- प्रविण भट्ट
- पुस २९, २०८१
“टेस्ला फोन आइसक्यो, नेपालमा बिक्री भइरहेको छ” भन्ने दावीको वास्तविकता के हो?
एलन मस्कको कम्पनी टेस्लाले बनाएको फोन नेपालमा बिक्री भइरहेको भन्दै टिकटकमा एउटा भिडियो भाइरल भएको छ। उक्त भिडियोमा “नटुट्ने/नफुट्ने” टेस्ला फोन भन्दै एक मोबाइल देखाइएको छ।
तर, हाम्रो तथ्यजाँचले यो दावी मिथ्या सूचना रहेको पुष्टि गरेको छ। भाइरल भएको यो फोन टेस्लाको नभई अर्कै कम्पनीको उत्पादन हो।
के हो दावी?
Bigsmartshop19 नामक टिकटक प्रयोगकर्ताले अपलोड गरेको भिडियोमा, “सोलारबाट चार्ज हुने टेस्ला फोन आइसकेको” भन्दै नटुट्ने/नफुट्ने बलियो फोन प्रस्तुत गरिएको छ। भिडियोको अग्रभागमा रोमन नेपालीमा “एलन मस्क अब हुने भयो सक” लेखिएको छ।
भिडियोमा बोल्ने व्यक्तिले फोनलाई भूइँमा खस्दा केही नहुने दावी गरेका छन्। क्याप्सनमा फोनको मूल्य ३५ हजार रहेको उल्लेख गरिएको छ।
हेर्नुस् स्क्रिनसट-
स्क्रिनरेकर्ड हेर्न यहाँ क्लिक गर्नुस्
यो तथ्यजाँच तयार पार्दासम्म ८२ हजार १ सय जनाले ‘लाइक’ गरेको भिडियोमा १ हजार ३ सय २४ कमेन्ट छन् भने ९ हजार ७ सय ८० पटक उक्त भिडियो सेयर गरिएको छ।
के हो तथ्य?
हामीले दावी गरिए अनुसार सोलारबाट चार्ज गर्न मिल्ने टेस्ला कम्पनीको फोनबारे बुझ्न “टेस्ला फोन”, “unbreakable tesla phone”, “tesla solar charged phone” की-वर्ड राखेर गुगलमा सर्च गर्यौँ। यस क्रममा कुनै आधिकारिक निकायबाट यो फोनबारे कुनै जानकारी भेटिएन।
नेपाल तथ्यजाँचले गत पुस १० गते गरेको तथ्यजाँचमै एलन मस्कको कम्पनी टेस्लाले कुनै फोन सार्वजनिक नगरेको स्पष्ट पारिसकेको छ। हेर्नुस् तथ्यजाँच
भिडियोमा देखिएको फोन कुन त?
भिडियोको सूक्ष्म अध्ययन गर्दा, ९ सेकेन्डमा फोनको बाकसबाट निस्किएको कागजमा “BLACKVIEW” लेखिएको देखियो। ७ सेकेन्डमा भिडियोमा देखिने व्यक्तिले सो फोनको लेबल छोप्ने प्रयास गर्दैगर्दा पनि फोनमै “BLACKVIEW” ब्रान्ड स्पष्ट देख्न सकिन्छ।
हेर्नुस् स्क्रिनसट
यसबारे थप बुझ्न हामी गुगलमा सर्च गरेर सो फोनको वेबसाइटमा पुग्यौं। सो वेबसाइटमा उपलब्ध विभिन्न मोडेलमध्ये केही मोडेलहरु भाइरल भिडियोमा देखाएजस्तै रहेका छन्। कम्पनीको वेबसाइटको ‘अबाउट’मा राखिएको जानकारी अनुसार ब्ल्याकभ्युको मुख्य कार्यालय हङकङमा रहेको छ भने यसको कारखाना चीनमा छ।
हेर्नुस् स्क्रिनसट-
यसर्थ उक्त फोन एलन मस्कको कम्पनी टेस्लाले बनाएको नभएर ब्ल्याकभ्यु नामको कम्पनीले बनाएको हो।
तथ्यजाँच
दावीः एलन मस्कको कम्पनी टेस्लाले बनाएको फोन नेपालमा बिक्री वितरण भइरहेको।
दावीकर्ताः Bigsmartshop19 नामको टिकटक प्रयोगकर्ता।
तथ्यजाँचः मिथ्या सूचना। एलन मस्कको कम्पनी टेस्लाले कुनै फोन सार्वजनिक गरेको छैन। भिडियोमा देखाइएको फोन ब्ल्याकभ्यु नामको फोन हो।