तथ्यजाँच भ्रामक सूचना वागमती

राष्ट्रिय झण्डा आधा झुकाइएको दावीको तथ्यजाँच: भ्रम कि वास्तविकता?


राष्ट्रिय झण्डा आधा झुकाइएको दावीको तथ्यजाँच: भ्रम कि वास्तविकता?

लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेद्वारा आयोजित कार्यक्रमका क्रममा नेपालको राष्ट्रिय झण्डा आधा झुकाएर राखेको दावीसहित सामाजिक सञ्जालमा बहस भइरहेको छ। एमालेले काठमाडौँको प्रदर्शनी मार्गमा राखेका झण्डाहरु आधा झुकाएर राखिएको र यस्तो शोकको अवस्थामा मात्र गरिने दावी गरिएको हो।

तर हाम्रो तथ्यजाँचले यो दावी भ्रामक देखाएको छ।

के हो दावी?

राप्रपा महामन्त्री शरद राज पाठकले सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर भनेर चिनिने) मा एक फोटो पोस्ट गर्दै राष्ट्रिय झण्डा आधा झुकाइएको दावी गरेका हुन्। उनले  सडक किनारमाको पोलमा राखिएका झण्डाहरुलाइ इङ्गित गर्दै ‘एमालेको आजको कार्यक्रम स्थलमा राष्ट्रिय झण्डा आधा झुकाइएका छन्। यसरी के को शोक मनाइएको हो?’ लेखेका छन्।

उनले यस कार्यका लागि प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली तथा महासचिव शंकर पोखरेल लगायतलाई दण्डित गर्नुपर्ने पनि लेखेका छन्।

हेर्नुस् स्क्रिनसट

यो तथ्यजाँच तयार पार्दा सम्म १ सय १४ जनाले लाइक गरेको सो पोस्ट ३५ पटक रिपोस्टसमेत गरिएको छ। सो पोस्टमा १९ जनाले रिप्लाई समेत गरेका छन्।

यसैगरी सञ्चारकर्मी रमा सिंहले पनि सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम स्थल प्रदर्शनीमार्गकै दृष्य राख्दै फोटो पोस्ट गरेकी हुन्। राष्ट्रिय झण्डा आधा झुकाइएको दावी गर्दै उनले ‘वैशाख ११ गते भृकुटी मण्डपका बाटामा राष्ट्रिय झण्डा आधा झुकाएको छ……वास्तवमा आज नेपालीले शोक मनाउने दिन नै हो’ लेखेकी हुन्।

हेर्नुस् स्क्रिनसट

यो तथ्यजाँच तयार पार्दा सम्म ६ सय ६९ जनाले रियाक्ट गरेको सो पोस्टमा २० वटा कमेन्ट रहेका छन्। सो पोस्ट ३७ पटक सेयर समेत गरिएको छ।

के हो तथ्य?

नेपालको राष्ट्रिय झण्डा शोकमा जस्तो आधा झुकाइएको दावी गरिएकाले हामीले राष्ट्रिय झण्डा आधा झुकाउँदा कसरी राखिन्छ भनेर खोजी गर्‍यौँ। यसरी खोजी गरेर हेर्दा अमेरिकाको लुजिआना राज्यस्थित लुजिआना मोनरे विश्वविद्यालयले सामाजिक सञ्जाल एक्समा राखेको फोटो भेटियो। 

हेर्नुस् लुजिआना मोनरे विश्वविद्यालयले राखेको फोटो

सन् २०१५ को भूकम्प पीडितको सम्मानमा आधा झण्डा झुकाइएको सो विश्वविद्यालयले एक्स पोस्टमा जनाइएको छ।  यसमा पोलको आधा भागमा झण्डा फहराइरहेको देख्न सकिन्छ।

हामीले यसबारे थप खोज्दा  गोरखापत्रमा प्रकाशित एक समाचार र फोटो फेला पर्‍यो। २०८१ साउन २० गतेको समाचारमा गुरुदेव कामतको शोकमा प्रदेश सरकारले नेपालको राष्ट्रिय झण्डा आधा झुकाइएको उल्लेख छ। समाचारसँगै राखिएको फोटोमा झण्डा फहराइएको पोलको आधा भागमा झण्डा फहराइरहेको देख्न सकिन्छ।

हेर्नुस् स्क्रिनसट

 

हामीले थप पुष्टि गर्न राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्वन्धी कार्यविधि २०६९ पनि अध्ययन गर्‍यौँ। सो कार्यविधिको दफा १० को उपदफा ५ मा ‘राष्ट्रिय झण्डा झुकाउनु पर्ने अवस्थामा राष्ट्रिय झण्डालाई पूरै फहराउने अवस्थामा लगी त्यसपछि पोलको बीचमा ल्याई झुकाउन पर्नेछ’ लेखिएको छ। 

यसर्थ, कुनै शोकमा आधा झण्डा झुकाउनु भनेको झण्डालाई नै झुकाइने होइन। आधा झण्डा झुकाउनु भनेको राष्ट्रिय झण्डालाई पूरा फहराउने स्थितिमा पुऱ्याएर, पोलको आधा भागमा फहराउने काम हो। यसको पुष्टि राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्वन्धि कार्यविधि २०६९ र पुराना फोटोहरुबाटै हुन्छ।

तथ्यजाँचः

दावीः नेकपा एमालेको कार्यक्रममा नेपालको झण्डा आधा झुकाएर राखिएको भन्दै सेयर गरिएको फोटो।

दावीकर्ताः राप्रपा महामन्त्री शरद राज पाठक तथा सञ्चारकर्मी रमा सिंह।

तथ्यः भ्रामक सूचना। कुनै शोकमा आधा झण्डा झुकाउनु भनेको झण्डालाई नै झुकाइने होइन। आधा झण्डा झुकाउनु भनेको राष्ट्रिय झण्डालाई पूरा फहराउने स्थितिमा पुऱ्याएर, पोलको आधा भागमा फहराउने काम हो। फेसबुक र एक्समा सेयर गरिएका फोटोहरुमा सो अवस्थामा राष्ट्रिय झण्डा देखिँदैन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add