- नेपाल तथ्यजाँच
- साउन २०, २०८२

नुवाकोटकी महिलाले पाँच बच्चा जन्माएको भाइरल सूचनाले यसरी फैलायो भ्रम
नुवाकोटकी एक महिलाले पाँच जना बच्चा जन्माएको दावी गरिएको पोस्ट अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी भ्रामक रहेको ठहर गरेको छ। पाँच जना बच्चा जन्मिएको त हो, तर अहिले होइन। ५ वर्षअघिको घटनालाई सन्दर्भ र मिति उल्लेख नगरी एआई तस्बिरसमेत प्रयोग गरी भ्रामक बनाई हालैको घटना जसरी भाइरल गराइएको हामीले पायौँ।
के छ दावी ?
पाँच लाख २३ हजार फलोअर्स रहेको मिडिया क्लब नेपाल नामक फेसबुक पेजले अगस्त ३ मा ‘नुवाकोटमा एक महिलाले एकै पटक ५ ओटा बच्चालाई जन्म दिएकी छिन्’ क्याप्सन राखेर एआईबाट तयार पारिएको फोटो पोस्ट गरेको छ।
त्यस्तै, उक्त पोस्टको कमेन्टमा सोही पेजले, ‘यो सत्य हो! तस्बिर चैं एआई हो। मिडिया क्लबबाट दिइने समाचार सत्य तथ्य बुझेर मात्र प्रसारण गरिन्छ’ दावी गरेको छ।
हेर्नुस्, स्क्रिनसट। अर्काइभ लिङ्क

यो तथ्यजाँच तयार गर्दासम्म उक्त पोस्टमा १५ हजार रियाक्सन, ८९१ कमेन्ट र २८९ पटक सेयर गरिएको छ।
यही फोटोसहित यस्तै दावी २ लाख ५७ हजार फलोअर्स भएको नारी नामको फेसबुक पेजमा पनि देखिन्छ। हेर्नुस् अर्काइभ लिङ्क।
त्यस्तै, तीन लाख ९२ हजार फलोअर्स रहेको राम कुमार लिम्बु - राम नामको फेसबुक पोस्टमा पनि फरक एआई तस्बिर राखी यस्तै दावीसहितको पोस्ट गरिएको छ।
यो तथ्यजाँच गर्दासम्म उक्त पोस्टमा २६ हजार रियाक्शन, २५ सय कमेन्ट र ६९० पटक सेयर गरिएको छ।
हेर्नुस्, स्क्रिनसट। हेर्नुस्, अर्काइभ लिंक

तथ्य के हो ?
यसबारे तथ्य बुझ्नका लागि हामीले सुरुमा जिल्ला जनस्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी कृष्ण रिजाललाई सम्पर्क गर्यौँ।
उनले जिल्लाको कुनैपनि स्वास्थ्य संस्थाले यस्तो सूचना नदिएको बताए। उनका अनुसार, जिल्लाभरका विभिन्न स्वास्थ्य संस्थाले यस्ता जटिल किसिमका घटना हुँदा जानकारी गराउँछन्। “यदि त्यो घटना सत्य हो भने यतिबेलासम्म हामीलाई जानकारी प्राप्त हुन्थ्यो, हल्ला मात्रै होला,” उनले भने।
त्यसपछि हामीले जिल्ला अस्पताल त्रिशुलीका निर्देशक डा. राजेन्द्र लामालाई सम्पर्क गर्यौँ। उनले यस्तो जटिल किसिमको केस त्यहाँ नआएको बताए । त्यस्तै, यस्ता जटिल किसिमका केस जिल्लाका स्वास्थ्य संस्थाले हेर्न नसक्ने भएकाले काठमाडौँतिरका अस्पतालमा लगेकाले उतै जन्माएको हुनसक्ने उनले अड्कल काटे।
“मान्छे नुवाकोटकै भएतापनि काठमाडौँको अस्पतालमा बच्चा जन्माएको पो हो कि, एक पटक त्यतै बुझ्नुस् न” उनले भने।
त्यसपछि हामीले थापाथलीस्थित प्रसुति गृहका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई सम्पर्क गर्यौँ । उनले त्यस्तो घटना हालसालै नभएर सन् २०२० तिरको भएको बताए। “अहिले यस्तो केस आएको छैन, त्यो पुरानो हो,” उनले भने।
हामीले ‘नुवाकोट, महिला, पाँच बच्चा’ कीवर्ड राखेर गुगलमा सर्च गर्यौँ। त्यो क्रममा २०७७ असोज १९ गते प्रकाशित विभिन्न समाचार भेटिए। ती समाचारमा नुवाकोटकी सोमिका तामाङले थापाथलीस्थित प्रसुति गृहमा शल्यक्रियामार्फत् पाँच जना शिशुलाई जन्म दिएको उल्लेख छ। पाँचमध्ये जन्मँदा एक बच्चा मृत जन्मिएको समेत समाचारमा उल्लेख छ।
हेर्नुस् स्क्रिनसट-

देशसञ्चारमा प्रकाशित समाचारको स्क्रिनसट। अर्काइभ लिङ्क
अरु विभिन्न मिडियामा प्रकाशित समाचारहरु-
नेपालमा पहिलोपटक नुवाकोटकी सोमिकाले जन्माइन् एकै पटकमा पाँच शिशु (नेपालखबर)
काठमाडौंमा जन्मिए एकैपटक पाँच छोरी, एकको मृत्यु, बाँकी सकुशल
पेटमा पाँच बच्चा थिए, बाँचेका तीन कसरी हुर्किँदै छन् (बीबीसी नेपाली)
तथ्यजाँच
दावी : नुवाकोटको एक महिलाले हालै पाँच जना बच्चा जन्माइन्।
दावीकर्ता : फेसबुक पेजहरु मिडिया क्लब नेपाल, रामकुमार लिम्बु।
तथ्यजाँच : भ्रामक सूचना । हालसालै नुवाकोटको कुनै महिलाले पाँच जना बच्चा जन्माएकी छैनन् । २०७७ असोजमा नुवाकोटकी एक महिलाले थापाथलीस्थित प्रसुती गृहमा शल्यक्रिया मार्फत पाँच जना बच्चा जन्माएकी थिइन् । त्यही घटनालाई अहिले सन्दर्भ तथा मिती उल्लेख नगरि भाइरल गराइएको हो।