तथ्यजाँच भ्रामक सूचना लुम्बिनी वागमती सम्बन्धित प्रदेश

तथ्य जाँच : भारत-पाकिस्तान युद्ध बारे प्रधानमन्त्री ओलीले के भनेका हुन् ?


तथ्य जाँच : भारत-पाकिस्तान युद्ध बारे प्रधानमन्त्री ओलीले के भनेका हुन् ?

गत २२ अप्रिलमा (वैशाख ९ गते) जम्मु काश्मिरस्थित पहलगाममा आतंकवादी हमला भयो। त्यही हमलापछि भारत-पाकिस्तान बीच तनावको स्थिति सृजना भयो। भारत-पाकिस्तान बीच गोलाबारी हुँदै गर्दा गत वैशाख २८ गते युद्धविराम भयो। 

यसैबीच बैशाख २९ गते बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगे। त्यहाँ आफूले संयमित हुन आग्रह गरेपछि भारत-पाकिस्तान बीच युद्ध रोकिएको भनी ओलीले बताएको दावीसहित समाचार प्रकाशित भएका छन्। 

तर हाम्रो तथ्यजाँचमा भने सो दावी भ्रामक देखियो। 

के हो दावी?

वैशाख २९ गते देशसञ्चार अनलाइनले प्रधानमन्त्री ओलीलाइ उदृत गर्दै “भारत र पाकिस्तानबीचको युद्ध हामीले संयमित हुन आग्रह गरेपछि रोकियो: प्रधानमन्त्री ओली “  शीर्षकमा समाचार राखेको छ। सो समाचार अनुसार प्रधानमन्त्री ओलीले “भारत र पाकिस्तानबीच झण्डै-झण्डै हात हालाहालकाे स्थिति आएको थियो। हामीले संयमित हुन आग्रह गर्‍यौँभनेका हुन्। 

हेर्नुस् समाचारको अर्काइभ

यसैगरी, योहो टिभीले पनि ५ मिनेट ५१ सेकेण्ड लामो भिडियो रिपोर्टमा प्रधानमन्त्री ओलीले “युद्ध रोकेको फुर्ती” लगाएको दावी गरेको छ। योहो टिभीले आफ्नो रिपोर्टमा बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले बोलेको कुरा राख्दै सो दावी गरेको हो। सो रिपोर्टका अनुसार ओलीले “भारत पाकिस्तानलाई हामीले संयमित हुन भनेपछि युद्ध रोकियो ” भनेका हुन्।

हेर्नुस् स्क्रिनरेकर्ड

योहो टिभीको सो भिडियो फेसबुक रिपोर्टमा ६ हजार ५ सय जनाले रियाक्ट गरेका छन् भने  १ हजार ३ सय पटक सो भिडिओ सेयर गरिएको छ। सो भिडिओमा ९ सय ९७ कमेन्ट समेत छन्।

इन्स्टाग्राम पेज ‘नो नेक्स्ट क्वेसन’ले पनि सोही दावीको साथ  एक पोस्ट गरेको छ। सो पोस्टका अनुसार भारत र पाकिस्तानलाई युद्धमा नउत्रिन र शान्ति कायम गर्न नेपालले सुझाव दिएको प्रधानमन्त्री ओलीले बताएका हुन्। दुई देशबिच युद्द विराम गर्नमा नेपालले कुटनैतिक भुमिका खेलेको समेत प्रधानमन्त्री ओली बताएको सो पोस्टमा उल्लेख गरिएको छ।

हेर्नुस् स्क्रिनसट

हेर्नुस् अर्काइभ

यो तथ्यजाँच तयार पार्दासम्म सो पोस्ट ३ हजार २ सय २३ जनाले लाइक गरेका छन् भने १ सय ९६ वटा कमेन्ट छन्।

के हो तथ्य?

बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले भनेको दावी गर्दै समाचार प्रकाशित गरिएकाले हामीले सो कार्यक्रमको लाइभ भिडियो हेर्‍यौँ। लुम्बिनीमा आयोजित कार्यक्रममा १ घण्टा ७ मिनेट ३८ सेकेण्ड जाँदा बोल्न सुरु गरेका प्रधानमन्त्री ओली  १ घण्टा ३१ मिनेट र १० सेकेण्डमा आफ्नो भनाई टुङ्ग्याउँछन्।

सो कार्यक्रमको भिडिओ यहाँ हेर्न सकिन्छ

कार्यक्रमको १ घण्टा २५ मिनेट २८ सेकेण्ड जाँदा ओलीले भारत पाकिस्तान तनावको बारेमा बोल्न सुरु गरेका छन्। उनले भनेका छन्-

 “भारत र पाकिस्तानको अलिकति हात हालाहाल त भएको थियो तर हात हालाहाल बढ्न पाएन, संयमको लागि उहाँहरुलाई धन्यवाद छ। हामीले सुरु देखि भन्यौं विस्तार हुन नपाओस है यो, यो हात हालाहालको स्थिति लडाईंमा परिणत हुन नपाओस भन्ने हामीले कामना गर्‍यौँ, उहाँहरुसँग पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरुले लडाईमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो, फेरि पनि केही खचपचहरु आरोप-प्रत्यारोपको स्थिति छ। ”  

हेर्नुस् स्क्रिनरेकर्ड

अर्थात भारत-पाकिस्तान बीचको तनावको स्थितिमा आफूले दुई देशलाई संयमता अपनाउन आग्रह गरेको प्रधानमन्त्री ओलीले लुम्बिनीमा आयोजित कार्यक्रममा कहीँ कतै उल्लेख गरेका छैनन्। उनले संयमका लागि धन्यवाद चाहिँ दिएका हुन्। 

यसैगरी नेपालले कुटनैतिक भुमिका खेलेको कुरा पनि प्रधानमन्त्रीले उल्लेख गरेका छैनन्।

तथ्यजाँच

दावीः  प्रधानमन्त्री ओलीले “भारत र पाकिस्तानबीचको युद्ध हामीले संयमित हुन आग्रह गरेपछि रोकिएको” बताएको। 

दावीकर्ताः देशसञ्चार, योहो टिभी र नो नेक्स्ट क्वेस्चन।

तथ्यः भ्रामक सूचना। प्रधानमन्त्री ओलीले आफ्नो भनाई राख्ने क्रममा भारत-पाकिस्तान तनाव बारे बताए पनि समाचारमा दावी गरिए जस्तो ‘युद्ध हामीले संयमित हुन आग्रह गरेपछि रोकिएको’ भनेका होइनन्। उनले ‘संयमित हुन आग्रह गरेको’ पनि बताएका होइनन्। बरु ‘संयमका लागि धन्यवाद’ दिएका हुन्। उनले आफ्नो भाषणमा लडाईंमा परिणत हुन नपाओस भन्ने हामीले कामना गर्‍यौँ, उहाँहरुसँग पनि कुरा गर्‍यौँ मात्र भनेका हुन्। तसर्थ समाचारहरु भ्रामक छन्। 

 

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add