तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

एनआइसी एसिया बैङ्कको नाममा भएको नक्कली म्यासेजको वास्तविकता


एनआइसी एसिया बैङ्कको नाममा भएको नक्कली म्यासेजको वास्तविकता

एनआइसी एसिया बैङ्कबाट आएको म्यासेज भएको दावी गर्दै एउटा स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त म्यासेजमा पटक-पटक ब्यालेन्स चेक गरिरहेकाले बैङ्कप्रति विश्वास नभए आफ्नो खातामा भएको रकम निकाल्न निर्देशन दिइएको देखिन्छ।

तर हाम्रो तथ्यजाँचमा उक्त स्क्रिनसट मिथ्या सूचना भएको पाइएको छ। यस्तो स्क्रिनसट जो कोहीले आफूले चाहे अनुसार बनाउन सक्ने वेबसाइटहरु इन्टरनेटमा पाइन्छन्। 

के हो दावी?

गत असोज १८ गते विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताले एक स्क्रिनसट सेयर गरेका हुन्। स्क्रिनसटमा एनआइसी एसिया बैङ्कको नाम राखी अङ्ग्रेजीमा “तपाईं प्रत्येक ३० मिनेटमा ब्यालेन्स चेक गर्दै हुनुहुन्छ, हामीमाथि विश्वास नभए आफ्नो खातामा रहेको २९ रुपैयाँ ८० पैसा निकाल्नुहोस्”  म्यासेज गरेको देख्न सकिन्छ। उक्त स्क्रिनसट सबैजसो सामाजिक सञ्जालमा भाइरल भएको हो।

त्यसैगरी नाज इन्टरटेनमेन्ट नामको फेसबुक पेजले राखेको यही स्क्रिनसट यो तथ्य जाँच तयार पार्दासम्म ७५८ पटक सेयर भएको छ भने ३५ सय वटा रियाक्सन र ८६ कमेन्ट देखिन्छ।

सुजन पन्थ नामक सामाजिक सञ्जाल टिकटक प्रयोगकर्ताले अपलोड गरेको स्क्रिनसट सहितको भिडियो १ लाख ७ हजार भन्दा बढी पटक हेरिएको छ। यो तथ्यजाँच तयार गर्दा सम्म ९२९ जनाले लाइक गरेको उक्त भिडियो ५०३ पटक शेयर गरिएको हो।

हेर्नुहोस टिकटकमा प्रसारित भिडियोको स्क्रिनसट

सोही स्क्रिनसट अन्य सामाजिक सञ्जालमा समेत राखिएको यहाँ   यहाँ हेर्न सकिन्छ।

के हो तथ्य?

हामीले म्यासेजको स्क्रिनसटबारे थप बुझ्न एनआइसी एसिया बैङ्कलाई इमेलमा सोध्यौँ। जवाफमा यस्तो कुनै पनि म्यासेज नपठाएको बैङ्ककी इमेज, एक्सपेरियन्स म्यानेजमेन्ट एण्ड इन्फोर्समेन्ट अधिकृत दृष्टि गिरीले बताइन्।

हेर्नुहोस् बैङ्कका तर्फबाट आएको जवाफ

बैङ्कले म्यासेज नपठाएको जानकारी पठाएपछि हामीले उक्त स्क्रिनसटको सूक्ष्म अध्ययन गरेर हेर्‍यौँ। सो स्क्रिनसट पूरै मोबाइल स्क्रिनको नभई केही भाग मात्र काटेर राखिएको हामीले पायौं। र, यस्तो स्क्रिनसट फेक स्क्रिनसट क्रिएटरमार्फत् बनाइएको हुन सक्ने हामीलाई लाग्यो। 

हामीले पनि इन्टरनेटमा उपलब्ध निःशुल्क वेबसाइटबाट यस्तै एउटा स्क्रिनसट बनाउने प्रयास गर्‍यौँ। र, हामीले भाइरल भएकै जस्तो स्क्रिनसट बनाउन सफल पनि भयौँ। 

हेर्नुहोस् हामीले फेक स्क्रिनसट क्रिएटर प्रयोग गरेर बनाएको स्क्रिनसट- 

अतः पटक पटक ब्यालेन्स चेक गरिरहेकाले बैङ्कप्रति विश्वास नभए आफ्नो खातामा भएको रकम निकाल्न निर्देशन दिइएको म्यासेजको स्क्रिनसट मिथ्या हो। 

तथ्यजाँच

दावीः एनआइसी एसिया बैङ्कले आफ्ना ग्राहकलाई आफूमाथि विश्वास नभए रकम निकाल्न पठाएको म्यासेज।

दावीकर्ताः सामाजिक सञ्जाल प्रयोगकर्ताहरु।

तथ्यजाँचः मिथ्या सूचना। यस्तो खालको स्क्रिनसट फेक स्क्रिनसट क्रियटरमार्फत् बनाउन सकिन्छ। यो बैङ्कले आफ्ना ग्राहकलाई गरेको वास्तविक मेसेज नभएर हाँसोठट्टाका लागि बनाइएको जस्तो देखिने नक्कली मेसेज हो। 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add