- प्रविण भट्ट
- 2025-05-22

घुसकाण्डको पुरानो अडियोले रवि लामिछानेको नाममा छरेको नयाँ भ्रम
सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशले पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा थुनामा रहेका रवि लामिछानेको नाम प्रयोग गर्दै एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा फैलिरहेको छ। फेसबुकमा भाइरल भइरहेको भिडियोमा रवि लामिछानेलाई जेलमै राख्न वकिल र न्यायाधीशबीच १० करोडको लेनदेन भएको दावी गरिएको छ।
तर हाम्रो तथ्यजाँचमा भने उक्त दावी भ्रामक रहेको पाइएको छ। भिडियोमा देखाइएको अडियो कल पुरानो फरक सन्दर्भको हो।
के हो दावी?
गत जेठ ५ गतेदेखि सामाजिक सञ्जाल फेसबुकमा एउटा अडियो कल भाइरल भइरहेको छ। फेसबुकमा शेयर गरिएको भिडियोमा अडियो कल सुन्न सकिन्छ। त्यसमा अधिवक्ता रुद्र पोखरेल र न्यायाधीश राजकुमार कोइराला बीचको संवाद भएको बताइएको छ।
भिडियोको क्याप्सनमा रवि लामिछानेलाई आजीवन जेलमा राख्न न्यायाधीश र वकिलबीच १० करोडको लेनदेन भएको दावी गरिएको छ।
हेर्नुस् प्रतिनिधि स्क्रिनसट
हेर्नुस् भाइरल दावीको भिडियो संकलन
के हो तथ्य?
यो भिडियो पुरानो र फरक सन्दर्भको हो।
व्यवसायी ईच्छाराज तामाङको सिभिल सहकारी ठगी प्रकरणमा बाहिरिएको अडियो अहिले रवि लामिछानेको नाम जोड्दै भाइरल गराइएको हो। सिभिल सहकारीमा बचतकर्ताको रकम अपचलन गरेर ठगी गरेको मुद्दामा न्यायाधीश र कानून व्यवसायी बीच ईच्छाराज तामाङलाई धरौटीमा रिहा गर्ने विषयमा उक्त संवाद भएको न्यूज २४ ले बताएको थियो।
हेर्नुस् युट्युब भिडियोको स्क्रिनसट
२०७९ असारमा सार्वजनिक भएको सो अडियोमा अधिवक्ता रुद्र पोखरेल र जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको आवाज भएको दावी गरिएको थियो। सो अडियोमा आरोपितबाट १० करोड धरौटी माग गरेर छुटाउने कुरा भइरहेको सुन्न सकिन्छ। अडियोमा २ करोड घुस रकम लिने गरी कुरा भएको पनि बुझ्न सकिन्छ।
यो विषयमा त्यतिबेला अरु मिडियाले पनि समाचार छापेका थिए-
न्यायाधीश-वकिल घुस वार्तालाप ‘झ्याप्य्राक्कै २ जति लिउँ न !’ (कान्तिपुर)
घुस काण्ड बाहिरिएपछि बोलाइयो न्यायपरिषद्को आकस्मिक बैठक, कोइरालालाई कारबाहीको तयारी (रातोपाटी)
घुस बार्गेनिङको अडियो बाहिरिएका न्यायाधीश कोइराला निलम्बित (नागरिक)
२०७९ असारमा सार्वजनिक गरिएको पुरानो अडियोलाई अहिलेको भन्दै भाइरल गराइएको हो। सो अडियो रवि लामिछानेसँग सम्बन्धित अडियो होइन, सहकारी ठगी मुद्दामै मुछिएका व्यवसायी ईच्छाराज तामाङको विषयमा कानून व्यवसायी र न्यायाधीश बीच भएको भनिएको संवादको हो।
तथ्यजाँच
दावीः रवि लामिछानेलाई आजीवन जेलमा राख्न उच्च अदालतका न्यायाधीश र वकिलबीच १० करोडको लेनदेन भएको अडियो।
दावीकर्ताः सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता।
तथ्यः भ्रामक सूचना। सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको अडियो कल २०७९ असारमा न्यूज २४ ले सार्वजनिक गरेको हो। सो अडियो रेकर्डिङ व्यवसायी ईच्छाराज तामाङको मुद्दाको सन्दर्भको भएको न्यूज २४ ले बताएको थियो।