कोशी तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

प्रधानमन्त्री ओलीले नेपाललाई बिरामीमुक्त देश बनाउने घोषणा गरेका छैनन्, भाइरल समाचार भ्रामक !


प्रधानमन्त्री ओलीले नेपाललाई बिरामीमुक्त देश बनाउने घोषणा गरेका छैनन्, भाइरल समाचार भ्रामक !

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई बिरामीमुक्त देश बनाउने घोषणा गरेको दावी सहितको समाचार ‘अन्नपूर्ण पोस्ट’ दैनिकले लेखेको छ। तर, हाम्रो तथ्यजाँचले भने यो समाचार भ्रामक भएको ठहर गरेको छ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औँ दीक्षान्त समारोहमा गरेको सम्बोधनमा ‘बिरामी नहुने.. अस्पताल नचाहिने… डाक्टर नचाहिने भन्ने कहिले पनि हुँदैन’ भनेका छन्। उनले नेपाललाई बिरामीमुक्त देश बनाउने घोषणा गरेका छैनन्।

के छ दावी ?

अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकले २०८१ कात्तिक २७ गते तेस्रो पृष्ठमा ‘नेपाललाई बिरामीमुक्त देश बनाउने प्रधानमन्त्रीको घोषणा’ शीर्षकमा समाचार प्रकाशित गरेको छ।

समाचारको लिडलाइनमा ‘प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई बिरामीमुक्त देश बनाउने घोषणा गरेको’ लेखिएको छ।

सोही दिनको अनलाइन संस्करणमा पनि सो समाचार राखिएको छ। अर्काइभ लिंक

हेर्नुस्, पत्रिकाको छापिएको समाचार

समाचारमा प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै ‘हामी नेपाली कालाजार र मलेरियाविरुद्ध लडेर बाँचेका मान्छे हौं। अब अर्ग्यानिक खानेकुरा खाएर र स्वच्छ खानेपानी पिएर सबै नेपाली रोग नै नलाग्ने हुनुपर्छ। त्यसैले नेपाललाई बिरामीमुक्त बनाउन चिकित्सकले मात्र नसक्ने भएकाले प्रत्येक नागरिकले आ-आफ्नो स्वास्थ्यमा ध्यान दिन जरुरी छ,’ लेखिएको छ।

तर, समाचारको शीर्षकमा दावी गरेझैँ ‘नेपाललाई बिरामीमुक्त देश बनाउने’ विषयमा भने थप केही लेखिएको छैन।

सो समाचार अन्नपूर्ण पोष्टको आधिकारिक फेसबुक पेजएक्समा पनि सेयर गरिएको छ।

यो तथ्यजाँच तयार पार्दासम्म अन्नपूर्ण पोस्टको फेसबुकमा यो समाचारसम्बन्धी पोस्टमा ४९६ जनाले रियाक्सन दिएका छन् भने ३६३ वटा कमेन्ट र २२ वटा सेयर छन्। त्यस्तै, एक्समा १७४ वटा कमेन्ट, ७७ वटा  रिपोस्ट र १३४ वटा रियाक्सन छन्।

यो समाचार दृष्टि न्यूज डटकम र कैलाली खबर डटकमले पनि प्रकाशित गरेको छ।

तथ्य के हो ?

केपी प्रधानमन्त्री ओलीले नेपाललाई बिरामीमुक्त देश बनाउने घोषणा गरेका हुन् त ?

यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औँ दीक्षान्त समारोहको भिडियो खोज्यौँ। सो क्रममा कृति टेलिभिजनले अपलोड गरेको चार घण्टा १६ मिनेटको भिडियो युट्युबमा भेट्यौँ।

भिडियोमा प्रधानमन्त्री ओलीले एक घण्टा ५५ मिनेटदेखि आफ्नो मन्तव्य सुरु गरेर दुई घण्टा २८ मिनेटसम्ममा सकाएका छन्।

यही टाइमफ्रेमको २ घण्टा १९ मिनेट २५ सेकेण्डमा प्रधानमन्त्री ओलीले निरोगी नेपाल र स्वस्थ नेपालको प्रसंगमा कुरा गरेका छन्।

हेर्नुस्, स्क्रिन रेकर्ड

 

प्रधानमन्त्री ओलीले सो प्रसंगमा, “ निरोगी नेपाल… स्वस्थ नेपाल.. यो बनाउनको निम्ति, बिरामी नै नपरोस् मान्छे भरसक.. त्यसका निम्ति अर्गानिक खानेकुरादेखि, स्वस्थ पानीदेखि लिएर… शुद्ध हावामा सास फेर्न पाइयोस्.. पर्याप्त खाना… उपयुक्त खाना… मान्छेले खान पावस् ..स्वास्थ राम्रो भैहाल्छ” भनेका छन् ।

त्यही प्रसंगलाई निरन्तरता दिँदै उनले, “… त्यति गरेर पनि बिरामी नहुने.. अस्पताल नचाहिने… डाक्टर नचाहिने भन्ने कहिले पनि हुँदैन, केही प्राकृतिकजन्य हिसाबले प्रेगनेन्सीका कुरा हुन्छन्… डेलिभरीका कुरा हुन्छन्, बुढेसकाल लागेपछि दाँत फुक्लने हल्लिने कुराहरु आउँछन्… ती सबै कुरा गर्नुपरो, आँखा कम देखिन थाल्छ, अस्पतालमा जानै परो, चस्माहरु चाहियो । जति बलियो भएपनि एउटा समयमा पुगेपछि कहिले गर्धन दुख्छ, कहिले हड्डी खिइन्छ.. त्यसको पनि उपचार गर्नुपरो, उमेरले ल्याउने कुराहरु… प्राकृतिक रुपमा स्वतः आउने कुराहरु.. अथवा कहिले कहिलेचाहीँ ट्रमाजन्य कुराहरु हुन्छन् । त्यस्ता कुराले पनि उपचार चाहिन्छ” भनेका छन्।

ओलीले आफ्नो मन्तव्यमा स्वस्थ तथा निरोगी नेपालको परिकल्पना गरेको भए पनि कतै पनि नेपाललाई बिरामीमुक्त देश बनाउने घोषणा गरेका छैनन्। अन्नपूर्ण पोस्टले यही प्रसंगको भ्रामक व्याख्या गरेर समाचार लेखेको हामीले पायौँ।

तथ्यजाँच

दावी : प्रधानमन्त्री ओलीले नेपाललाई बिरामीमुक्त देश बनाउने घोषणा गरे।

दावीकर्ता : अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिक।

तथ्यजाँच : भ्रामक सूचना। प्रधानमन्त्रीले यस्ता कुनै ठोस घोषणा गरेका छैनन्। अन्नपूर्ण पोस्टले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औ दीक्षान्त समारोहमा ओलीले दिएको मन्तव्यको भ्रामक व्याख्या गरेर समाचार लेखेको देखिन्छ।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add