तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

नुझुक्किनुस्, एलन मस्कले २९९ डलर पर्ने टेस्ला फोन बनाउने भनेका छैनन्


नुझुक्किनुस्, एलन मस्कले २९९ डलर पर्ने टेस्ला फोन बनाउने भनेका छैनन्

टेस्ला कम्पनीका सिईओ एलन मस्कले ‘२९९ अमेरिकी डलर मूल्य पर्ने टेस्ला फोनले आइफोनको अन्त्य गर्नेछ’ भनेको दावी गरिएको एउटा पोस्ट सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। तर हाम्रो तथ्य जाँचले उक्त दावी मिथ्या रहेको ठहर गरेको छ।

एलन मस्कले २९९ डलर पर्ने टेस्ला फोन बनाउने दावी गरेका छैनन्।

के छ दावी ?

५५ सय फलोअर्स रहेको सुरज गैरै ‘विवस’ नामक फेसबुक प्रयोगकर्ताले नोभेम्बर २४ मा (मंसिर ९ गते) एलोन मस्कले रातो रङको फोन बोकेको फोटो राखेर एउटा पोस्ट गरेका छन्। पोस्टको शीर्षक,अंग्रेजी भाषामा  – एलन मस्क : ‘दि २९९ डलर टेस्ला फोन विल बि दि इण्ड अफ आइफोन’ राखिएको छ।

हेर्नुस्, स्क्रिन सट । अर्काइभ लिंक

त्यस्तै फोनमा स्याटलाइटमार्फत विश्वव्यापी इन्टरनेट जडान हुने, सूर्यको प्रकाशबाट चार्ज हुने, फोनबाटै गाडी र घरका उपकरणहरू कन्ट्रोल गर्न मिल्ने ‘फिचर्स’ भएको पोस्टमा उल्लेख छ।

यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा १,९०० रियाक्शन दिइएको छ भने १०६ वटा कमेण्ट र ५३ पटक सेयर गरिएको छ।

तथ्य के हो ?

हामीले यो विषयको तथ्यजाँच गर्नका लागी गुगलमा ‘एलन मस्क टेस्ला फोन’ कीवर्ड राखेर सर्च गर्‍यौँ।

सो क्रममा एलन मस्कसँग समबन्धित उत्पादनहरुको सामाग्री प्रकाशित गर्ने टेस्लाराटी डटकम नामक वेबसाइटमा प्रकाशित Tesla Phone rumors clarified by CEO Elon Musk शीर्षकको समाचारमा पुग्यौँ।

उक्त समाचार अनुसार, मस्कले गत नोभेम्बर ५ (कार्तिक २० गते)  मा जोय रोगनसँग कुराकानी गर्दै टेस्लाले फोन बनाउन लागेको कुरा ‘र्‍युमर्स’ अथवा हल्ला भएको बताएका छन्। जोय रोगनको अन्तर्वातालाई उदृत गर्दै मस्कले ‘सायद टेस्ला विश्वको कुनै पनि कम्पनीभन्दा नयाँ फोन बनाउनको लागि राम्रो स्थितिमा भएतापनि अहिले आफुले फोन बनाउन नचाहेको’ भनेको समाचारमा उल्लेख छ।

जोय रोगन र मस्कको पुरा कुराकानी यहाँ क्लिक गरेर सुन्न सकिन्छ।

जोय रोगनको प्रश्नमा मस्कले ‘… यदि एप्पल र गूगल/एन्ड्रोइडले खराब तरिकाले एप्लिकेसनको सेन्सरसिप र गेटकिपर जस्तो खराब काम गर्न थाले भने, सायद त्यो बेला म फोन बनाउनेछु’ भनेका छन्।

यो विषयमा थप खोज्ने क्रममा हामीले पोलिटी फ्याक्ट  नामक फ्याक्टचेकिङ संस्थाले “Sorry, wrong number: Elon Musk didn’t announce a $299 Tesla phone” शीर्षकमा प्रकाशित तथ्यजाँच फेला पार्‍यौँ । उक्त तथ्यजाँच अनुसार, मस्कले २९९ डलर पर्ने टेस्ला फोन बनाउने भनेर गरिएको दावी मिथ्या हो । मस्कले कहीँ कतै सार्वजानिक रुपमा यस्तो भनेका छैनन्।

हेर्नुस्, स्क्रिनसट

यो विषयमा प्रकाशित अन्य तथ्यजाँच यहाँ, यहाँयहाँ क्लिक गरेर पढ्न सकिन्छ।

तथ्यजाँच

दावी: टेस्ला कम्पनीका सिइओ एलन मस्कले २९९ डलर मुल्य पर्ने सुर्यको प्रकाशबाट चार्ज हुने, स्याटलाइटबाट इन्टरनेट कनेक्ट हुने र फोनबाटै घर र गाडीको कन्ट्रोल गर्न मिल्ने फिचर्स भएको टेस्ला फोन बनाउँदै छन्।

दावीकर्ता: सामाजिक सञ्जाल

तथ्यजाँच: मिथ्या सूचना । एलन मस्कले हालसम्म यस्तो फिचर्स भएको फोन बनाउने दावी गरेका छैनन्। उनले जोय रोगनसँगको अन्तर्वातामा अहिले आफुले फोन बनाउन नचाहेको उल्लेख गरेका छन्। त्यसैले सामाजिक सञ्जालमा मस्कले फोन बनाउने भनेर गरिएको दावी मिथ्या हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add