तथ्यजाँच मिथ्या सूचना वागमती

राप्रपाको प्रदर्शनमा भारतीय झण्डा? सम्पादित फोटोका भरमा फैलाइएको भ्रम


राप्रपाको प्रदर्शनमा भारतीय झण्डा? सम्पादित फोटोका भरमा फैलाइएको भ्रम

चैत २६ गते काठमाडौंको बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गरेको शक्ति प्रदर्शनका क्रममा एक व्यक्तिले भारतीय झण्डा बोकेको भन्दै सामाजिक सञ्जालमा भाइरल भएको एक पोस्टले चर्चा पाइरहेको छ। तर हाम्रो तथ्यजाँचले देखाएको छ — उक्त फोटो वास्तविक हैन, सम्पादन गरिएको हो।

के हो दावी ?

फेसबुकमा १७ हजार फलोअर्स रहेका पत्रकार उदय जिएम ले अप्रिल ८ मा ‘राष्ट्रवादको नारा तर व्यवहारमा भारतीय मिडिया र भारतीय झण्डा । रैती र दासहरु के को राष्ट्रवादको नारा अलाप्छौ ?’ क्याप्सन राखेर दुई वटा फोटो पोस्ट गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंको बल्खुमा गरेको शक्ति प्रदर्शनमा भारतीय झण्डा बोकेको मानिस उपस्थित भएको आशय राखेर उक्त पोस्ट गरेको बुझ्न सकिन्छ। फोटोमा नेपाली झण्डा बोकेका मानिसहरुका बीचमा एक जना मानिसको हातमा भारतीय झण्डा देखिन्छ।

हेर्नुस्, स्क्रिनसट । अर्काइभ लिंक 

यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा ७३ रियाक्शन, २२ कमेन्ट र २२ जनाले सेयर गरेका छन्।

त्यस्तै फेसबुकमा ३३ हजार फलोअर्स रहेका राम कृष्ण नामक प्रयोगकर्ताले सोही फोटो राखेर ‘राप्रपाको आजको आन्दोलनमा भारतको झण्डा देखिनुको कारण के हो? वास्तविकता थाहा हुनेले कमेन्ट गर्नुहोला ’ क्याप्सन राखेका छन् । हेर्नुस्, अर्काइभ लिंक

यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा २९ वटा कमेन्ट र २८ वटा रियाक्शन छ।

तथ्य के हो ?

यो विषयमा तथ्यजाँच गर्नका लागि हामीले सुरुमा फोटोलाई राम्रो सँग नियाल्यौँ। उक्त फोटोमा खबरहब डटकम अनलाइनको वाटरमार्क प्रष्टै थियो।

हेर्नुस् फोटो-

हामीले खबरहब डटकममा उक्त फोटो प्रकाशित भएको छ/कि छैन भनेर मंगलबार प्रकाशित भएका खबरहब डटकमका सामाग्री खोज्यौँ ।

त्यो क्रममा ‘यस्तो देखियो राप्रपाको प्रदर्शनस्थल बल्खु (तस्बिरहरू)’ शीर्षकमा प्रकाशित फोटो समाचार फेला पार्‍यौँ।

त्यो समाचार प्रयोग भएको फोटो मध्येमा एउटा फोटो सामाजिक सञ्जाल प्रयोगकर्ताले भारतीय झण्डा प्रयोग भएको दावी गरिएको फोटोसँग मिल्दोजुल्दो थियो।

हेर्नुस्, खबरहबले हालेको फोटो

हामीले उक्त फोटोलाई सुक्ष्म ढंगले हेर्‍यौँ । फोटोमा भारतीय झण्डा कतै थिएन् । त्यसपछि हामीले सामाजिक सञ्जाल प्रयोगकर्ताले भारतीय झण्डा भएको दावी गरिएको फोटो र खबरहब डटकममा प्रकाशित फोटोलाई तुलना गरेर हेर्‍यौँ।

खबरहब डटकममा प्रकाशित फोटो र सामाजिक सञ्जालमा भाइरल गराइएको फोटोमा देखिएका सबै कुरा हुबहु छन्। त्यसमा भारतीय झण्डा मात्रै थपिएको छ।

यसअघि २०७७ सालमा पनि प्रचण्ड र माधव नेपाल नेतृत्वको जुलुसमा भारतीय झण्डा सम्पादन गरेर राखिएको फोटो भाइरल भएको थियो र हामीले यसको तथ्य जाँच गरेका थियौँ- के प्रचण्ड-माधव नेपालले नेतृत्व गरेको जुलुसमा भारतीय झण्डा बोकेर प्रदर्शन गरिएको हो?

तथ्यजाँच

दावी : राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार गरेको शक्ति प्रदर्शनमा भारतीय झण्डा बोकेका मानिस उपस्थित थिए।

दावीकर्ता : उदय जिएम।

तथ्यजाँच : मिथ्या सूचना। राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार गरेको शक्ति प्रदर्शनमा भारतीय झण्डा बोकेको मानिस उपस्थित भएको फोटो सम्पादित हो । खबरहब डटकममा प्रकाशित भएको फोटोलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले सम्पादन गरिएको हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add