- सागर बुढाथोकी
- मंसिर २०, २०८१
के पुष्पकमल दाहालले रवि लामिछानेको पक्षमा सडकमा आउन आग्रह गरेका हुन्?
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई साथ दिन सडकमा आउन आग्रह गरेको दावी गरिएको एउटा पोस्ट सामाजिक सञ्जाल टिकटकमा भाइरल भएको छ। तर हाम्रो तथ्य जाँचले यो दावी भ्रामक भएको ठहर गरेको छ।
पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा अनुसन्धानको लागि प्रहरी नियन्त्रणमा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई साथ दिन सडकमा आउन आग्रह गरेका छैनन्। अर्कै सन्दर्भमा उनले गरेको भाषणको गलत व्याख्या गरी भाइरल बनाइएको हो।
के छ दावी ?
Kapil_khadka_1 नामक टिकटक प्रयोगकर्ताले डिसेम्बर ५ मा ‘रवि माथि वलिको दमन धेरै भयो,अब विद्रोहको घोषणा, रास्वपा चितवनको आन्दोलनपछि प्रचण्ड मैदानमा आए, रविको लागि सबैले साथ दिएर सडकमा आउन आग्रह’ लेखिएको एउटा भिडियो क्लिप राखेका छन्।
हेर्नुस्, स्क्रिनसट
भिडियो यो तथ्य जाँच तयार गर्दासम्म १५९१ लाइक, ४४ कमेन्ट छन् भने २४ हजारभन्दा बढी भ्युज भइसकेको छ।
भिडियो क्लिपमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले “ … म त अगाडि बढी नै सके कमरेडहरु.. मैले अहिले योभन्दा धेरै भन्दिनँ, … मैले त बाटो लागि नै सकेँ..तपाईहरु साथ दिनुहुन्छ भनेर भन्न चाहन्छु” भनेका छन्।
क्याप्सनमा रवि लामिछानेलाई साथ दिन सडकमा आउन आग्रह गरेको दावी गरेतापनि भिडियो क्लिपमा दाहालले लामिछानेको नाम उल्लेख गरेको सुनिन्न।
तथ्य के हो ?
यो विषयमा तथ्यजाँँच गर्नका लागि हामीले पूर्व प्रधानमन्त्री दाहाल पछिल्लो समय के कस्ता कार्यक्रममा सहभागी भए भनेर उनकै सामाजिक सञ्जाल फेसबुक हेर्यौँ।
त्यो क्रममा गणतन्त्र सेनानी कोषले मंसिर १९ गते सांस्कृतिक संस्थान जमलमा गणतन्त्र सेनानी सम्मान २०८१ कार्यक्रम गरेको थाहा पायौँ।
हेर्नुस्, स्क्रिनसट
यो कार्यक्रममा पुष्पकमल दाहालले गरेको भाषण लाइभ गरिएको थियो।
लाइभमा देखिएका पुष्पकमल दाहालको ड्रेस अप, मञ्च, भिडियो रेकर्ड गर्न आएका सञ्चार माध्यमका लोगो र Kapil_khadka_1 नामक टिकटकमा अपलोड गरिएको भिडियो दुरुस्तै थियो।
हामीले यो कार्यक्रममा पूर्व प्रधानमन्त्री दाहालले पूर्व गृहमन्त्री लामिछानेको समर्थनमा सडकमा आउन आग्रह गरेका हुन् कि होइनन् भनेर थाहा पाउन लगभग १४ मिनेट लामो अडियो पूरै सुन्यौँ।
तर, दाहालले उक्त भाषणमा कहीँ कतै रवि लामिछानेको समर्थनमा सडकमा आउन समर्थन गरेका छैनन्।
दाहालले कार्यक्रमममा … ‘माओवादी पार्टीले कसैको वैशाखी टेक्दैन, आफ्नै खुट्टामा उभिएर लड्छ र माओवादीलाई अपमानित गर्नेका विरुद्ध लड्छौँ भनेर अगाडि बढेको छु’ भनेका छन् ।
सोही प्रसंगलाई निरन्तरता दिने क्रममा दाहालले ‘ म त अगाडि बढी नै सकेँ कमरेडहरु.. मैले अहिले यो भन्दा धेरै भन्दिनँ, मलाई साथ दिनुहुन्छ भनेर भन्न चाहन्छु’ भनेका छन्।
हामीले तथ्यजाँचको क्रममा यही प्रसङ्गको भिडियो क्लिप Kapil_khadka_1 ले राखेको क्लिपसँग दुरुस्तै मिलेको पायौँ।
हेर्नुस्, स्क्रिनरेकर्ड
Kapil_khadka_1 ले दाहालले बोलेको अगाडिको प्रसंग नराखिकन यही भिडियो क्लिपलाई काटेर भ्रामक क्याप्सन राखेर भिडियो बनाएका छन्।
त्यसैले Kapil_khadka_1 को दावी भ्रामक छ।
तथ्यजाँच
दावी : पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा प्रहरी नियन्त्रणमा रहेका पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेको पक्षमा सडकमा आउन आग्रह गरे।
दावीकर्ता : Kapil_khadka_1 नामक टिकटक प्रयोगकर्ता।
तथ्यजाँच : भ्रामक सूचना। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र सेनानी २०८१ कार्यक्रममा भाषण गर्ने क्रममा रास्वपाको सभापति रवि लामिछानेको पक्षमा सडकमा आउन आग्रह गरेका छैनन्। Kapil_khadka_1 नामक टिकटक प्रयोगकर्ताले दाहालले बोलेको फरक प्रसङ्गको विचारलाई गलत क्याप्सन राखेका पोस्ट गरेका हुन् । त्यसैले Kapil_khadka_1 दावी भ्रामक हो।