ्यजाँचको क्रममा प्लाष्टिकको चामल भन्दै भारत तथा अफ्रिकामा समेत भ्रम फैलाएको भेट्यौँ।

२०१७ मा घाना सेनेगमल र गामिबियामा प्लाष्टिकको चामल भन्दै भिडियो भाइरल भएको  थियो। उक्त भिडियोमा  अफवाह फैलाइएको बीबीसीले लेखेको छ।

त्यस्तै, भारतमा पनि प्लाष्टिकको चामल भन्दै भ्रम फैलाइएपछि सन् २०२३ नोभेम्बर १९ मा टाइम्स अफ इण्डियाले Don’t fall prey to rumours’: Ravi says it’s not plastic rice, it’s fortified rice  शीर्षकमा समाचार लेखेको छ।

प्लाष्टिकको चामल नहुने बारे विश्वका विभिन्न तथ्य जाँच संस्थाहरुले तथ्य जाँच गरिसकेका छन्। हेर्नुस् केही लिङ्कहरु-

Plastic Rice from China : Snopes

No, a Singaporean supermarket chain did not agree to withdraw ‘plastic rice’ from its shelves : AFP

Fact Check: NO Evidence Of Rice Made With Rubber Or Plastic Passed Off As Real : Lead Stories

Half Baked: Plastic Rice Rumours Resurface Online : Boom

तथ्यजाँच

दावी : बिग मार्टले प्लाष्टिकको चामल बेचेको।

दावीकर्ता : आर सेभेन नामक युट्युब चामल।

तथ्यजाँच : मिथ्या सूचना। खाद्य तथा गुणस्तर विभागका अनुसार प्लाष्टिकको चामल हुँदैन। प्लाष्टिकको भनिएको चामल एमाइलोज नामक तत्व बढी भएको चामल हो। त्यसैले आर सेभेन नामक यूट्युब चामलले गरेको दावी गलत छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add