तथ्यजाँच मिथ्या सूचना वागमती

पूर्व प्रधानमन्त्री झलनाथ खनालकी श्रीमतीको उपचार हुँदै, निधनको खबर मिथ्या


पूर्व प्रधानमन्त्री झलनाथ खनालकी श्रीमतीको उपचार हुँदै, निधनको खबर मिथ्या

जेन-जी आन्दोलनका क्रममा नेताहरुको निवासमा भएको आक्रमण  र आगजनीमा परी पूर्व प्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकारको निधन भएको खबर भारतीय मिडियामा आएका छन्।

तर हाम्रो तथ्य जाँचले यो खबर गलत रहेको ठहर गरेको छ। हामीले चित्रकारलाई आइसियुमा राखी उपचार भइरहेको अस्पतालबाट यसको पुष्टि गरेका छौँ।

के हो दावी ?

२ करोड ९७ लाख सब्सक्राइबर्स भएका युट्युबका इन्फ्लुएन्सर ध्रुव राठीले सेप्टेम्बर १० मा अपलोड गरेको What’s REALLY Happening in Nepal? | The Gen-Z Revolt Explained शीर्षकको भिडियोको ३७ औँ सेकेन्डमा भारतीय मिडिया ‘मिन्ट’ को समाचारलाई उद्‍धृत गर्दै पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी राज्यलक्ष्मी चित्रकार (वास्तवमा रविलक्ष्मी चित्रकार) को निधन भएको बताइएको छ। हेर्नुस् स्क्रिनसट-

हामीले भारतका अन्य मिडियाहरुमा पनि यस्तै समाचार भेट्यौँ। उदाहरणका लागि टाइम्स अफ इन्डियाले Nepal violence: Ex-PM Khanal’s wife dies after protesters torch house; president urges calm, dialogue शीर्षकमा समाचार लेखेको छ (अर्काइभ लिङ्क) भने मिन्टले Ex-Nepal PM Jhalanath Khanal’s wife Rajyalaxmi Chitrakar dies after Gen Z protesters set their house on fire शीर्षकमा (अर्काइभ लिङ्क)

त्यसैगरी द डेली जागरणले पनि Nepal’s Former First Lady Dies After Protesters Set Her Kathmandu Home Ablaze Amid Escalating Violence शीर्षकमा समाचा राखेको छ (अर्काइभ लिङ्क)

त्यस्तै नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) लाई उद्‍धृत गर्दै केही अनलाइन मिडियाले पनि यही समाचार राखेका थिए-

हेर्नुस् अर्काइभ लिङ्क

के हो तथ्य ?

यसको तथ्य जाँचका लागि हामीले चित्रकारलाई उपचारका लागि राखिएको कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण नकर्मीसित सम्पर्क गर्‍यौँ। ‘उहाँको स्वास्थ्य अवस्था क्रिटिकल छ’, डा. नकर्मीले बिहीबार दिउँसो फोन सम्पर्कमा हामीलाई भने, ‘उपचार भइरहेको छ।’

त्यस्तै बीबीसी नेपालीले पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उद्‍धृत गर्दै लेखिएको छ, ‘ सुरक्षाकर्मीले छिमेकीको घरको माथिल्लो तलाबाट मेरो घरभित्र पस्दा बेहोस भएर जलिरहेकी श्रीमतीलाई बाहिर निकालेर अस्पताल लगेछन्। अहिले उनी अस्पतालमा भेन्टिलेटरमा छिन्।’

राससबाट मृत्युको समाचार राख्ने लोकान्तर, थाहाखबर लगायतका अनलाइन समाचारले पनि क्षमा माग्दै समाचार सच्याएका छन्।

तथ्य जाँच

दावी : पूर्व प्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको मृत्यु।

दावीकर्ता : ध्रुव राठी (युट्युब च्यानल) तथा भारतीय मिडिया

तथ्य : मिथ्या सूचना। चित्रकारको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था क्रिटिकल रहेको अस्पतालका निर्देशकले बताएका छन्।

 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add