तथ्यजाँच भ्रामक सूचना वागमती सम्बन्धित प्रदेश

टेबलमा टायर फ्याँकेको भाइरल भिडियो नेपालको होइन


टेबलमा टायर फ्याँकेको भाइरल भिडियो नेपालको होइन

बैठक बसिरहेको टेबलमा टायर फालिएको एउटा भिडियो फेसबुकमा भाइरल भइरहेको छ। भाइरल भिडियोमा गोरखकाली टायर कम्पनी बन्द गरेको विरोधस्वरुप त्यसरी टायर फ्याँकिएको दावी गरिएको छ। 

तर हाम्रो तथ्यजाँचमा भने उक्त दावी भ्रामक भएको पुष्टि भयो। भिडियो सही भए पनि यो नेपालको होइन, ग्वाटेमालाको दृश्य हो। 

के हो दावी?

१६ हजार फलोअर रहेको नेपाल सोसाइटी न्युज नामक फेसबुक पेजले गत भदौ १ गते एउटा भिडियो पोस्ट गरेको छ। समाचारको भाग जसरी भिडियोमा नेपाल सोसायटी न्युजको नाम लेखिएको छ।  भिडियोमा एक जनाले टेबलमा टायर फालिरहेको देख्न सकिन्छ। टायर टेबुलमा फ्याँकेर केही बोलेको सुन्न सकिन्छ तर बोलेको भने बुझिँदैन।

भिडियोमा नेपालको गोरखकाली टायर कम्पनी किन बन्द गरेको हो? भन्दै टायर उचालेर टेबल्मा फाल्नु भो ! लेखिएको छ।

हेर्नुस् स्क्रिनरेकर्ड

स्क्रिनसट यहाँ हेर्न सकिन्छ

यो तथ्यजाँच तयार पार्दासम्म ६ हजार ४ सय भन्दा बढीले रियाक्ट गरेको सो भिडियोमा ९२ कमेन्ट छन। भिडियो ३६४ पटक सेयर पनि गरिएको छ।

के हो तथ्य?

भिडियोमा सुनिने भाषा नेपाली होइन भनेर आवाजबाटै बुझ्न सकिन्छ। सो भिडियोको स्क्रिनसट लिएर गुगलमा रिभर्स इमेज सर्च गरेर हेर्दा युट्युबमा एउटा भिडियो भेटियो।

जुलाई २३, २०२५ मा युट्युबमा अपलोड गरिएको भिडियोमा बैठकको लामो अंश राखिएको छ। सो युट्युब भिडियोमा राखिएको विवरण अनुसार उक्त घटना ग्वाटेमाला (उत्तर अमेरिकी राष्ट्र) को हो। 

हेर्नुस् स्क्रिनसट

ग्वाटेमाला देशमा सबैभन्दा बढी प्रयोग हुने भाषा स्पेनिस हो। गुगल ट्रान्सलेटको सहायताले स्पेनिश भाषामा टायर टेबुलमा फालिएको घटना बारे खोजी गर्दा प्रेन्सा लिब्रे नामक समाचारपत्रमा प्रकाशित एक समाचार भेटियो।

हेर्नुस् गुगल ट्रान्सलेटबाट अङ्ग्रेजीमा अनुवाद गरिएको स्क्रिनसट 

प्रेन्सा लिब्रेमा गत जुलाई २२ मा प्रकाशित समाचारका अनुसार भिडियो ग्वाटेमालाको संसदको हो। त्यहाँका एक सांसदले सञ्चार मन्त्रीतर्फ टायर फ्याँकेका थिए। बैठकमा ती सांसदले खराब सडकका कारण टायर बिग्रिरहेको भन्दै आफ्नो भनाइसमेत राखेको समाचारमा उल्लेख छ।

तसर्थ नेपालमा गोरखकाली टायर कम्पनी बन्द गरेको विरोध स्वरुप टायर टेबुलमा फालिएको भन्दै फैलिएको भिडियो भ्रामक हो। 

तथ्यजाँच

दावीः गोरखकाली टायर कम्पनी बन्द गरेको विरोध स्वरुप टायर टेबलमा फालिएको।

दावीकर्ताः नेपाल सोसाइटी न्युज फेसबुक पेज।

तथ्यः भ्रामक सूचना। नेपालमा भएको विरोध भन्दै फैलाइएको भिडियो वास्तवमा ग्वाटेमालाको हो। त्यहाँको बैठकमा एक सांसदले मन्त्री तर्फ टायर फ्याँकेको दृश्यलाई नेपालको भन्दै गलत दावीका साथ फैलाइएको हो। 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add