- प्रविण भट्ट
- 2025-05-26

रिलेसनसिप इन्स्योरेन्स : अप्रिल फूलको मजाक बन्यो ‘समाचार’
विश्वमै पहिलो पटक रिलेसनसिप इन्स्योरेन्स अर्थात सम्बन्धको बीमा गर्न मिल्ने दावीसहितको एउटा ‘समाचार’ भाइरल भइरहेको छ। भाइरल सामग्रीमा ५ वर्ष सम्बन्ध टिकेमा १० गुणा रिटर्न पाइने दावी गरिएको छ।
तर हाम्रो तथ्यजाँचमा भने यो दावी भ्रामक पाइएको छ। अप्रिल फूलमा पोस्ट गरिएको सामग्रीलाई वास्तविक झैँ बनाई हाल नेपालमा भाइरल गरिएको हो।
के हो दावी?
गत जेठ ११ गते इन्स्योरेन्स खबर नामक अनलाइनले एक समाचार प्रकाशित गर्दै विश्वमै पहिलोपटक रिलेसनसिप इन्स्योरेन्स गर्न सकिने दावी गरेको हो। प्रेमिल जोडीले रिलेशनसिप इन्स्योरेन्स अनलाइनमार्फत् खरिद गर्न सक्ने दावी गर्दै समाचार सम्प्रेषण गरिएको छ।
सो समाचारका अनुसार जिकीलभ नामक वेबसाइटबाट बीमा खरिद गर्न सकिन्छ। साथै कुनै “सम्बन्ध ५ वर्षसम्म टिक्यो वा ५ वर्षपछि विवाह गर्छन् भने जिकीलभले जम्मा भएको धनराशीको १० गुणा पैसा ” दिने त्यसमा दावी गरिएको छ।
पढ्नुस् समाचारको अर्काईभ
सामाजिक सञ्जाल फेसबुकमा सोही समाचार भाइरल भइरहेको छ। यो तथ्यजाँच तयार पार्दासम्म २ सय २९ जनाले रियाक्ट गरेको पोस्टमा २९ कमेन्ट रहेका छन्। सो फेसबुक पोस्ट ५२ पटक सेयर समेत गरिएको देखिन्छ।
हेर्नुस् स्क्रिनसट
के हो तथ्य?
समाचारमै ‘जिकीलभ’ नामक वेबसाइटबाट बीमा खरिद गर्न सकिने व्यहोरा उल्लेख थियो। समाचारमा फोटो भिडियो सेयर गर्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्रामको भिडियोमार्फत् रिलेसनसिप इन्स्योरेन्स घोषणा भएको उल्लेख गरिएको थियो।
सोही कुरा पछ्याउँदै इन्स्टाग्राममा सर्च गरेर हेर्दा zikiguy नामक प्रोफाइलमा अपलोड गरिएको एक भिडियो फेला पर्यो। अप्रिल १ कै दिन सो भिडियो इन्स्टाग्राममा राखिएको छ। सो भिडियोमा रिलेसनसिप इन्स्योरेन्सको बारे कुरा गरिएको थियो। तर सो भिडियो क्याप्सनमा भने #aprilfools लेखिएको थियो।
हेर्नुस् स्क्रिनसट
हामीले यसबारे थप बुझ्न जिकीलभको वेबसाइट खोज्यौं। जिकीलभको वेबसाइटमा पनि विश्वकै पहिलो रिलेसनसिप इन्स्योरेन्स भएको दावी गरिएको थियो। तर स्क्रोल गर्दै जाँदा भने अन्त्यमा only available on April 1st लेखिएको छ।
हेर्नुस् स्क्रिनसट
अर्थात, रिलेशनसिप इन्स्योरेन्स जस्तो कुनै पनि अनलाइन इन्स्योरेन्स खरिद गर्न सकिदैन। यो केवल अप्रिल फूल (मूर्ख बनाउने दिन)को लागि बनाइएको एक वेबसाइट मात्र हो।
तथ्यजाँच
दावीः विश्वमै पहिलो पटक रिलेसनसिप इन्स्योरेन्स अर्थात सम्बन्धको बीमा गर्न मिल्ने।
दावीकर्ताः इन्स्योरेन्स खबर।
तथ्यः भ्रामक सूचना। रिलेसनसिप इन्स्योरेन्स जस्तो कुनै पनि अनलाइन इन्स्योरेन्स खरिद गर्न सकिदैन। अप्रिल फूलको दिन मूर्ख बनाउनको लागि बनाइएको एक भिडियो र वेबसाइटलाई साँच्चिकै मानेर समाचार सम्प्रेषण गरिएको हो।