तथ्यजाँच मिथ्या सूचना वागमती सम्बन्धित प्रदेश

सावधान ! ब्याङ्क खाता भाडामा दिन मिल्दैन, विज्ञापनको दावीमा नफँस्नुहोस्


सावधान ! ब्याङ्क खाता भाडामा दिन मिल्दैन, विज्ञापनको दावीमा नफँस्नुहोस्

आफ्नो ब्याङ्कको खाता, एटिएम तथा क्रेडिट कार्ड भाडामा लगाएर पैसा कमाउन सकिने दाबी गरिएको एउटा फेसबुक विज्ञापन भाइरल भएको छ।

तर हाम्रो तथ्यजाँचले यो दाबी मिथ्या रहेको ठहर गरेको छ। ब्याङ्कको खाता तथा कार्ड भाडामा लगाउन मिल्दैन।

के हो दाबी?

सन् २०२४ को मे महिनामा खोलिएको NPR Rental Agent नामक फेसबुक पेजले गत २७ मे, २०२४ मा एउटा विज्ञापन पोस्ट गरेको छ ।

नेपालका सबैजसो ब्याङ्कको कार्ड वा खाता नै भाडामा दिन सकिने उल्लेख गरिएको उक्त विज्ञापनको कमेन्टमा मासिक रु २३ हजारसम्म कमाउन सकिने दाबी गरिएको छ।

उक्त पेजले सो विज्ञापनलाई पटक-पटक बुस्ट गरेको  छ। बुस्ट गर्नुको अर्थ पोस्ट गरेको सामग्री जस्तै फोटो, भिडियो, स्टाटसलाई धेरै मानिससम्म पुर्‍याउन पैसा तिरेर प्रचार गर्नु हो।

यो तथ्यजाँच तयार पार्दासम्म सो विज्ञापनमा ४ हजार ५ सय रियाक्सन र २४६ कमेन्ट छन् भने २५ पटक सेयर गरिएको छ।

हेर्नुस्, स्क्रिनसट

के हो तथ्य?

यो विषयको तथ्यजाँच गर्नका लागि हामीले सुरुमा यो फेसबुक पेजको गतिविधि सूक्ष्म ढङ्गले नियाल्यौँ। उक्त फेसबुक पेजमा यो तथ्यजाँच गर्दासम्म जम्मा दुई वटा पोस्ट गरेको भेटियो। जसमा एउटा प्रोफाइल फोटो परिवर्तन थियो भने अर्को ब्याङ्क खाता भाडामा लगाउन मिल्ने भन्ने दाबी गरिएको विज्ञापन।

त्यस्तै, यो पेज मलेसियाबाट ३ जना र बङ्गलादेशबाट १ जनाले चलाइरहेको देखियो।

हेर्नुस्, स्क्रिनसट

कानुनी रूपमा कुनै ब्याङ्क खाता अथवा कार्ड भाडामै लगाउन सकिन्छ त ?

यो विषयमा बुझ्न हामीले नेपाल राष्ट्र ब्याङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यलाई सोध्यौँ। व्यक्तिगत कारोबारका लागि खोलिएको ब्याङ्क खाता भाडामा लगाउने कुनै कानुनी व्यवस्था नरहेको उनले बताए।

ब्याङ्क खाता तथा कार्ड भाडामा लगाउन सकिने र त्यसबापत मासिक रूपमा कमाउन सकिने विज्ञापन  सूचना-प्रविधि मार्फत ब्याङ्किङ सेक्टरमा भइरहेका अपराध हुनसक्ने उनको भनाइ थियो।

हामीले यसबारे थप जानकारी लिन नेपाल प्रहरी, साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीलाई सोध्यौँ। ठगी गर्नको लागि त्यस्तो किसिमको पोस्ट बनाएर भ्रम फैलाएको हुनसक्ने अवस्थीले बताए।

यस्ता भ्रमपूर्ण विज्ञापनबाट मानिसहरू ठगिन सक्ने भएकाले सचेत रहन आग्रह गर्दै संलग्न व्यक्तिलाई साइबर अपराधमा कारबाही हुनसक्ने उनले बताए।

यसर्थ, ब्याङ्क खाता अथवा कार्ड भाडामा लगाएर मासिक रकम कमाउन सकिने दाबी मिथ्या सूचना हो।

तथ्यजाँचः

दाबी: ब्याङ्क खाता तथा कार्ड भाडामा लगाएर कमाउन सकिने।

दाबीकर्ताः NPR Rental Agent नामक फेसबुक पेज।

तथ्यजाँचः मिथ्या सूचना। नेपालमा ब्याङ्क खाता भाडामा लगाउन मिल्ने गरी कुनै कानुनी व्यवस्था नै छैन। मलेसियाबाट ३ जना र बङ्गलादेशबाट १ जनाले चलाइरहेको फेसबुक पेजबाट नेपालको कानुनमा व्यवस्था नै नभएको विषयलाई लिएर मिथ्या सूचना फैलाइएको हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add