तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

के प्रचण्डले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन्?


के प्रचण्डले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेका हुन्?

पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा पुर्पक्षका लागी थुनामा छन्। लामिछाने माथि राजनैतिक प्रतिशोध साधिएको भन्दै रास्वपाले भने हस्ताक्षर संकलन अभियान थालेको छ। सोही हस्ताक्षर संकलन अभियानमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि संलग्न भएको दाबी गर्दै एक फोटो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ।

तर हाम्रो तथ्यजाँचमा भने उक्त दावी भ्रामक सूचना भएको पाइएको छ। पुरानो फोटोलाई फरक सन्दर्भमा प्रयोग गरिएको हो।

के हो दावी?

गत असार १४ गते विज्ञ कुमार श्रेष्ठ नामक फेसबुक प्रयोगकर्ताले एक फोटो रिलका रूपमा अपलोड गरेका हुन्। ६ हजार ३ सय फलोअर रहेका श्रेष्ठले उक्त फोटोमा “ रवि लामिछाने लाई राज्य ले प्रतिशोध साधेको भन्दै आज हस्ताक्षर गरे पुर्व प्रधानमन्त्री प्रचण्ड” लेखेका छन्। रिलका रुपमा सेयर गरिएको फोटोमा प्रधानमन्त्री प्रचण्डले सेतो कपडामा केही लेख्दै गरेको जस्तो देखिन्छ। टेबलमा विच्छ्याइएको सेतो कपडामा लामिछानेको फोटो भएको कगज समेत देख्न सकिन्छ।

हेर्नुस् स्क्रिनसट

यो तथ्यजाँच तयार पार्दा सम्म १६ हजार ७ सय जनाले रियाक्ट गरेको सो पोस्टमा ३५४ कमेन्ट छन्। उक्त पोस्ट ५०१ पटक सेयर समेत गरिएको छ।

के हो तथ्य?

हामीले फोटोको वास्तविकता पत्ता लगाउन गुगल रिभर्स इमेज सर्च प्रयोग गर्‍यौं। रिभर्स इमेज सर्च गरेर हेर्दा नेपाल भ्युजमा प्रकाशित एक समाचार फेला पऱ्यो। मंसिर २०८१ मा प्रकाशित सो समाचार अनुसार प्रचण्डले प्यालेस्टिनीको पक्षमा हस्ताक्षर गरेको उल्लेख छ।

पढ्नुस् समाचार अर्काइभ

हेर्नुस् स्क्रिनसट

त्यस्तै, मंसिर २४ मा शान्तिबाटिकामा सुरु भएको “प्यालेस्टाइनमाथि इजरायली संहारविरुद्ध हस्ताक्षर अभियान” मा प्रचण्डको उपस्थितिबारे  अनलाइन खबर मा पनि समाचार प्रकाशित भएको हामिले पायौं। सो कार्यक्रममा प्रचण्ड पनि उपस्थित रहेको फोटो समेत अनलाइन खबरले प्रकाशित गरेको छ।

हेर्नुस् स्क्रिनसट

हामीले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरिएको दाबी गरिएको भाइरल फोटो र २०८१ मंसिरमा प्रकाशित वास्तविक फोटो एकै ठाउँमा राखेर तुलना गर्यौं। तुलनात्मक अध्ययन गर्दा दुवै फोटो उस्तै भएको पुष्टि भयो। मंसिरमा प्रकाशित फोटोलाई फ्लिप (उल्टो) गरेर भाइरल बनाइएको, त्यसमाथि रवि लामिछानेको तस्बीर देखिने कागजसमेत थपेर सम्पादन गरिएको पाइयो।

हेर्नुस् तुलनात्मक फोटो

यसर्थ, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको भन्दै फैलाइएको फोटो भ्रामक सूचना हो। वास्तविक रूपमा सो फोटो २०८१ मंसिर २४ गते शान्तिबाटिकामा आयोजित “प्यालेस्टाइनमाथि इजरायली जनसंहारविरुद्ध संयुक्त हस्ताक्षर अभियान” को क्रममा खिचिएको हो, जसलाई फरक सन्दर्भमा प्रयोग गरिएको हो।

तथ्यजाँच

दावीः रवि लामिछाने विरुद्द सरकारले प्रतिशोध सांधेको भन्दै पुष्प कमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको।

दावीकर्ताः विज्ञ कुमार श्रेष्ठ नामक फेसबुक प्रयोगकर्ता।

तथ्यः भ्रामक सूचना। प्रचण्डले “प्यालेस्टाइनमाथि इजरायली जनसंहारविरुद्ध संयुक्त हस्ताक्षर अभियान” का क्रममा हस्ताक्षर गर्दै गरेको फोटो सामाजिक सञ्जालमा रवि लामिछानेको पक्षमा गरिएको हस्ताक्षर भन्दै फैलाइएको हो। सो फोटोलाई फ्लिप गरेर, रवि लामिछानेको तस्बीर देखिने कागज समेत थपेर भाइरल बनाइएको हो।

 

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add