तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

भ्रममा नपर्नुस्, केही सेकेण्ड सास रोक्दैमा फोक्सो स्वस्थ भए/नभएको थाहा हुँदैन


भ्रममा नपर्नुस्, केही सेकेण्ड सास रोक्दैमा फोक्सो स्वस्थ भए/नभएको थाहा हुँदैन

केही सेकेण्ड सास रोक्न सके फोक्सो स्वस्थ भएको/नभएको थाहा पाउने दावी गरिएको एउटा भिडियो फेसबुकमा भाइरल भएको छ।

तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक रहेको ठहर गरेको छ। केही सेकेण्ड सास रोक्दैमा फोक्सो ठीक भए/नभएको थाहा पाउन सकिन्न।

के छ दावी ?

३४ हजार फलोअर्स रहेको गणेश दुलाल नामक फेसबुक प्रोफाइलमा डिसेम्बर १५ मा ‘हजुरहरुको फोक्सो ठीक छ ? चेक गर्नुहोस्’ क्याप्सन राखेर एउटा ४० सेकेण्ड लामो भिडियो पोस्ट गरिएको छ।

भिडियोको स्क्रिनमा ‘A देखि B सम्म सास रोक्न सक्नु भयो भने तपाईँको फोक्सो स्वस्थ छ’ लेखिएको छ। भिडियोमा ए र बी अक्षरलाई दायाँ र बायाँ एउटा धर्कोले जोडेर केही दूरीमा राखिएको छ। र, ए देखि बीसम्मको दुरीमा एउटा थोप्लो सरेको देखिन्छ।

‘ए देखि बीसम्म उक्त थोप्लो पुगुञ्जेल सास रोक्न सके फोक्सो स्वस्थ भएको मानिने’ भिडियोमा देखिने व्यक्तिले भनिरहेका छन्। उनले ‘त्यतिन्जेल सास रोक्न नसके एक पटक डक्टरलाई भेट्नुहोला’ समेत भनेका छन्।

हेर्नुस्, स्क्रिनरेकर्ड-

 

यो तथ्यजाँच गर्दासम्म उक्त भिडियोमा २९ सय रियाक्शन, ७५४ कमेण्ट र ९७४ पटक सेयर गरिएको छ। यो संख्याले भिडियो सामाजिक सञ्जालमा भाइरल भएको देखाउँछ। 

तथ्य के हो ?

यो भिडियोको बारेमा तथ्यजाँच गर्नका लागि हामीले गुगल फ्याक्टचेक एक्सप्लोररमा ‘Lung test breath’ कीवर्ड राखेर सर्च गर्‍यौँ।

सो क्रममा फ्याक्ट्ली नामक संस्थाले ‘This viral breathing test does not help you measure your lung health’ शीर्षकमा प्रकाशित तथ्यजाँच भेट्यौँ।

स्क्रिनसट

 

उक्त तथ्यजाँच अनुसार, यस्ता दावीहरु कोरोना महामारीको समयमा कोरोना भाइरसको संक्रमण र फोक्सो सम्बन्धित रोगसित जोडेर भाइरल गराइएको थियो।

विश्व स्वास्थ्य संगठनले पनि केही समय सास रोक्न सके कोरोना भाइरसको संक्रमण र फोक्सो सम्बन्धि रोग नभएको थाहा हुने दावी भ्रामक रहेको उल्लेख गरेको छ। 

यद्यपि, ब्रेथ होल्डिङ टेस्ट भनेर चिनिने परीक्षण विभिन्न स्वास्थ्य जटिलताहरू परीक्षण गर्न प्रयोग गरिने र यो प्रयोग गर्दा चिकित्सकको निगरानी र अन्य विभिन्न परीक्षण पनि हुन्छ। त्यसैले उक्त पोस्टमा गरिएको दाबी भ्रामक रहेको फ्याक्टलीले उल्लेख गरेको छ।

हामीले यो विषयमा थप बुझ्नका लागि गुगलमा ‘Lung test breath’ कीवर्ड राखेर सर्च गर्‍यौँ।

सो क्रममा साइन्स डाइरेक्टमा प्रकाशित एउटा जर्नल आर्टिकल भेट्यौँ । उक्त आर्टिकल अनुसार, प्रत्येक मानिसको सास फेर्ने ढाँचा- दुखाई, भावना, शरीरको तापक्रम,  शरीरको गतिविधि र विभिन्न रोग अनुसार फरक हुन्छ ।

अर्काइभ लिंक।

यो विषयमा विभिन्न फ्याक्ट चेकिङ संस्थाले गरेको तथ्यजाँच यहाँ, यहाँ, यहाँ, यहाँयहाँ हेर्न सकिन्छ।

तथ्यजाँच

दावी : केही सेकेण्ड सास रोक्न सकियो भने फोक्सो स्वस्थ भए/नभएको थाहा हुन्छ।

दावीकर्ता : गणेश दुलाल (फेसबुक प्रयोगकर्ता)

तथ्यजाँच : भ्रामक सूचना। विश्व स्वास्थ्य संगठनले केही समय सास रोक्न सके फोक्सो स्वस्थ भए/नभएको थाहा हुने दावी भ्रामक रहेको उल्लेख गरेको छ। त्यस्तै, विभिन्न तथ्यजाँच संस्थाले तथ्यजाँच गर्दै यो दावी भ्रामक रहेको निश्कर्षमा पुगेका छन्। 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add