- प्रविण भट्ट
- मंसिर १६, २०८१
के कोशी प्रदेश सांसद लीलाबल्लभ अधिकारी पक्राउ परेसँगै निलम्बनमा परेका थिए?
मानव तस्करीको आरोपमा अनुसन्धानका लागि पक्राउ परे पनि मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णयपछि रिहा भएका कोशी प्रदेश सांसद लीलाबल्लभ अधिकारीको पद पक्राउ परेपछि निलम्बनमा परेको दावी सहितका समाचार प्रकाशित भएका छन्। ‘कान्तिपुर’ दैनिक र कान्तिपुरकै अनलाइन संस्करण ‘इकान्तिपुर’ मा अधिकारी मंसिर १० गते पक्राउ परेसँगै उनको पद निलम्बनमा परेको दावी गर्दै समाचार प्रकाशन भएको छ।
तर हाम्रो तथ्यजाँचमा भने प्रदेश सांसद अधिकारीको पद निलम्बनमा नरहेको देखिएको छ।
के हो दावी?
गत मंसिर ११ गते कान्तिपुरले अधिकारीलाई मुद्दा नचलाउने सम्बन्धमा समाचार प्रकाशित गरेको छ। समाचारमा कात्तिक २५ गते पक्राउ परेपछि मन्त्री अधिकारीको सांसद पदसमेत निलम्बनमा रहेको दावी गरिएको हो। मंसिर ११ गतेको प्रिन्ट संस्करणमा पनि सोही समाचार छापिएको छ।
हेर्नुस्, कान्तिपुरमा मंसिर ११ गते प्रकाशित समाचार
हेर्नुहोस इकान्तिपुर डटकममा प्रकाशित समाचारको अर्काइभ लिङ्क
के हो तथ्य?
कुनै सांसद फौजदारी मुद्दामा पक्राउ परेमा र मुद्दा चलेमा के हुन्छ भन्ने बारे थाहा पाउन हामीले कोशी प्रदेश कोशी प्रदेश सभाको नियमावली पढ्यौं। प्रदेश सभा नियमावलीको नियम १९० ले सदस्य पक्राउ परेमा के गर्ने भन्ने व्यवस्था गरेको छ।
नियम १९० को उपनियम ४ अनुसार तीन अवस्थामा सभामुखले सदस्यलाई निलम्बन गर्न सक्छ।
१. प्रचलित कानून बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दा अभियोग पत्र दायर भई निज पूर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर।
२. कुनै सदस्यलाई फौजदारी मुद्दामा अदालतको अन्तिम फैसलाले कैदको सजाय हुने ठहर भएकोमा त्यस्तो कैदमा बस्नु पर्ने अवधिभर।
३. कुनै सदस्यले फौजदारी मुद्दामा अदालतको फैसला बमोजिम कैदको सजाय भुक्तान गरिरहेकोमा सो अवधिभर।
हेर्नुहोस नियम १९० को व्यवस्था
तत्कालीन अवस्थामा यो नियमावली अनुसार सांसद अधिकारीको पद निलम्बन हुने देखिन्न। अर्थात्, अनुसन्धानको लागि पक्राउ पर्दैमा सांसद पद निलम्बन हुने कोशी प्रदेश सभाको नियमावलीमा व्यवस्था छैन।
यो विषयमा थप बुझ्नको लागि हामीले कोशी प्रदेशसभा सचिवालयलका सूचना अधिकारी निरोज ढकाललाई सम्पर्क गर्यौँ। ढकालले भने, ‘सांसद अधिकारीलाई निलम्बन गरिएको होइन, नियमावली बमोजिम सभामुखको आदेश अनुसार सूचना प्रकाशित गरिएको हो।”
यो विषयमा थप बुझ्न हामीले प्रदेश सभा सचिवालयले कात्तिक २६ प्रकाशित गरेको सूचना हेर्यौँ। सूचनामा पनि सांसद अधिकारीको पद निलम्बन गरिएको उल्लेख छैन।
यसर्थ, प्रदेश सांसद लीलाबल्लभ अधिकारी पक्राउ परेको मितिबाटै निलम्बनमा परेका होइनन्। अनुसन्धानका लागि न्यायिक हिरासतमा बसेका बेला उनको पद अहिले पनि निलम्बन भएको थिएन।
हेर्नुहोस् प्रदेश सभा सचिवालयले प्रकाशित गरेको सूचना
तथ्यजाँच
दावीः प्रदेश सांसद लीलाबल्लभ अधिकारी पक्राउ परेसँगै प्रदेश सांसद पदसमेत निलम्बनमा पर्यो।
दावीकर्ताः कान्तिपुर दैनिक र कान्तिपुरकै अनलाइन संस्करण
तथ्यजाँचः भ्रामक सूचना। प्रदेश सांसद लीलाबल्लभ अधिकारी पक्राउ परेको मितिबाटै निलम्बनमा परेका होइनन्। प्रदेश सभा सचिवालयले कात्तिक २६ गते अधिकारी पक्राउ परेको बारे सूचना मात्रै प्रकाशित गरेको हो।