- प्रविण भट्ट
- पुस ४, २०८१
प्रधानमन्त्री ओलीमाथि आक्रमण गरिएको भन्ने भिडियो एक वर्ष पुरानो
प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापड हानिएको दावी सहित एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा फैलिएको छ। भिडियोमा सुरक्षा घेराभित्र रहेका प्रधानमन्त्री ओलीमाथि आक्रमणको प्रयास भएको देखिए तापनि हाम्रो तथ्यजाँचमा यो भिडियो भ्रामक भएको पाइएको छ।
के हो दावी?
३५ हजार फलोअर रहेको ज्ञानप्रसाद पाण्डे नामको फेसबुक प्रयोगकर्ताले गत डिसेम्बर १७ तारिख अर्थात् पुष २ गते फेसबुकमा “के पि ओलि लाइ कस्ले झाप्पु हान्यो फेरि” क्याप्सन राखेर भिडियो अपलोड गरेका छन्। भिडियोमा सुरक्षा घेरामा रहेका प्रधानमन्त्री ओलीलाई फुल गुच्छा दिने क्रममा एक जनाले आक्रमण गर्ने प्रयास गरेको देख्न सकिन्छ। आक्रमण प्रयास गर्ने युवकलाई सुरक्षाकर्मी तथा अन्य व्यक्तिहरूले नियन्त्रणमा लिएको भिडियोमा देखिन्छ।
यो तथ्यजाँच तयार पार्दा सम्म १ लाख ७६ हजार पटक हेरिएको भिडियोमा १ हजार ५ सय जनाले रियाक्ट गरेका छन् भने ६ सय ९९ पटक सेयर गरिएको छ। भिडियोमा ३ सय ३१ वटा कमेन्ट रहेको छ।
हेर्नुस्, स्क्रिनसट
हेर्नुस्, स्क्रिनरेकर्ड
यसैगरी, पुष २ गते नै सोही भिडियो “ओलि लाई आज बिहान धनकुटामा हातपात भएको छ!” भन्ने दावी सहित बिषराम बोहरा नामको फेसबुक प्रयोगकर्ताले पोस्ट गरेका हुन्।
यो तथ्यजाँच तयार पार्दा १५ लाख पटक हेरिएको उक्त भिडियोमा ४ हजार ३ सय रियाक्सन रहेको छ भने ४ हजार पटक सेयर गरिएको छ। त्यस्तै, १ हजार कमेन्ट रहेका छन्।
हेर्नुहोस स्क्रिनसट
यसैगरी पुष २ गतेकै दिन सोही भिडियो बनेपाको भएको दावी सहित सुरेश भट्ट आश्रिन नामको फेसबुक प्रयोगकर्ताले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका हुन्।
यो तथ्यजाँच तयार पार्दा ६ हजार ५ सय पटक हेरिएको उक्त भिडियोमा ६० रियाक्सन रहेको छ भने ७ पटक सो भिडियो सेयर गरिएको छ। भिडियोमा ३१ कमेन्ट रहेका छन्।
हेर्नुहोस स्क्रिनसट
सोही भिडियो अन्य प्रयोगकर्ताले पनि सामाजिक सञ्जाल फेसबुकमा राखेको यहाँ, यहाँ, यहाँ, र यहाँ हेर्न सकिन्छ।
के हो तथ्य?
यो भिडियोको तथ्यजाँच गर्नका लागि हामीले उक्त भिडियोको स्क्रिनसट गरेर रिभर्स ईमेज सर्च गर्यौं।
रिभर्स इमेज सर्च गरेर हेर्दा १ वर्ष पहिले डिसेम्बर १४, २०२३ (२०८०, मङ्सिर २८ गते) अन्नपूर्ण पोस्टको युट्युब च्यानलमा अपलोड गरिएको भिडियो भेटियो। “धनकुटामा एमाले अध्यक्ष केपी ओलीमाथि आक्रमण प्रयास” भन्ने शीर्षकमा राखिएको भिडियो र प्रधानमन्त्री ओलीलाई झापड हानिएको भन्ने दावी गरिएको भिडियो एकै भएको हामीले पायौँ।
हेर्नुस्,अन्नपुर्ण पोष्टको युट्युव च्यानलमा प्रकाशित भिडियो।
हेर्नुस्, स्क्रिनसट
युट्युबमा भेटिएको भिडियोको शीर्षक हामीले गुगलमा खोजेर हेर्दा हिमाल खबरले २०८०, मङ्सिर २८ गते प्रकाशित गरेको एक समाचार फेला पार्यौँ । झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं.५, लेगुवामा महेश राई भन्ने व्यक्तिले आक्रमण प्रयास गरेको समाचारमा उल्लेख गरिएको हो।
हेर्नुहोस हिमाल खबरमा प्रकाशित समाचारको अर्काईभ
गत वर्ष मङ्सिर २८ गते अन्य मिडियाले प्रकाशित गरेको सोही समाचार यहाँ, यहाँ, यहाँ र यहाँ हेर्न सकिन्छ।
यसर्थ, एक वर्ष पुरानो भिडियोलाई सन्दर्भ लुकाएर पुनः प्रधानमन्त्री ओलीलाई थप्पड हानिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा भिडियो फैलाइएको हो।
भाइरल दावीकर्ता मध्ये ज्ञानप्रसाद पाण्डे नामको फेसबुक प्रयोगकर्ताले गत भदौ १४ मा बङ्गलादेशको एक भिडियोलाई राजसंस्थाको समर्थनमा सेनाले नारा लगाएको भन्दै मिथ्या सूचना फैलाएका थिए। उक्त तथ्यजाँच यहाँ पढ्न सकिन्छ।
तथ्यजाँच
दावी: प्रधानमन्त्री केपी शर्मा ओलीलाई झापड हानिएको।
दावीकर्ताः भाईरल फेसबुक पोस्ट।
तथ्यजाँचः भ्रामक सूचना। प्रधानमन्त्री ओलीलाई थप्पड हानिएको दावी गर्दै फेसबुकमा राखिएको भिडियो एक वर्ष पुरानो हो। झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा धनकुटाको लेगुवामा एक वर्ष अगाडी भएको आक्रमण प्रयासलाई थप्पड हानिएको दावी सहित सामाजिक सञ्जाल फेसबुकमा फैलाइएको हो।