तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

मंगलबारको भूकम्पको दृश्य दावी गर्दै भाइरल भएको भिडियो एक वर्ष पुरानो


मंगलबारको भूकम्पको दृश्य दावी गर्दै भाइरल भएको भिडियो एक वर्ष पुरानो

पुस २३ गते बिहान चीन केन्द्रबिन्दु भई गएको भूकम्पले नेपालमा समेत धक्का महसुस भयो।  सोही भूकम्पको दृश्य भएको दावीसहित एउटा भिडियो फेसबुकमा भाइरल भएको छ।

तर हाम्रो तथ्यजाँचमा सो दावी भ्रामक भएको पाइएको छ। भिडियो चीनको नभई जापानको र हालैको नभई एक वर्ष पुरानो हो। 

के हो दावी?

फेसबुकमा पुस २३ गते बिहान चीनमा गएको भूकम्पको भएको दावीसहित भाइरल भिडियोमा सडकमा एक व्यक्ति साइकल सँगै रहेको र धेरैबेर भूकम्पले हल्लाएपछि एक घर भत्किएको देखिन्छ।

सुक्रिम दाहाल नामक फेसबुक प्रयोगकर्ताले पुस २३ गते चीनमा केन्द्रबिन्दु भएर गएको भूकम्पको दावी गर्दै सो भिडियो सेयर गरेका छन्। यो तथ्यजाँच तयार पार्दासम्म १२८ जनाले रियाक्ट गरेको उक्त भिडियो ७४ पटक सेयर गरिएको हो।

हेर्नुहोस फेसबुकमा भाइरल भएको भिडियो

सोही भिडियो सामाजिक सञ्जाल फेसबुकमा धेरै जनाले पोस्ट गरेका छन्।

शर्मा सफल नामक फेसबुक प्रयोगकर्ताले चीनमा गएको भूकम्पको भिडियो भन्ने दावी सहित सोही भिडियो पोस्ट गरेका हुन्। शर्माले पोस्ट गरेको भिडियोमा रियाक्सन कति छन् भनेर हेर्न नमिल्ने बनाइएको छ, तर सो पोस्ट १७९ पटक सेयर गरिएको छ।

हेर्नुहोस स्क्रिनसट

यसैगरी, क्रिकइन्फो नेपाल नामक फेसबुक पेजले चीनमा गएको भूकम्प र त्यसले पुऱ्याएको क्षति भन्ने दावीसहित सोही भिडियो पोस्ट भएको छ। यो तथ्यजाँच तयार पार्दा सम्म ७२ ‍जनाले लाइक गरेको पोस्ट ४८ जनाले सेयर गरेका छन्।

हेर्नुहोस स्क्रिनसट

के हो तथ्य?

भाइरल भिडियोको स्क्रिनसट हामीले गुगलमा रिभर्स इमेज सर्च गरेर हेर्‍यौँ। यस क्रममा २०२४ फेब्रुअरी २ (माघ १९, २०८०) मा अपलोड गरिएको एउटा भिडियो युट्युवमा भेटियो।

हेर्नुहोस स्क्रिनसट-

युट्युवमा भेटिएको उक्त भिडियो र पुस २३ गते चीनमा गएको भूकम्पको भनिएको भिडियो दुरुस्तै मिल्यो। तर सो भिडियोको शीर्षक अर्कै भाषामा थियो। सो भिडियोको शीर्षकलाई कपि गरेर गुगल ट्रान्सलेटमा राखेर हेर्दा जापानी भाषा भएको थाहा भयो, साथै भिडियो सोजु र होरित्सु भन्ने ठाउँमा गएको भूकम्पका बारेमा भएको हामीले थाहा पायौं।

हेर्नुहोस गुगल ट्रान्सलेटको स्क्रिनसट

हामीले जापानी भाषामा लेखिएको शीर्षकलाई नै गुगलमा सर्च गरेर हेर्‍यौँ। सर्च गरेर हेर्दा ए एन एन नामक समाचार संस्थाले ८ फेब्रुअरी २०२४ (माघ २५, २०८०) मा युट्युबमा अपलोड गरेको एक भिडियो भेटियो। भिडियोको सुरुवातमै पुस २३ गते चीनमा गएको भन्ने दावीसहित नेपालमा फैलिएको भिडियोसँग मिलेको हामीले पायौँ।  भिडियोको विवरण गुगल ट्रान्सलेटमार्फत् पढ्दा जापानमा गएको भूकम्पको भिडियो भएको बुझिन्छ। जनवरी १, २०२४ मा जापानमा गएको भूकम्पबारे सो विवरणले विस्तृत बताएको छ।

हेर्नुहोस स्क्रिनसट-

हामीले यसबारे थप बुझ्न जापानमा गत वर्ष गएको भूकम्प बारे खोजी गर्‍यौँ। सीएनएनले लाइभ कभरेज गरेको समाचार मा जनवरी १, २०२४ मा गएको भूकम्पबारे लेखिएको समेत हामीले पायौं।

सीएनएनले तयार पारेको समाचारको अर्काइभ लिङ्क

तसर्थ, हालै चीनमा गएको भूकम्प भएको दावी गरिएको भिडियो चीनको नभई एक वर्ष अगाडि जापानमा गएको भूकम्पको हो। 

तथ्यजाँच

दावीः चीनमा पुस २३ गते गएको भूकम्पको दृश्य समावेश भएको भिडियो।

दावीकर्ताः फेसबुक प्रयोगकर्ता।

तथ्यजाँचः भ्रामक सूचना। सो भिडियो चीनको होइन, जापानमा गत वर्ष गएको भूकम्पको हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add