- प्रविण भट्ट
- चैत्र २७, २०८१

जनकपुरको प्रदर्शन भन्दै भाइरल भिडियो वास्तवमा सिराहाको
हिन्दु सेनाले जनकपुरमा प्रदर्शन गरेको दावी गर्दै १८ सेकेन्ड लामो एउटा भिडियो सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर भनेर चिनिने) मा फैलिएको छ। २६ हजार पटक हेरिएको सो भिडियोमा ठूलो भिड देखिन्छ।
तर हाम्रो तथ्यजाँचमा भने भिडियो सही भए पनि त्यसको व्याख्या भ्रम दिने किसिमले फैलाएको भेटियो। भिडियो जनकपुरको नभई सिराहामा भएको कलश यात्राको हो।
के हो दावी?
आफुलाई गोलु भनेर चिनाउने @omnamosivaye ह्यान्डलबाट गत चैत १८ गते एक भिडियो सार्वजनिक गरियो। उक्त भिडियोमा सडकमा ठूलो भीड देख्न सकिन्छ। भीडमा अगाडि पुरुषहरु देखिन्छन् भने पछाडि ताँती लागेर कलश बोकिरहेका महिलाहरु देख्न सकिन्छ।
सो भिडियोसंगैको क्याप्सनमा, “भाग्ने ठाउँ खोज भ्रष्ट हो। तराई जागिसकेको छ। हेर्नुस् हिन्दु सेनाद्वारा आज जनकपुरमा बृहत प्रदर्शन” लेखिएको छ।
यो तथ्यजाँच तयार पार्दा सम्म ४७१ जनाले लाइक गरेको भिडियो ६९ पटक रिपोस्ट समेत गरिएको छ। सो भिडियोमा १५ वटा कमेन्ट पनि देखिन्छन्।
हेर्नुस् स्क्रिनसट
स्क्रिनरेकर्ड यहाँ हेर्न सकिन्छ।
के हो तथ्य?
सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा टिकटकको वाटरमार्क प्रष्टसँग देखिन्छ। भिडियोमा देखिने टिकटकको वाटरमार्कमा @bidyanand34 लेखिएको थियो।
हेर्नुस् भिडियोमा देखिएको टिकटक ह्यान्डल
हामीले सो टिकटक ह्यान्डल सर्च गरेर भिडियोहरु हेर्न थाल्यौं। सोही भिडियो उक्त ह्यान्डलमा अपलोड भएको भेटियो। यो भिडियोसँगै राखिएको अर्को भिडियोमा भने ती व्यक्तिले “महाविष्णु यज्ञ औरही गाउँपालिकाको कलश यात्रा सुन्दर दृश्य” लेखेर राखेको पाइयो।
हेर्नुस् स्क्रिनसट
सामाजिक सञ्जालमा जनकपुरमा भएको वृहत प्रदर्शन भन्दै फैलिएको भिडियो र औरही गाउँपालिकामा भएको कलशयात्राको भिडियो केही मिलेको पाइयो।
औरहीमा भएको कलश यात्राको भिडियो खोज्दै जाँदा टुडे खोज नामक फेसबुक पेजमा गत मार्च ३० अर्थात चैत १७ गते राखिएको अर्को भिडियो फेला पर्यो। सो भिडियोमा देखिएका व्यक्ति र जनकपुरमा भएको वृहत प्रदर्शन भन्दै सामाजिक सञ्जालमा फैलिएको भिडियोमा पनि देखिए। कलश बोकेका महिलाहरु पनि दुइटै भिडियोमा देखिन्छन्।
हेर्नुस् तुलनात्मक फोटो
सामाजिक सञ्जालमा जनकपुरमा हिन्दु सेनाले गरेको वृहत प्रदर्शन भन्दै फैलिएको भिडियो औरहीको कलश यात्रा हुनसक्ने आधार भेटिएपछि थप बुझ्न हामीले सिराहा प्रहरीमा सम्पर्क गर्यौँ।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्र.ना.उ. वीरेन्द्र कुमार पासवानका अनुसार सिराहाको औरहीमा भएको कलश यात्रा गत चैत १७ गते कमला नदीबाट महायज्ञ स्थलसम्म भएको हो। सामाजिक सञ्जालमा फैलिएको भिडियो सोही कलश यात्राको रहेको उनले पुष्टि गरे।
यसर्थ, हिन्दु सेनाले जनकपुरमा गरेको वृहत प्रदर्शन भन्दै फैलिएको भिडियो भ्रामक सूचना हो। उक्त भिडियो जनपुरको नभई गत चैत १७ गते सिराहाको औरहीमा भएको कलश यात्राको हो।
तथ्यजाँच
दावीः हिन्दु सेनाद्वारा जनकपुरमा गरिएको प्रदर्शनको भिडियो।
दावीकर्ताः @omnamosivaye नामक एक्स ह्यान्डल।
तथ्यः भ्रामक सूचना। सो भिडियो जनकपुरको होइन। भिडियो गत चैत १७ गते सिराहाको औरहीमा भएको कलश यात्राको हो।