तथ्यजाँच भ्रामक सूचना वागमती

प्रधानमन्त्री ओली अस्पतालमा भएको फोटो पाँच वर्ष पुरानो


प्रधानमन्त्री ओली अस्पतालमा भएको फोटो पाँच वर्ष पुरानो

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालमा भर्ना भएको जस्तो देखिने तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भएको छ।

तर, हाम्रो तथ्यजाँचमा ती तस्विरहरु २०७६ सालमा बिरामी हुँदाको रहेको भेटिएको छ। प्रधानमन्त्री ओली हालसालै अस्पताल भर्ना भएका छैनन्।

के छ दावी ?

एक लाख चार हजार फलोअर्स रहेको दुर्गा प्रसाई नामक फेसबुक पेजमा जनवरी २६ मा प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालको बेडमा भएको तीन वटा फोटो कोलाज गरेर एउटा लामो क्याप्सन पोस्ट गरिएको छ । क्याप्स मा अशुद्ध नेपाली भाषामा ‘हजुर बा के भो हजुरलाई, छिट्टै सन्चो होस् ,यो देशलाई हजुरको खाँचो छ….’ लेखिएको छ।

फोटोमा प्रधानमन्त्री ओलीकी श्रीमती राधिका शाक्य, निजी चिकित्सक डा. दिव्या सिंह शाह, त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास, मुटु रोग विशेषज्ञ डा. अरुण सायमी र मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका पूर्व निर्देशक डा. उत्तम श्रेष्ठ देखिन्छन्।

हेर्नुस्, स्क्रिनसट । अर्काइभ लिंक

यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा ९ हजार रियाक्सन, २२ सय कमेन्ट र ९ सयभन्दा बढी सेयर गरिएको छ।

तथ्य के हो ?

यो विषयको तथ्यजाँच गर्नका लागि सुरुमा हामीले फोटोलाई गुगल इमेज सर्च गर्‍यौँ।

गुगल इमेज सर्च गर्ने क्रममा २०१९ डिसेम्बर ४ मा ‘Hospital prepares to discharge PM Oli’ शीर्षकमा अनलाइनखबरको अंग्रेजी संस्करणमा सोही फोटो सहित समाचार प्रकाशित भएको भेट्यौँ ।

हेर्नुस्, स्क्रिनसट

समाचार अनुसार एपेन्डिसाइटिसको अपरेसन सकिएको ९ दिनपछि महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको थियो।

गुगल सर्चको क्रममा उक्त फोटो प्रयोग गरेर माइरिपब्लिकाले पनि ‘PM Oli’s health improving, says hospital’ शीर्षकमा समाचार प्रकाशित गरेको भेट्यौँ।

हामीले थप बुझ्नको लागी फोटोमा देखिएकी प्रधानमन्त्री ओलीकी निजी चिकित्सकसमेत रहेकी डा. दिव्या सिंह शाहलाई सोध्यौँ। उनले हालसालै प्रधानमन्त्री ओली अस्पताल भर्ना हुने गरी बिरामी नभएको बताइन्।

उनका अनुसार, केही दिनअघि रुघखोकी लागेर प्रम ओली घरमै आराम गरिरहेका थिए। “केही दिनअघि उहाँलाई सामान्य रुघाखोकी लागेर घरमै आराम गर्नुभएको थियो, अहिले काममा फर्किसक्नुभएको छ” डा. दिव्याले भनिन् , “अहिले सामाजिक सञ्जालमा २०७६ सालतिर उहाँ बिरामी हुँदाको फोटोहरु भाइरल गराइएको देखेको छु।”

त्यस्तै, उक्त फोटोमा देखिएका डा. अरुण सायमीले सरकारी सेवाबाट अवकाश पाइसकेका छन् भने डा. उत्तम श्रेष्ठ अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका निर्देशक छैनन्।

तथ्यजाँच

दावी : प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर अस्पताल भर्ना भए।

दावीकर्ता : दुर्गा प्रसाई नामक फेसबुक प्रोफाइल।

तथ्यजाँच : भ्रामक सूचना। प्रधानमन्त्री ओली हालसालै बिरामी भएका छैनन्। २०७६ सालमा बिरामी भएर भर्ना हुँदा‍को फोटो अहिले भाइरल गराइएको हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add