तथ्यजाँच भ्रामक सूचना मधेश वागमती

भ्रम फैलाउने लाइभ भिडियोः नेपाली सेनाको नियमित कारवाहीलाई अतिरञ्जित बनाइयो


भ्रम फैलाउने लाइभ भिडियोः नेपाली सेनाको नियमित कारवाहीलाई अतिरञ्जित बनाइयो

बिहीबार (भदौ २६, २०८२) राति फेसबुकमा एउटा लाइभ भिडियोमार्फत् सेनाको बख्तरबन्द गाडीहरु काठमाडौं जाँदै गरेको दावी गरियो। जेनजी आन्दोलनपछिको राजनीतिक शून्यताका बीच हल्लाहरु फैलने क्रममा भिडियोले पनि शंका जन्माइदियो।

तर हाम्रो तथ्यजाँचमा भने उक्त दावी भ्रामक भएको पाइएको छ। सेनाको नियमित काम कारवाहीलाई अतिरञ्जित गर्दै पोस्ट गरिएको पाइएको छ।

के हो दावी?

तेजविक्रम कार्की नामक फेसबुक प्रयोगकर्ताले भदौ २६ गते राति एक भिडियो सार्वजनिक गरे। फेसबुक लाइभमार्फत् देखाइएको भिडियोमा नम्बरप्लेट नभएको बख्तरबन्द गाडी हेटौडाबाट हिँडिरहेको बताइएको छ। नेपाली सेनाको यस्तो गाडी हुन नसक्ने पनि दावी गरिएको छ। भिडियो बनाउने व्यक्ति आफै आतंकित सुनिन्छन्। उनले यस्तो गाडी आफूले कहिलै नदेखेको बताइरहेका छन्।

हेर्नुस् स्क्रिनरेकर्ड-

 

यो तथ्यजाँच तयार पार्दासम्म ८ हजार ३ सय जनाले रियाक्ट गरेको सो भिडियो २४ हजार पटक सेयर समेत गरिएको छ। सो भिडियोमा १ हजार ४ सय कमेन्ट छन्। अधिकांश कमेन्टमा त्रास देखिन्छ।

के हो तथ्य?

नम्बर प्लेट नै नभएको गाडी रहेको र भारतबाट आएको हो कि भन्ने समेत आशंका गर्दै फैलाइएको यो भिडियोको तथ्यजाँच गर्न हामीले नेपाली सेनालाई नै सोध्यौं।

नेपाली सेनालाई बख्तरबन्द गाडीहरुको मुभमेन्ट बारे प्रश्न गर्दा नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले नेपाली सेनाको लजिस्टिक बेस हेटौडा नजिकैको बारा जिल्लास्थित सिमरामा भएको बताए। यसरी सिमराबाट शान्तिसेनाको पाँचखाल सेन्ट्रल क्याम्पमा यी गाडीहरु जान लागेका र यो “सामान्य मुभमेन्ट” भएको उनले बताए।

उनको भनाई अनुसार हामीले पिस अपरेसन्स लजिस्टिक सेन्टर बारे गुगलमा खोज्दा नेपाली सेनाले नै तयार पारेको एउटा पावर प्वाइन्ट प्रिजेन्टेसन स्लाइडसेयरमा भेट्यौँ। त्यसमा राखिएको जानकारी अनुसार संयुक्त राष्ट्रसंघका विभिन्न मिसनमा नेपाली सेनाको सहभागिता बढेसँगै मिसनमा खटिएका, स्ट्यान्डबाइ र मिसन सकिएका सामग्रीको भण्डारण आवश्यक भएपछि, भौगोलिक र प्राविधिक पक्ष, पहुँच र जमिन उपलब्धताको आधारमा २०७६/१०/२० को पीएसओ बैठक नं. ८२२ ले बारा जिल्ला जितपुर ब्यारेक (नं. २८ ब्रिगेड) मा Peace Operation Logistic Center (POLC) स्थापना गर्ने निर्णय गरेको थियो।

तथ्यजाँच

दावीः नम्बरप्लेट नभएको बख्तरबन्द गाडी हेटौडाबाट हिँडिरहेको भन्दै आतंकित पार्ने भिडियो।
दावीकर्ताः फेसबुक प्रयोगकर्ता तेजविक्रम कार्की।
तथ्यः भ्रामक सूचना। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार नेपाली सेनाको लजिस्टिक बेस सिमरामा छ। यसै सिमरा बेसबाट पाँचखाल जाँदै गरेका गाडीको भिडियो लाइभमा देखिएको हो।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add