तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

आमाबिना नै बच्चा जन्माउन सकिने प्रविधिको विकास भएको हो? भिडियो यसकारण मिथ्या सूचना


आमाबिना नै बच्चा जन्माउन सकिने प्रविधिको विकास भएको हो? भिडियो यसकारण मिथ्या सूचना

आमाबिना नै बच्चा जन्माउन सकिने दावीसहित एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। भाइरल भिडियोमा “वैज्ञानिक” हसन अल घाईलीले सार्वजानिक गरेको भिडियोलाई उदृत गर्दै कृत्रिम गर्भधारण सम्भव भएको दावी गरिएको हो।

तर हाम्रो तथ्यजाँचमा उक्त दावी मिथ्या भएको पाइएको छ। हामीले यस्तै दावी गरिएको एक भिडियोबारे तथ्यजाँच  गरिसकेका छौँ। 

के हो दावी?

३५ हजार लाईक र २ लाख २० हजार फलोअर्स रहेको ‘दैनिक न्युज नेपाल’ एच डी नामक फेसबुक पेजले समाचारको शैलीमा गत नोभेम्बर १३ (कार्तिक २८ गते) मा “अब आमा बिना नै बच्चा जन्माउन सकिने भएको छ” भन्ने दावी सहित भिडियो सार्वजनिक गरेको हो। भिडियोमा “वैज्ञानिक” हसन अल घाईलीले सार्वजानिक गरेको भिडियोको हवाला दिदैं एक्टोलाईफ नामक कृत्रिम गर्भको सुविधाबाट बर्षेनी ३० हजार बच्चा जन्माउन सकिने बताईएको हो। 

हेर्नुहोस स्क्रिनरेकर्डः

यो तथ्यजाँच तयार पार्दा सम्म उक्त भिडियोमा ५३ हजार ७ सय जनाले रियाक्शन दिएका छन भने ८ सय ४४ जनाको कमेण्ट छ। भिडियो ९ सय ७१ पटक सेयर समेत गरिएको छ।

के हो तथ्य?

कृतिम गर्भाधानको बिषयमा हसन अल घाईलीले बनाएको भिडियो बारे हामीले गत कार्तिक २१ गते नै फ्याक्ट चेक गरिसकेका छौं।

घाईलीले सार्वजनिक गरेको काल्पनिक भिडियो विश्वभरीनै सत्यका रुपमा प्रस्तुत गरिएको हामीले फ्याक्ट चेक एक्सप्लोररमा हेरेर थाहा पायौं। यस विषयमा विभिन्न तथ्यजाँच संस्थाले तयार पारेका तथ्यजाँच यहाँयहाँ, र यहाँ हेर्न सकिन्छ।

साथै फिल्म निर्माता हसन अल घाईलीले एक्टोलाइफ नाम गरिएको यो ठाउँ ‘वास्तविक नभएको र भिडियोको उद्देश्य विज्ञान र प्रजनन प्रविधि कति अघि बढेको छ भन्ने देखाउनु र यसप्रकारको प्रविधिबारे छलफल सुरु गर्नु हो’ भनेर प्रतिकृया समेत दिएको समाचार संस्था एपीले गरेको तथ्यजाँचमा उल्लेख गरिएको छ।

पढ्नुहोस नेपाल तथ्यजाँचमा कार्तिक २१ गते प्रकाशित तथ्यजाँच

यसर्थ “वैज्ञानिक” हसन अल घाईलीको भिडियोको हवाला दिदैं आमाबिना नै बच्चा जन्माउन सकिने भन्दै समाचार शैलीमा फेसबुकमा अपलोड गरिएको भिडियो मिथ्या सूचना हो। फिल्म निर्माता घाईलीले युट्युब च्यानलमा राखेको एक काल्पनिक एनिमेटेड भिडियोको आधारमा मिथ्या सूचना सम्प्रेषण गरिएको हो।

तथ्यजाँच

दावीः आमा बिना कृतिम गर्भाधानबाट बच्चा जन्माउन सकिने भन्ने दावी सहितको भिडियो।

दावीकर्ताः दैनिक न्युज नेपाल एच डी फेसबुक पेज

तथ्यजाँचः मिथ्या सूचना। आमाबिना नै बच्चा जन्मिने गरी कृत्रिम गर्भको बिकास भइसकेको छैन। फिल्म निर्माता हसन अल घाईलीले यस प्रविधिका बिषयमा आफ्नो युट्युव च्यानलमा राखेको काल्पनिक भिडियोको आधारमा सामाजिक सञ्जाल फेसबुकमा मिथ्या सूचना प्रकाशित गरिएको हो।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add