तथ्यजाँच भ्रामक सूचना वागमती

सिंहदरबारमा नग्न प्रदर्शन : पुरानो भिडियो हालको भन्दै फैलाइँदैछ भ्रामक दाबी


सिंहदरबारमा नग्न प्रदर्शन : पुरानो भिडियो हालको भन्दै फैलाइँदैछ भ्रामक दाबी

सिंहदरबार अगाडि एक व्यक्ति नाङ्गै धर्ना बसेको दावी गर्दै एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको छ। भिडियोमा लुगा नलगाएका एक युवक बाटो उभिएर केही बोल्दै गरेको देख्न सकिन्छ।

तर हाम्रो तथ्यजाँचमा भने उक्त दावी भ्रामक सूचना भएको पाइएको छ। भिडियो करिब ७ वर्ष पुरानो हो।

के हो दावी?

५५ हजार फलोअर रहेको हाम्रो लहान राम्रो लहान नामक फेसबुक पेजले गत जुलाई २३ मा ७ मिनेट २६ सेकेन्ड लामो एउटा भिडियो पोस्ट गरेको छ। भिडियोमा लुगा नलगाएका एक व्यक्तिले गाई र गोरु मार्नेलाई किन कानून लगाएको भन्दै गरेको सुन्न सकिन्छ।

यो तथ्यजाँच तयार पार्दा सम्म ३१ हजार जनाले रियाक्ट गरेको यो भिडियोमा १ हजार ४ सय कमेन्ट रहेका छन्। सो भिडियो २ हजार २ सय पटक सेयर समेत गरिएको छ।

अन्य फेसबुक पेजले समेत सोही भिडियो आ-आफ्नो ढंगले सेयर गरिरहेका छन्। 

हेर्नुस् स्क्रिनरेकर्ड-

के हो तथ्य?

सिंहदरबार अगाडि नाङ्गै धर्ना बसेको दावी गरिएकाले यही की-वर्ड राखेर हामीले गुगल सर्च गर्‍यौँ। यस क्रममा ७ वर्ष अगाडि अर्थात् २०७५ भदौ १ गते प्रकाशित एउटा समाचार फेला पऱ्यो।

अनलाइनखबरमा प्रकाशित समाचारमा नयाँ मुलुकी ऐन (मुलुकी संहिता)को विरोधमा ती व्यक्तिले  सिंहदरबार अगाडि प्रदर्शन गरेको उल्लेख छ। समाचारमा ती व्यक्ति नयाँ ऐनको पहिलो शिकार भएको भनिएको छ।

पढ्नुस् समाचारको अर्काइभ

हेर्नुस् स्क्रिनसट

त्यसैगरी, उज्यालो अनलाइनमा पनि २०७५ भदौ १ गते प्रकाशित समाचार फेला पऱ्यो। सो समाचारका अनुसार अनुसार एक युवकले गोरु मार्नेलाई कानुन लगाएको भन्दै सरकारको विरोधमा सिंहदरबारको दक्षिणी गेट अगाडि नग्न प्रदर्शन गरेका हुन्। 

पढ्नुस् अर्काइभ

समाचारमा राखिएको फोटोमा देखिएका व्यक्ति र अहिले भाइरल भएको भिडियोमा देखिएका व्यक्ति एउटै हुन्।

तसर्थ, सिंहदरबाट अगाडि एक युवकले नग्न प्रदर्शन गरेको भिडियो ७ वर्ष पुरानो हो। नयाँ मुलुकी संहिता लागू हुने दिन नग्न प्रदर्शन गर्दा उनी पक्राउ परेका थिए।

तथ्यजाँच

दावीः सिंहदरबार अगाडि हालै एक युवकले नग्न प्रदर्शन गरेका छन्।

दावीकर्ताः सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता।

तथ्यः भ्रामक सूचना। सिंहदरबार अगाडि युवकले नग्न प्रदर्शन गरेको भिडियो अहिलेको होइन, ७ वर्ष पुरानो हो। २०७५ भदौ १ गते नयाँ मुलुकी संहिता लागू हुने दिन नग्न प्रदर्शन गर्दा उनी पक्राउ पनि परेका थिए।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add