- सागर बुढाथोकी
- माघ ८, २०८१
प्रधानमन्त्री ओली र झाँक्री जस्तै देखिने भाइरल भिडियो ‘डिपफेक’ प्रविधिबाट बनाइएको नक्कली
प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्री देखिने एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ।
तर, हाम्रो तथ्यजाँचले उक्त भिडियो ‘डिपफेक’ प्रविधि उपयोग गरी जोसुकैले बनाउन सक्ने गरी सार्वजनिक रुपमा उपलब्ध वेबसाइटबाट तयार पारेको प्रष्ट भएको छ।
के छ दावी ?
५० हजार फलोअर्स भएको अनिल राई नामको फेसबुक पेजमा जनवरी ९ मा अपलोड गरिएको भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री जस्तै देखिने व्यक्तिहरु देखिन्छन्। भिडियोमा दुई व्यक्तिले सार्वजनिक रुपमा गर्न नहुने हर्कत गरेको झैँ देखिन्छ।
हामीले तथ्यजाँच गर्दासम्म उक्त भिडियोमा १९ हजार छ सय रियाक्सन छ भने ३५८ कमेन्ट र ७०९ पटक सेयर गरिएको छ।
हेर्नुस्, स्क्रिनसट
(सार्वजनिक शिष्टाचार विपरीत तयार पारिएको कारण हामीले तथ्य जाँचका लागि पनि यो भिडियो यहाँ राखेका छैनौँ)
तथ्य के हो ?
भिडियो डिपफेक प्रविधिबाट तयार पारिएको बुझ्नलाई हामीले भिडियोमा देखिएका केही विषयलाई आधार मानेका छौँ।
उदाहरणका लागि भिडियोमा देखिने प्रधानमन्त्री ओली र झाँक्रीको हात स्वभाविक छैन।
प्रधानमन्त्री ओलीको हातमा ६ वटा औला देखिन्छ।
हेर्नुस् स्क्रिनसट-
त्यस्तै, झाँक्रीको हातमा ६ वटा औला देखिन्छ भने सुरुमा हातमा बोकेको मोबाइल पनि पछि देखिन्न।
हेर्नुस्, स्क्रिनसट
अधिकांश एआई टुलहरुले मानव हत्केलालाई जस्तो हो त्यस्तो बनाउन सक्दैनन। थप जानकारीका लागि हेर्नुस्- Why Can’t AI Draw Hands? The Complex Challenge of Depicting Human Anatomy
डिपफेक भनेको कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिको प्रयोग गरेर वास्तविक जस्तो देखिने नक्कली भिडियो वा अडियो सामग्री बनाउने प्रविधि हो। यो प्रविधिले कुनै पनि व्यक्तिको अनुहार, जिउ वा स्वरलाई अरूको अनुहार, जिउ वा स्वरसँग प्रतिस्थापित गर्न सक्छ, जसले गर्दा भिडियो वा अडियो सामग्रीलाई वास्तविकभन्दा फरक ढंगले प्रस्तुत गर्न सकिन्छ।
अहिले यस्ता भिडियोहरु तयार पार्ने विभिन्न एआई टुल्सहरु छन्।
जस्तो कि, लुमाल्याब्सको एआईले नि:शुल्क यस्तो भिडियोहरु तयार पारिदिन्छ।
लुमाल्याब्सको ड्रिम मेसिन एआई मोडलले फोटोलाई दिइएको अक्षर निर्देशनका आधारमा चल्ने भिडियो बनाउने क्षमता राख्छ।
हाल सामाजिक सञ्जालमा पुराना फोटोहरु राखेर ती फोटोहरु चल्ने भिडियो बनाएको देखिन्छ। यस्ता भिडियो पनि यस्तै वेबसाइटबाट तयार पार्न सकिन्छ।
बालेन शाह र उपमेयर सुनीता डंगोल उपस्थित फोटो वा भिडियो राखी यही वेबसाइटबाट हुँदै नभएको दृश्य तयार पारिएको बारे हामीले यसअघि तथ्य जाँच गरिसकेका छौँ।
उदाहरणका लागि हामीले कोपाइलट एआईबाट एक जोडी नेपालीको स्केच तयार पार्यौँ-
अब यही स्केचलाई हामीले लुमा वेबसाइटमा गई ‘Kissing’ प्रम्प्ट दिएपछि तयार भएको भिडियो यस्तो छ-
त्यसैले, यो भाइरल भिडियो पनि यही प्रविधिबाट तयार पारिएको हाम्रो निश्कर्ष रह्यो।
हामीले उक्त डिपफेक भिडियोको बारेमा थप बुझ्नको लागि हामीले प्रधानमन्त्री ओली र झाँक्रीको भेट भएको फोटो तथा भिडियोहरु सामाजिक सञ्जालमा खोज्यौँ।
त्यस क्रममा झाँक्रीको फेसबुकमा ‘एक समारोहको भेट! पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष नेता कमरेड केपी ओलीसंग’ क्याप्सन राखेर २०२४ अप्रिल ८ मा एउटा फोटो पोस्ट गरेको भेट्यौँ।
हेर्नुस्, स्क्रिनसट ।
उक्त फोटोको पृष्ठभूमि, प्रधानमन्त्री ओली र झाँक्रीको ड्रेस, हातको मोबाइल र घडी भिडियोसँग मिल्न जान्छ।
तथ्यजाँच
दावी : प्रधानमन्त्री केपी शर्मा ओली र झाँक्री देखिएको भिडियो।
दावीकर्ता : अनिल राई नामक सामाजिक सञ्जाल प्रयोगकर्ता।
तथ्यजाँच : मिथ्या सूचना। समाजवादी पार्टीकी नेतृ झाँक्रीले आफ्नो फेसबुकमा राखेको प्रधानमन्त्री ओलीसँग भएको भेटसम्बन्धी फोटोलाई ‘डिपफेक’ प्रविधि प्रयोग गरेर भिडियो तयार पारी भाइरल गराइएको हो।