- सागर बुढाथोकी
- मंसिर २५, २०८१
थेसिस फ्याँकेको फोटो नेपालको होइन नाइजेरियाको
विश्वविद्यालयको शोधपत्र बेवारिस ढंगले फ्याँकेको फोटो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। सो पोस्टमा धेरैले नेपालको भन्दै कमेन्ट पनि गरेका छन्। तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक ठहर गरेको छ।
यो फोटो नेपालको नभई नाइजेरियाको युनिभर्सिटी अफ कालबारको हो।
के छ दावी ?
फेसबुकमा २८ हजार भन्दा बढी फलोअर्स भएका राजु भुसालले अंग्रेजी भाषामा ‘फाइनल डेस्टिनेशन अफ योर थेसिस एण्ड रिसर्च पेपर’ क्याप्सन राखेर एउटा फोटो पोस्ट गरेका छन्।
फोटोमा विश्वविद्यालयको शोधपत्रजस्तै देखिने कालो रङको कभर भएको डकुमेन्टहरु छरपस्ट छन्। त्यो दृश्य नेपालकै रहेको अर्थ लाग्ने किसिमले अधिकांशले कमेन्ट गरेका छन्।
त्यसैले हामीले यो पोस्टको तथ्यजाँच गरेका छौँ।
हेर्नुस्, स्क्रिनसट। अर्काइभ लिंक
यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा २१ सय रियाक्सन छ भने २१७ वटा कमेन्ट र १४६ पटक सेयर गरिएको छ।
तथ्य के हो ?
यो विषयको तथ्यजाँच गर्नको लागि हामीले उक्त फोटोलाई गुगलमा रिभर्स इमेज सर्च गर्यौँ।
त्यो क्रममा सन् २०१६ डिसेम्बर ५ मा ‘Photo: See how authorities of the University of Calabar thrashed project works of their past students’ शीर्षकमा प्रकाशित एउटा ब्लग फेला पार्यौँ।
उक्त ब्लगका अनुसार, युनिर्सिटी अफ कालाबारले आफ्ना पुराना विद्यार्थीको थेसिस मिल्काउने निर्णय गरेको थियो।
तथ्यजाँचको क्रममा नाइजेरिया न्यूज हेडलाइन टूडेले सोही शीर्षकमै छापेको एउटा समाचार फेला पार्यौँ।
हेर्नुस्, स्क्रिनसट। अर्काइभ लिंक
नाइजेरिया न्यूज हेडलाइन टू डे र उक्त ब्लगमा राजु भुसालले पोस्ट गरेको फोटो सहित सोही किसिमको अन्य तीन वटा फोटो पनि राखिएको छ।
पहिलो फोटो राजु भुसालले पोस्ट गरेको फोटोसँग मिल्छ।
दोस्रो फोटो
तेस्रो फोटो :
अन्य फोटो भन्दा चौथो फोटो प्रष्ट थियो । हामीले त्यो फोटोलाई जुम गरेर हेर्यौँ। फोटोलाई जुम गरेर हेर्दा, – युनिभर्सिटी अफ कालाबार लेखेको देख्यौँ ।
हेर्नुस्, स्क्रिनसट
त्यस्तै, उक्त ब्लगमा फोटोको स्रोत ‘Franklin Okechukwu Onwubiko’ लेखेको छ। हामीले फेसबुकमा सर्च गर्दा उनले सन् २०१६ डिसेम्बर ३ मा उक्त फोटो हालेको भेट्यौँ।
हेर्नुस्, स्क्रिनसट
यो विषयमा नेपालफ्याक्टचेकले २०७७ पुस २४ गते तथ्यजाँच गरिसकेको छ।
तथ्यजाँच
दावी : विश्वविद्यालयको थेसिस पेपर बेवारिसे ढंगले फालिन्छ।
दावीकर्ता : राजु भुसाल नामक फेसबुक प्रयोगकर्ता।
तथ्यजाँच : भ्रामक सूचना। राजु भुसालले नेपालकै विश्वविद्यालयको थेसिस बेवारिसे ढंगले फालेको अर्थ लाग्ने किसिमले उक्त फोटो सेयर गरेका छन् । तर, हाम्रो तथ्यजाँचको क्रममा उक्त दावी भ्रामक रहेको पुष्टि भयो । उक्त फोटो नाइजेरियाको हो।