तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

मलेसियामा रवि लामिछानेको समर्थनमा आन्दोलन भएको दावी मिथ्या


मलेसियामा रवि लामिछानेको समर्थनमा आन्दोलन भएको दावी मिथ्या

पूर्व गृहमन्त्री रवि लामिछाने सहकारी ठगी लगायतको मुद्दामा पक्राउ परेपछि मलेसियामा उनको समर्थनमा आन्दोलन भएको दावीसहित एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ।

हाम्रो तथ्यजाँचमा भने उक्त भिडियो मिथ्या भएको पाइएको छ।

स्थानीय संस्थाले आयोजना गरेको एक कार्यक्रमलाई पूर्वमन्त्री लामिछानेको पक्षमा लगाइएको नाराको अडियो जोडेर फेसबुकमा फैलाइएको हो।

के हो दावी?

दुई लाख २५ हजार फलोअर्स रहेको न्यूज कलेक्सन नेपाल नामक फेसबुक पेजले गत अक्टोबर २३ (कार्तिक ७ गते) “रवि लामिछानेको समर्थनमा मलेसियामा यस्तो माहोल” भन्दै भिडियो अपलोड गरेको हो। भिडियोको पृष्ठभुमीमा बजेको आवाजमा “रवि दाईलाई न्याय दे” भन्दै नारा लगाइएको सुन्न सकिन्छ।

हेर्नुहोस स्क्रिन रेकर्ड

यो तथ्यजाँच तयार पार्दासम्म १० हजार ४ सय जनाले रियाक्ट गरेको भिडियोमा २१७ वटा कमेन्ट गरिएको छ भने  ७२५ पटक सेयर गरिएको छ।

के हो तथ्य?

हामीले रवि लामिछानेको समर्थनमा मलेसियामा आन्दोलन भएको दावीको तथ्य पत्ता लगाउन सर्वप्रथम भिडियोको सूक्ष्म अध्ययन गर्यौं।

भिडियो दायाँतर्फ घुमाउने बेला दुई वटा रेष्टुरेन्ट देखिन्छन्; च्याटराईज भन्ने जापानी रेष्टुरेन्ट र स्टारबक्स कफी। यी दुईवटै रेष्टुरेन्टको लोकेशन गुगलम्यापमा मलेसियाभित्र खोजी गरेर हेर्दा मलेसियाको पेनाङ् सहरस्थित जुरु अटो सिटी भन्ने ठाउँ र भाइरल भिडियोमा भएको ठाउँ एकै भएको हामीले पायौं। 

हेर्नुहोस तुलनात्मक फोटोः

मलेसियाको पेनाङ् सहरस्थित जुरु अटो सिटी भन्ने ठाउँ भिडियोसँग मिलेको र मलेसियाको राष्ट्रिय झण्डा समेत भिडियोमा देखिएपछि भिडियो मलेसियाकै भएको हामीले ठहर ग‍र्‍यौँ। 

हेर्नुहोस्, भिडियोमा देखिने मलेसियाको राष्ट्रिय झण्डा

भिडियो मलेसियाकै हो भन्ने यकिन भएपछि हाम्रो ध्यान भिडियोमा देखिने टि-सर्टकाे डिजाइनतिर गयो। मलेसियाली तथ्यजाँचकीको सहयोगमा भिडियोमा देखिएको उक्त टि-सर्ट Young Buddhist Association of Malaysia नामक संस्थाले प्रयोग गर्ने टि-सर्टसंग मिलेको हामीले पायौँ।

हेर्नुहोस तुलनात्मक फोटो

रवि लामिछानेको समर्थनमा भएको आन्दोलन भन्दै भाईरल भएको भिडियोमा देखिने टि-सर्ट र Young Buddhist Association of Malaysia ले प्रयोग गरिरहेको टि-सर्ट मिलेको पाएपछि हामीले उक्त संस्थालाई के यो भिडियो तपाईंको कार्यक्रमको हो भनेर सोध्यौं।

Young Buddhist Association of Malaysia का महासचिव वो सियाङ् येन कातर्फबाट प्राप्त ईमेलमा उक्त भिडियो अक्टोबर २० तारिखका दिन संस्थाले आयोजना गरेको धर्म वाकको रहेको उल्लेख गरिएको हो। येनले आफ्नो संस्थाले आयोजना गरेको कार्यक्रको भिडियो लिएर मिथ्या सूचना फैलाइएको भन्दै मलेसियास्थित नेपाली राजदूतावासमा रिपोर्ट गर्ने समेत जनाएका हुन्।

हेर्नुहोस महासचिव येनको ईमेल

अतः मलेसियामा रवि लामिछानेको समर्थनमा आन्दोलन भएको भन्दै फैलाईएको भिडियो स्थानीय संस्थाले आयोजना गरेको धर्म वाक भन्ने कार्यक्रमको हो।

तथ्यजाँच

दावीः रवि लामिछानेका पक्षमा मलेसियामा आन्दोलन भएको

दावीकर्ताः न्युज कलेक्सन नेपाल नामक फेसबुक पेज

तथ्यजाँचः मिथ्या सूचना। Young Buddhist Association of Malaysia अक्टोबर २० तारिखका दिन आयोजना गरेको धर्म वाकको भिडियोमा “रवि दाईलाई न्याय दे” जस्ता नारा भएको अडियो राखेर सामाजिक सञ्जाल फेसबुकमा भिडियो फैलाइएको हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add