- प्रविण भट्ट
- भदौ २९, २०८२

भ्रममा नपर्नुस्, चुच्चेपाटीको भाटभटेनीमा ३५ जनाको कंकाल भेटिएको छैन
जेन-जी आन्दोलनका क्रममा देशभरीका विभिन्न भाटभटेनी सुपरस्टोर आक्रमणमा परे। सोही क्रममा काठमाडौँको चुच्चेपाटीस्थित भाटभटेनी सुपरस्टोर पनि जलाइएको थियो। त्यहाँ ३५ भन्दा बढी मानव कंकाल भेटिएको दावी गरिएका पोस्ट सामाजिक सञ्जालमा भाइरल छ। तर हाम्रो तथ्य जाँचमा यो सूचना भ्रामक पुष्टि भएको छ। त्यहाँ जलेको अवस्थामा मानव अवशेष फेला परेका त हुन् तर ३५ वटा होइन।
के हो दावी?
६३ हजार फलोअर रहेका विनय लामा नामक फेसबुक प्रयोगकर्ताले गत भदौ २८ गते एक फोटोसहित स्टाटस पोस्ट गरेका हुन्। स्टाटसमा चुच्चेपाटीको भाटभटेनीमा ३५ जना भन्दा बढीको मानव कंकाल भेटिएको दावी गरिएको छ।
स्थानीय व्यक्तिले भनेको दावी गर्दै राखिएको फोटो स्टाटस सहित ती व्यक्तिले भिडियोसमेत राखेका छन्।
हेर्नुस् स्क्रिनसट

यो तथ्यजाँच तयार पार्दा सम्म २ हजार जनाले लाइक गरेको विनय लामाको भिडियोमा १०६ कमेन्ट छन्। भिडियो २९५ पटक सेयर समेत गरिएको छ।
बिनय लामाको स्टाटसको स्क्रिनसट यहाँ हेर्न सकिन्छ।
यसै गरी अन्य व्यक्तिले पनि सोही दावी सहित स्टाटस पोस्ट गरेका छन्। उक्त स्टाटसको स्क्रिनसट यहाँ र यहाँ हेर्न सकिन्छ।
के हो तथ्य?
हामीले यसबारे बुझ्न काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहरालाई सम्पर्क गऱ्यौं। उनले सो स्थानमा ६ वटा जलेको शव भेटिएको पुष्टि गरे।
चुच्चेपाटीको भाटभटेनीमा भेटिएको शवबारे खोजी गर्दा हामीले केही समाचार भेट्यौं। रातोपाटीमा प्रकाशित समाचारका अनुसार उक्त ठाउँमा ६ जनाको शव भेटिएको बताइएको छ। सो समाचारमा काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी अपिलराज वोहरालाई उदृत गरिएको छ।
हेर्नुस् स्क्रिनसट

यसैगरी अनलाइनखबरमा प्रकाशित समाचारमा पनि सो स्थानमा ६ वटा शव भेटिएको बताइएको छ। अनलाइनखबरको समाचारमा भने काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी विश्व अधिकारीलाई उद्धृत गरिएको छ।
हेर्नुस् स्क्रिनसट-

यसरी दुई फरक-फरक समाचार र दुई फरक स्रोतले पनि चुच्चेपाटीस्थित भाटभटेनी सुपरस्टोरमा ६ वटा शव भेटिएको पुष्टि गरेका छन्। तसर्थ ३५ जना भन्दा बढीको शव भेटिएको भन्दै फैलाइएको खबर अतिरञ्जित हो।
तथ्यजाँच
दावीः चुच्चेपाटीस्थित भाटभटेनी सुपरस्टोरमा ३५ भन्दा बढी मानव कंकाल भेटिएको।
दावीकर्ताः विनय लामा नामक फेसबुक प्रयोगकर्ता।
तथ्यः भ्रामक सूचना। चुच्चेपाटीस्थित भाटभटेनी सुपरस्टोरमा ६ वटा शव भेटिएको प्रहरीले पुष्टि गरेको छ। ३५ जना भन्दा बढीको शव भेटिएको भन्दै अतिरञ्जित खबर फेसबुकमा भाइरल गराइएको हो।
