- नेपाल फ्याक्ट चेक
- भदौ ३१, २०८२

पेरिसमा आईफिल टावरमा आगलागी भएको टिकटकमा भाइरल दाबी मिथ्या
निशान्त अधिकारी
नेपालमा जेन-जी युवाको आन्दोलनपछि विश्वभर जेन-जी आन्दोलनका समयमा भएका भनिएर विभिन्नखाले मिथ्या सूचना फैलिने क्रममा छन्।
फ्रान्सको पेरिस सहरमा जेन-जी आन्दोलनका क्रममा ऐतिहासिक आईफिल टावर जलाएको भन्दै एक भिडियो सामाजिक सञ्जाल टिकटकमा नेपाली प्रयोगकर्ताहरूबिच भाइरल भइरहेको छ।
तर हाम्रो तथ्यजाँचमा भने उक्त दाबी मिथ्या सूचना भएको पाइएको छ।
के हो दाबी?
६४ हजार ७ सय फलोअर रहेको अमित बेलबासे नामक टिकटक प्रयोगकर्ताले गत भदौ २९ गते फ्रान्सको जेन-जीको आन्दोलनको क्रममा ऐतिहासिक आईफिल टावर जलाईएको दाबी गर्दै भिडियो पोस्ट गरेका छन् ।
हेर्नुस् स्क्रिनरेकर्ड
टिकटकमा भाइरल भएको यो भिडियो हालसम्म ९ लाखभन्दा बढीले हेरेका छन् । २० हजार ७ सय लाइक र २७४ कमेन्ट गरिएको छ । ५ हजार ८३० सेयर भएको छ । आउनुस् यसको तथ्यजाँच गरौँ ।
के हो तथ्य ?
हामीले तथ्यजाँच गर्न फ्रान्सका सञ्चारमाध्यम र अन्य अन्तर्राष्ट्रिय मिडिया हेर्यौँ । यसरी अन्तर्राष्ट्रिय मिडिया हेर्दा फ्रान्समा आन्दोलन भएतापनि जेन-जी आन्दोलन भनेर कुनै आन्दोलन भएको छैन।
यसबारे थप बुझ्न आईफिल टावरमा लागेको आगोबारे सर्च गरेर हेर्यौं। आइफिल टावरको आधिकारिक वेबसाइटमा पनि कुनै आगलागीको जानकारी दिइएको छैन।
आइफिल टावरको आधिकारिक सामाजिक सञ्जाल फेसबुक, एक्स (पहिले ट्विटर भनेर चिनिने) र ईन्सटाग्राममा पनि यसबारे कुनै सूचना छैन ।
एक युट्युव च्यानलले पनि आईफिल टावरको लाइभ गरेर देखाउने गर्छ। वेब-क्यामेराबाट लाइभ देखिने यो युट्युव च्यानलमा पनि टावर पूर्णरुपमा सुरक्षित भएको देखिन्छ ।
आईफिल टावरमा लागेको आगोबारे गुगलमा थप सर्च गर्दा रोइटर्सले तयार पारेको तथ्यजाँच भेटियो। रोइटर्सका अनुसार आईफिल टावरमा आगो लागाइएको भन्ने दावी मिथ्या सूचना हो।
हेर्नुस् स्क्रिनसट

हामीले सो भिडियोको स्क्रीनसटलाई तस्बिरमा गरीएका तोडमरोडबारे जानकारी दिने इमेजविस्परर नामक उपकरणमा राखेर पनि हेर्यौँ । ImageWhisper ले सो तस्बिरलाई आईफिल टावरको सही तस्बिरमा आगो थप्न तोडमरोड गरिएको देखायो ।

हामीले उक्त भिडियोलाई Hive AI Detector मा पनि राखेर हेर्यौं। Hive AI Detector का अनुसार सो भिडियो AI-generated भएको हुनसक्छ।
हेर्नुस् स्क्रिनसट

यसर्थ आइफिल टावर जलेको छैन। कम्प्युटरको माध्यमबाट भिडियो सम्पादन गर्दै मिथ्या सूचना फैलाइएको हो।
तथ्यजाँच
दाबी: जेन-जीले फ्रान्सको आईफिल टावर जलाएको।
दाबीकर्ताः टिकटक प्रयोगकर्ता अमित बेलबासे।
तथ्यः मिथ्या सूचना।
फ्रान्समा आन्दोलन भएको भएको भएपनि आईफिल टावर जलेको छैन। कम्पयुटरको माध्यमबाट सम्पादित भिडियो राखेर मिथ्या सूचना फैलाइएको हो।