- नेपाल फ्याक्ट चेक
- भदौ २०, २०८२

सुपादेउराली मन्दिरको भाइरल फोटो वास्तविक होइन
- जानु पाण्डे –
लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लामा पर्ने प्रसिद्ध सुपादेउराली मन्दिर फूलैफूलले सजाइएको दावी गरिएको पोस्ट फेसबुकमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचले यो दावी मिथ्या रहेको ठहर गरेको छ। त्यो फोटो वास्तविक नभई एआईबाट तयार पारिएको हो।
के हो दावी?
फेसबुकमा भदौ १२ गते ५२ हजार फलोअर्स रहेको मिस्टर नायक नाम भएका प्रयोगकर्ताले त्यो फोटोलाई ‘आज सुपादेउरालीलाई यसरी सजाइएको छ, तपाईँले जे माग्नुभयो त्यो पाउनु हुन्छ….’ लेख्दै पोस्ट गरेका थिए।
फोटोमा एउटा मन्दिरको वरपर फूलैफूलले सजाइएको देख्न सकिन्छ।
हेर्नुस् स्क्रिनसट-

यो तथ्य जाँच तयार पार्दासम्म यो पोस्टमा ५२ हजारभन्दा बढी रियाक्सन छन् भने १ हजार ७ सय कमेन्ट र २८४ पटक सेयर देखिन्छ। हेर्नुस् अर्काइभ लिङ्क
अर्थात् फोटो भाइरल भएको छ।
यही फोटो श्री मस्टो पडकास्टका सञ्चालक महेश शमशेर राणाले पनि आफ्नो फेसबुकबाट सेयर गरेका छन्, जसमा २ सयभन्दा बढी रियाक्सन र २२ कमेन्ट देखिन्छ। हेर्नुस् स्क्रिनसट-

के हो तथ्य?
भाइरल फोटो बारे तथ्य जाँचका लागि हामीले सुपादेउराली मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष हरि खनालसित सम्पर्क गर्यौँ। उनले फोटोमा देखिए जस्तो गरी मन्दिरको सजावट नभएको बताए।
त्यसपछि हामीले फोटोलाई ध्यानपूर्वक हेर्यौँ। फोटोको बायाँ छेउमा अस्वभाविक रुपमा फूलको सजावट माथि गएको देखिन्छ।

हामीले कपिलवस्तुका फोटो पत्रकार बृजेश जयसवालले खिचेको फरक एङ्गलको ड्रोनको फोटो पनि हेर्यौँ। ड्रोनको वास्तविक फोटो र भाइरल भएको फोटोमा केही फरक देख्यौँ।
त्यसपछि हामीले इमेजह्विस्पररमा यो फोटोको विश्लेषण गर्यौँ। नतिजामा यो फोटो एआई जेनेरेटेड भएको ‘भेरी हाइ कन्फिडेन्स’ देखायो।

यद्यपि, यस्ता टुलहरुबाट गरिने विश्लेषण कहिलेकाहीँ गलत पनि हुनसक्छ। तर यो फोटोका विषयमा मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष हरि खनालको भनाई, फोटोमा देखिएको अस्वभाविकपना, वास्तविक फोटोसँगको तुलना र टुलको विश्लेषण सबैको आधारमा हामीले यो फोटो मिथ्या तथा एआई जेनेरेटेड रहेको ठहर गरेका छौँ।
तथ्य जाँच
दावी : सुपादेउराली मन्दिरको सजावट
दावीकर्ता : फेसबुक प्रयोगकर्ता एमआर नायक र महेशशमशेर राणा
तथ्य : मिथ्या सूचना। सुपा देउराली मन्दिरलाई फूलैफूलले सजाइएको दावी गरिएको फोटो वास्तविक नभई एआई जेनेरेटेड हो।