तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

बिहे गर्ने बित्तिकै बच्चा जन्माइहाल्नुपर्ने भ्रामक दावीसहितको भिडियो भाइरल


बिहे गर्ने बित्तिकै बच्चा जन्माइहाल्नुपर्ने भ्रामक दावीसहितको भिडियो भाइरल

  • सरिता श्रेष्ठ, प्रकाश ढकाल

अब बिहे गर्ने बित्तिकै बच्चा जन्माउनुपर्ने दावी गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । तर हाम्रो तथ्यजाँचले यो दाबी भ्रामक रहेको ठहर गरेको छ।

के छ दाबी ?

भदौ ९ गते ग्यालेक्सीखबर डटकमको टिकटक अकाउण्टमा १३ सेकेण्ड  भिडियो अपलोड गरिएको छ। उक्त भिडियोमा प्रस्तोताले ‘नेपालमा अब बिहे गर्ने बितिकै बच्चा जन्माउनुपर्ने भएको छ’ भन्ने दावी गरेकी छिन्।

उक्त दावीपछि ‘देशका प्रधानमन्त्री केपी शर्मा ओलीले २० देखि ३० वर्ष उमेरमा विवाह गरी तुरुन्तै बच्चा जन्माउन आग्रह गरेका छन्’ भनिएको छ।

हामीले तथ्यजाँच गर्दासम्म यो भिडियो अहिलेसम्म पाँच लाख ८७ हजारभन्दा बढी पटक हेरिएको छ। ११ हजार पटक सेयर भएको छ भने एक हजारभन्दा बढी कमेन्ट छ।

के भिडियोमा भनेझैँ बिहे गर्ने बित्तिकै बच्चा जन्माउनुपर्ने हो त ? 

नेपालको कानुनमा विवाह गर्ने उमेर २० वर्ष पूरा भएको हुनुपर्ने उल्लेख छ। मुलुकी देवानी संहिता २०७४ को भाग ३ पारिवारिक कानुन परिच्छेद १ मा विवाहसम्बन्धी व्यवस्थाहरू छन्। त्यहाँ विवाह गर्ने न्यूनतम उमेर २० वर्ष हुनुपर्ने भए पनि बच्चा कहिले जन्माउनु पर्ने भन्ने व्यवस्था गरिएको छैन।

यो विषयमा सरकारले कानुन संशोधन गर्न विधेयक ल्याएको छ कि भनेर हामीले संघीय संसद्को वेबसाइटमा हेर्‍यौँ। प्रतिनिधि सभाराष्ट्रिय सभा दुवै सदनको विधेयक शाखामा पछिल्लो एकवर्षयता मुलुकी देवानी संहिता संशोधनका लागि विधेयक दर्ता भएको देखिँदैन।

मन्त्रिपरिषद् बैठकबाट पनि विवाह र बच्चा जन्माउनेसम्बन्धी कुनै निर्णय नगरेको पछिल्लो एक वर्षको निर्णयसूचीबाट देखिन्छ। हेर्नुहोस् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

हामीले प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ खोज्यौँ ।

उनको भनाई नेपाल न्युज ब्यांकले युट्युबमा यसरी राखेको छ-

ओलीको भनाईलाई नेपाली मिडियाले यसरी लेखेको छ-
अनलाइनखबर
कान्तिपुर टीभी

विवाह र बच्चाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउन २९ गते अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भनेको कुरा खोज्यौैँ।

प्रधानमन्त्रीले त्यस दिनमा दिएको मन्तव्यमा नेपालमा जनसंख्या वृद्धिदर घट्दो क्रममा रहेकाले युवालाई २० देखि ३० वर्षभित्र विवाह गरेर बच्चा पाउन सुझाव दिएका छन्। तर भिडियोमा भनेझैँ प्रधानमन्त्री ओलीले विवाह गर्ने बित्तिकै बच्चा जन्माइहाल्नुपर्ने कानुनी व्यवस्था सरकारले गरेको बताएका छैनन्।

प्रधानमन्त्रीले सुझावका रूपमा मात्रै युवाहरूलाई २० देखि ३० वर्षभित्र विवाह गरे बच्चा जन्माउन उपयुक्त हुने बताएका हुन्।

तथ्य जाँच

दावी : नेपालमा अब बिहे गर्ने बित्तिकै बच्चा जन्माइ हाल्नुपर्ने।

दावीकर्ता : ग्यालेक्सीखबर

तथ्य : भ्रामक सूचना। नेपालमा बिहे गर्ने बित्तिकै बच्चा जन्माइहाल्नुपर्ने भन्ने भिडियोको दाबी प्रधानमन्त्रीको भनाइ तोडमोड गरेर फैलाइएको भ्रामक सूचना रहेको पुष्टि हुन्छ।

(सिएमआर नेपाल जर्नलिज्म एकेडेमीले आयोजना गरेको ‘फ्याक्ट चेकिङ २०२४’ का सहभागीले प्रशिक्षणका क्रममा तयार पारेको तथ्य जाँच) 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add