तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

एबीसी टिभीले डोनाल्ड ट्रम्पलाई १५ करोड होइन, डेढ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने


एबीसी टिभीले डोनाल्ड ट्रम्पलाई १५ करोड होइन, डेढ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार प्रकाशित/प्रसारित गरेपछि एबीसी टिभी च्यानलले १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने दाबी गर्दै समाचारहरू प्रकाशित भएका छन्।

तर, हाम्रो तथ्यजाँचले यो दाबी भ्रामक रहेको ठहर गरेको छ। एब‍ीसी टिभी च्यानलले अमेरिकी राष्ट्रपति ट्रम्पलाई १ करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको हो।

के छ दाबी ?

मङ्सिर ३० गते उकेरा अनलाइनले ‘ट्रम्पलाई बलात्कारीको ‘गलत’ आरोप लगाउँदै समाचार बजाएपछि एबीसी टिभीले तिर्‍यो १५ करोड डलर’ शीर्षकमा समाचार प्रकाशित गर्‍यो।

समाचारमा  एबीसी टिभी च्यानलका स्टार प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चको एक कार्यक्रममा ट्रम्पले एक महिलालाई बलात्कार गरेको आरोप लगाएको उल्लेख छ। समाचार अनुसार, उनको त्यो अभिव्यक्ति विरुद्ध मानहानिको मुद्दा परेपछि एबीसी टिभी च्यानलले ट्रम्पलाई १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्न तयार भएको हो।

स्क्रिनसट। अर्काइभ लिंक

त्यस्तै, लोकान्तर अनलाइनले ‘टिभी च्यानलले डोनाल्ड ट्रम्पलाई १५ करोड डलर क्षतिपूर्ति तिर्नुपर्ने’ शीर्षकमा सोही आशयको समाचार प्रकाशित गरेको छ।

हेर्नुस्, स्क्रिनसट । अर्काइभ लिंक

तथ्य के हो ?

यो विषयको तथ्यजाँच गर्नका लागि हामीले गुगलमा ‘trump abc news lawsuit’ कीवर्ड राखेर सर्च गर्‍यौँ।

सो क्रममा बिबिसी डटकममा ‘Trump gets $15m in ABC News defamation case’ शीर्षकमा प्रकाशित समाचार भेट्यौँ । 

हेर्नुस्, स्क्रिनसट

उक्त समाचार अनुसार, एबीसी टेलिभिजनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १५ मिलियन डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ।

ट्रम्पले एबीसी टेलिभिजनलाई १५ मिलियन अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने उल्लेख गरेर सिएनएन, एपी न्यूज र एबीसी लगायतले समाचार प्रकाशित गरेको छ।

हेर्नुस्, स्क्रिनसट

अर्थात्, १५ मिलियन डलर भनेको १५ करोड डलर नभएर १ करोड ५० लाख डलर हो । हामीले १५ मिलियन अमेरिकी डलरलाई नेपाली रुपैयाँमा कन्भर्ट गर्‍यौँ।

हेर्नुस्, स्क्रिनसट

त्यसो गर्दा अहिलेको रेट अनुसार, लगभग १५ मिलियन अमेरिकी डलरको दुई अर्ब २८ लाख ४७७ हजार हुन आउँछ।

त्यसैले, उकेरा र लोकान्तर अनलाइनले गरेको दाबी भ्रामक छ।

तथ्यजाँच

दाबी : एबिसी टिभी च्यानलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने।

दाबीकर्ता : उकेरा र लोकान्तर लगायतका अनलाइन सञ्चार माध्यम।

तथ्यजाँच : भ्रामक सूचना। डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार प्रकाशित/प्रसारित गरेपछि एबीसी टिभी च्यानलले १५ मिलियन अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने उल्लेख गरेर बिबिसी, एपीजस्ता विश्वसनीय सञ्चार माध्यमले समाचार लेखेका छन्। १५ मिलियन डलर भनेको एक करोड ५० लाख डलर हो। त्यसैले उकेरा र लोकान्तरले १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भनेर गरेको दाबी भ्रामक हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add