- सागर बुढाथोकी
- मंसिर ५, २०८१
उडिरहेको प्लेनमा योग शिविर गरेर ‘गिनिज वर्ल्ड रेकर्ड’ कायम गरेको दावी मिथ्या
अमेरिकाको आकाशमा उडिरहेको प्लेनमा चार घण्टा योग शिविर राखेर ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा उल्लेख विश्व कीर्तिमान कायम गरेको दावी सामाजिक सञ्जालमा भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचले यो दावी मिथ्या रहेको ठहर गरेको छ। गिनिज बुक अफ वर्ल्ड रेकर्डमा हालसम्म त्यस्तो कीर्तिमान दर्ता भएको छैन।
के छ दावी?
पत्रकार बिनु पोखरेलको २२ हजार फलोअर्स रहेको फेसबुक पेजमा एउटा रिल अपलोड गरिएको छ। आचार्य राजन शर्मासँग गरेको कुराकानीको क्लिप काटेर नोभेम्बर १७ मा अपलोड गरिएको उक्त रिलमा आचार्य राजनले ‘उडिरहेको प्लेनमा योगा सिकाएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा रेकर्ड कायम गरेको’ दावी गरेका छन्।
उनले भनेका छन्, “अमेरिकामा उडिरहेको प्लेनमा क्याप्टेनलाई ध्यानको लागि भनेँ… योगको लागि भनेँ… स्वीकार गरे,… पछि ओर्लिँदा र दुई दिनपछि थाहा भयो, त्यो त वर्ल्ड रेकर्ड कायम भएछ गिनिज बुकमा..।”
हेर्नुस्, स्क्रिन रेकर्ड
आचार्यले थप भनेका छन्, “पहिलो योग शिविर थियो २०१७ को सेप्टेम्बरमा…मैले न्यूयोर्कबाट लस एञ्जलस जाँदाखेरि करिब पाँच घण्टा चानचुनको उडानमा चार घण्टाको शिविर थियो त्यहाँभित्र…. अहिले म गएँ भने एटलान्टा एयरलाइन्सले फ्रि टिकट दिन्छ।”
हामीले तथ्यजाँच गर्दासम्म यो भिडियोमा १,६०० रियाक्शन छ भने ६१ कमेण्ट र १४४ पटक सेयर गरिएको छ।
पत्रकार पाेखरेलले नै सामाजिक सञ्जाल एक्समा सेयर गरेको सोही भिडियो हामीले तथ्यजाँच गर्दासम्म ९२ हजार जनाले हेरेका छन् भने १२२ वटा रियाक्सन, ५० वटा कमेण्ट र ६२ वटा रिपोस्ट छ।
हेर्नुस् स्क्रिनसट
पाेखरेल*को व्यक्तिगत युट्युब च्यानलमा पुरा भिडियो अपलोड गरिएको छ।
के हो तथ्य ?
हामीले यो विषयमा तथ्यजाँच गर्नका लागि गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक वेबसाइटमा गएर ‘फाइण्ड अ रेकर्ड सेक्सन’मा क्लिक गर्यौँ। उक्त सेक्सनमा ‘योग वर्ल्ड रेकर्ड’, ‘एटलान्टा एअरलाइन्स वर्ल्ड रेकर्ड’, ‘राजन शर्मा योग वर्ल्ड रेकर्ड’, ‘योग इनसाइड अ फ्लाइङ प्लेन’ लगायतका ‘कीवर्ड’ राखेर सर्च गर्यौँ।
तर त्यहाँ राजन शर्माले दावी गरेको कुनै रेकर्ड भेटिएन।
उक्त पेजमा सबै रेकर्डको सूची हेर्न वेबसाइटमा लग ईन गरेर ‘रेकर्ड एप्लिकेशन सर्च’मा हेर्न सकिने उल्लेख थियो। हामीले लगईन गरेर ‘रेकर्ड एप्लिकेशन सर्च’मा पनि सोही ‘कीवर्ड’ राखेर सर्च गरेर हेर्यौँ।
हेर्नुस स्क्रिनसट
तर रेकर्ड एप्लिकेशन सर्चमा पनि आचार्य राजन शर्माले दावी गरेको जस्तो र राजन शर्माको नाममा कुनै रेकर्ड भेटिएन्।
तथ्यजाँच
दावी : उडिरहेको प्लेनमा चार घण्टा योग गराएर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा कीर्तिमान कायम गरेको।
दावीकर्ता : आचार्य राजन शर्मा।
तथ्यजाँच : मिथ्या सूचना। हालसम्म उडिरहेको प्लेनमा चार घण्टा योग गराएको रेकर्ड गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छैन्। त्यसैले राजन शर्माले पत्रकार बिनु पोखरेलसँगको कुराकानीका क्रममा गरेको दावी मिथ्या छ।
* असावधानीवश अर्कै नाम पर्न गएकोले सच्याइएको ।