- प्रविण भट्ट
- असार १९, २०८२

तथ्यजाँच: काठमाडौंको डुबान भन्दै फैलाइएको भिडियो भारतको जयपुरको
काठमाडौंमा डुबान भएको भन्दै एक बस चलिरहेको भिडियो फेसबुकमा भाइरल भइरहेको छ। उक्त भिडियो नेपालकै भएको दावी गरिएको छ। तर हाम्रो तथ्यजाँचमा सो भिडियो भ्रामक सूचना भएको पुष्टि भएको छ। भिडियो नेपालको नभई भारतको हो।
के हो दावी?
असार ९ गते, ८ हजार ७ सय फलोअर रहेका भरत लिम्बु नामक फेसबुक प्रयोगकर्ताले एक भिडियो अपलोड गरेका हुन्। ११ सेकेन्डको भिडियोको अगाडी २०७६ सालको केपी एकसप्रेस पानी जहाज-एमालेको एजेण्डा लेखिएको छ।
भिडियोमा डुबानमा परेको सडकमा एउटा बस चलिरहेको देखिन्छ, जसले पानीमा छालसमेत बनाएको देखिन्छ।
हेर्नुस् स्क्रिनरेकर्ड
स्क्रिनसट यहाँ हेर्न सकिन्छ
यो तथ्यजाँच तयार पार्दासम्म भरत लिम्बुले पोस्ट गरेको भिडियोलाई १६ हजार ८ सय जनाले रियाक्ट गरेको उक्त भिडियोमा १ हजार १ सय कमेन्ट देख्न सकिन्छ। सो भिडियो ३ हजार ७ सय पटक सेयर गरिएको छ।
त्यसैगरी, असार ७ गते १९ हजार फलोअर भएकी मनिका क्षेत्री नामक प्रयोगकर्ताले सोही भिडियो अपलोड गरेकी छन्। सो भिडियो फरक कोणबाट अपलोड गरेकी छन्। वाइड एङ्गलमा खिचिएको उक्त भिडियोमा काठमाडौंमा पानिजहाज आयो भन्दै काठमाडौंकै दृश्य भएको दावी गरिएको छ।
हेर्नुस् स्क्रिनरेकर्ड
स्क्रिनसट यहाँ हेर्न सकिन्छ
यो तथ्यजाँच तयार पार्दासम्म मनिका क्षेत्रीले पोस्ट गरेको भिडियोलाई १ सय ४६ जनाले रियाक्ट गरेका छन् भने उक्त भिडियो २८ पटक सेयर गरिएको छ।
के हो तथ्य?
भिडियो कहाँको हो भन्ने पत्ता लगाउन हामीले त्यसको स्क्रिनसट गुगलमा रिभर्स इमेज सर्च गरेर जाँच गर्यौं। खोजीका क्रममा सन् २०२२ जुलाई २५ मा युट्युवमा अपलोड गरिएको एक भिडियो फेला पर्यो, सो भिडियोको क्याप्सनमा भिडियो भारत राजस्थान स्थित जयपुरको रहेको बताइएको थियो।
हेर्नुस् स्क्रिनसट

यसबारे थप जानकारी जुटाउन हामीले राजस्थानको जयपुरमा आएको बाढीसम्बन्धी समाचारहरू खोज्यौं। खोजीका क्रममा सन् २०२२ जुलाई २३ मा प्रकाशित ए.बी.पी. न्यूजको समाचार फेला पर्यो। सो समाचारमा जयपुरमा आएको बाढीका कारण सडकमा सवारीसाधन तैरिएको उल्लेख गरिएको छ। सो सामचारमा प्रयोग गरिएको चौथो तस्बिर र भाइरल भिडियोसँग दृष्य दुरुस्तै मिलेको पाइयो।
पढ्नुस् समाचारको अर्काइभ
हेर्नुस् स्क्रिनसट

भिडियो भारतको जयपुरको भएको थाहा पाएपछि थप पुष्टि गर्न हामीले गुगल म्यापमार्फत सोही ठाउँ खोजेर हेर्यौं। खोजीका क्रममा जयपुरको चोमु पुलिया नजिकै भिडियोलाई खिचिएको स्थान पहिचान गर्न सक्यौं। सो स्थानको गुगल स्ट्रिट भ्यू र नेपालको भन्दै फैलाइएको भिडियोको दृश्य दुरुस्तै मिलेको पाइयो।
हेर्नुस् तुलनात्मक तस्बिर

यसर्थ, नेपालमा भएको डुबान भन्दै फैलाइएको भिडियो नेपालको नभई भारतको राजस्थानको हो। राजस्थानको जयपुरमा सन् २०२२ मा आएको डुबानको भिडियो नेपालमा भएको भन्दै फैलाइएको हो।
तथ्यजाँच
दावीः नेपालको काठमाडौंमा डुबान र सडकमा पानीमा तैरिरहेका सवारी साधनहरू
दावीकर्ताः भरत लिम्बु र मनिका क्षेत्री लगायतका सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता।
तथ्यः भ्रामक सूचना। नेपालको भन्दै फैलाइएको भिडियो भारतको राजस्थान स्थित जयपुरको हो। यो भिडियो राजस्थानको जयपुरस्थित चोमु पुलिया नजिकै सन् २०२२ मा भएको डुबानको हो।