तथ्यजाँच भ्रामक सूचना वागमती

पशुपतिनाथको पुरानो भिडियो भ्रामक दावीका साथ भाइरल बनाइयो


पशुपतिनाथको पुरानो भिडियो भ्रामक दावीका साथ भाइरल बनाइयो

जेनजी आन्दोलनका क्रममा मंगलबार राजधानीका विभिन्न भागमा भएका तोडफोड र आगजनीका बीच बेलुका एउटा सूचना तीब्र गतिमा फैलियो- पशुपतिनाथ मन्दिरमा पनि अराजक तत्त्वहरु पुगेर तोडफोडको प्रयास गरेका छन्। यही दावीका साथ एउटा भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ। तर हाम्रो तथ्यजाँचमा सो भिडियो पुरानो र जात्राको भएको पाइएको छ।

के हो दावी ?

कर्पोरेट बजार नामको फेसबुक पेजले ‘Gen-Z को नाममा घुसपैठ गरेका हरुले पशुपतिनाथको मन्दिरमा समेत तोडफोड सुरु गरिसके’ लेख्दै एउटा भिडियो पोस्ट गरेको छ। उक्त भिडियोमा यो तथ्य जाँच तयार पार्दासम्म ८४ लाइक, २१ कमेन्ट र ४४ सेयर देखिन्छ।

भिडियोमा पशुपतिनाथको गेटमा केही मान्छे चढेको देखिन्छ।

हेर्नुस् स्क्रिनसट-

यो हल्ला फैलिएपछि अरु फेसबुक पेज र प्रोफाइलहरुले पनि यस्तै सूचना राखेको देखिन्छ।

के हो तथ्य ?

भाइरल भएको भिडियोको स्क्रिनसट निकालेर रिभर्स इमेज सर्च गर्ने क्रममा हामी हाम्रोजात्रा नामको टिकटक अकाउन्टमा पुग्यौँ। त्यहाँ अहिले भाइरल भएकै भिडियो भेट्यौँ। भिडियो अपलोड भएको मिति 7-14 लेखेको देखिन्छ। हेर्नुस् स्क्रिनसट-

टिकटक भिडियो कहिले अपलोड गरिएको हो भनेर स्पष्ट हेर्न मिल्ने बेलिङ क्याट्सको टुल पनि हामीले प्रयोग गरी हेर्‍यौँ। यसरी हेर्दा के देखियो, हेर्नुस् स्क्रिनसट-

अर्थात् यो भिडियो झण्डै दुई महिनाअघि हाम्रोजात्रा नामको टिकटक प्रयोगकर्ताले अपलोड गरिसकेको भिडियो हो। यसमा अहिले भइरहेको जेनजी आन्दोलन र त्यसका आडमा मच्चिरहेको तोडफोड र आगजनीको कुनै सम्बन्ध छैन। तर सोही भिडियोमा समेत पछिल्लो घटनासँग जोडेर नयाँ कमेन्टहरु भएको देख्न सकिन्छ।

तथ्य जाँच

दावी : पशुपतिनाथ मन्दिरमा जेनजीको नाममा घुसपैठ गरेकाहरुले तोडफोड गरिसके।

दावीकर्ता : सामाजिक सञ्जाल प्रयोगकर्ता

तथ्य : भ्रामक सूचना। यो भिडियो दुई महिनाअघि नै एउटा टिकटक अकाउन्टमा पोस्ट भइसकेको भिडियो हो। पछिल्ला घटनाक्रमसित यसको कुनै साइनो छैन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add