- प्रविण भट्ट
- कार्तिक २८, २०८१
ज्ञानेन्द्र शाहीको नाममा झुटो प्रचार! राष्ट्रपतिका सल्लाहकारहरु २७ जना होइनन्
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रपतिका सल्लाहकारहरु २७ जना रहेको दावी गरेको पोस्ट विभिन्न सामाजिक सञ्जालहरुमा फैलिएको छ।
तर, हाम्रो तथ्यजाँचले उक्त दावी मिथ्या सूचना ठहर गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलका २७ जना नभई पाँच जनामात्रै सल्लाहकार छन्। सांसद शाहीको आधिकारिक भेरिफाइड फेसबुक अकाउन्टबाट नभई उनको नाम प्रयोग गरेर खोलिएको अर्कै फेसबुक प्रोफाइलबाट मिथ्या सूचना फैलाइएको हो।
के हो दावी?
जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच जना प्रवक्ता मध्ये एक समेत रहेका ज्ञानेन्द्र शाहीको नाम र ‘प्रोफाइल पिक्चर’ भएको फेसबुक प्रोफाइलबाट “राष्ट्रपतिको सल्लाहकार मात्र २७ जना, त्यो पनि दलीय भागबन्डाबाट। अनि किन राजा चाहियो?” लेखिएको एक स्टायटस पोस्ट गरिएको छ। हेर्नुस् अर्काइभ लिङ्क।
यो तथ्यजाँच तयार पार्दासम्म ६५२ जनाले रियाक्ट गरेको सो पोस्ट ३०६ पटक सेयर गरिएको छ भने २१० वटा कमेन्ट छ।
सोही पोस्ट स्क्रिनसटलाई भिडियोमा परिणत गर्दै hami_nepali67 नामक टिकटक प्रयोगकर्ताले अपलोड गरेको भिडियो १८ हजार भन्दा बढी पटक हेरिएको हो। यो तथ्यजाँच तयार पार्दा सम्म ८५८ जनाले उक्त टिकटक भिडियो लाइक गरेका छन्।
हेर्नुहोस् स्क्रिनसट-
टिकटकमा राखिएको सो भिडियोलाई @rebelnepali नामक प्रयोगकर्ताले सामाजिक सञ्जाल एक्समा समेत राखेका छन्। एक्समा ७ हजार भन्दा बढी पटक हेरिएको भिडियो ९४ जनाले लाइक गरेका छन् भने १६ पटक उक्त भिडियो रिपोस्ट गरिएको हो।
हेर्नुहोस् स्क्रिनसट-
के हो तथ्य?
यो विषयको तथ्यजाँच गर्नका लागि हामीले ज्ञानेन्द्र शाहीको आधिकारिक फेसबुक अकाउन्ट सर्च गरेर हेर्यौँ। सो क्रममा शाहीको फेसबुक प्रोफाइल भेरिफाइड रहेको (निलो टीको लगाएको) पायौँ।
तर, राष्ट्रपतिको सल्लाहकारबारे पोस्ट गर्ने अकाउण्ट भेरिफाइड छैन।
यो विषयमा थप बुझ्न हामीले शाहीले आफ्नो आधिकारिक फेसबुक प्रोफाइलमा राष्ट्रपतिको सल्लाहकारबारे कुनै पोस्ट गरेका छन् कि भनेर हेर्यौँ। तर, उनको फेसबुक प्रोफाइलमा कात्तिक २९ गते राष्ट्रपतिको २७ जना सल्लाहकार रहेको विषयमा केही पनि लेखेको भेटेनौँ।
हेर्नुहोस्, सांसद शाहीको आधिकारिक फेसबुक प्रोफाइल
कति जना छन् राष्ट्रपति कार्यालयमा सल्लाहकार?
राष्ट्रपति कार्यालयमा कति जना सल्लाहकार रहेका छन् भन्ने बारे जानकारी प्राप्त गर्न हामीले राष्ट्रपति कार्यालयको वेबसाइट हेर्यौँ।
राष्ट्रपति कार्यालयको वेबसाइटको “सम्माननीय राष्ट्रपतिज्यूको विज्ञहरू तथा स्वकीय सचिवालय समूह” पेजमा कूल ६ जनाको नाम उल्लेख गरिएको छ, जसमध्ये अवज्ञा पौडेल राष्ट्रपतिका स्वकीय सचिव हुन् भने अन्य ५ जना विज्ञका रुपमा कार्यरत रहेको उल्लेख गरिएको हो।
हेर्नुहोस्, राष्ट्रपति कार्यालयको वेबसाइटको स्क्रिनसट
हामीले थप जानकारीका लागि राष्ट्रपति कार्यालयकी सूचना अधिकारी अर्चना खड्कालाई सम्पर्क गर्यौँ। उनले राष्ट्रपति कार्यालयमा सल्लाहकार नभई विज्ञको नियुक्ति रहेको र ५ जना विज्ञको रुपमा कार्यरत रहेका बताइन्।
यसर्थ, राष्ट्रपति कार्यालयमा दलीय भागवण्डाका आधारमा २७ जना सल्लाहकार रहेको दावी मिथ्या सूचना हो।
तथ्यजाँच
दावी : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीले दलीय भागबण्डाका आधारमा राष्ट्रपतिका २७ जना सल्लाहकार रहेको दावीसहित फेसबुक पोस्ट गरेको।
दावीकर्ता : ज्ञानेन्द्र शाही नामको भेरिफाइड नभएको फेसबुक पेज।
तथ्यजाँच : मिथ्या सूचना। यो फेसबुक पोस्ट प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाहीले गरेका होइनन्, शाहीको आधिकारिक फेसबुक पेजमा त्यस्तो कुनै पोस्ट गरिएको छैन। राष्ट्रपति कार्यालयमा कूल पाँच जना विज्ञका रुपमा काम गरिरहेको तथ्य राष्ट्रपति कार्यालयको वेबसाइटमा हेर्न सकिन्छ। राष्ट्रपति कार्यालयका सूचना अधिकारीले पनि पाँच जना मात्रै विज्ञ रहेको पुष्टि गरिन्।