- नेपाल फ्याक्ट चेक
- अशोज ५, २०८२

नझुक्किनुस् – पुरानो हजारको नोट बन्द भएर नयाँ आएको हैन, भाइरल दावी मिथ्या
- सुरज घिमिरे –
केही दिनयता सामाजिक सञ्जालमा नेपाली एक हजार रुपैयाँको नोट नयाँ बनेको र पुरानो एक हजारको नोट बन्द भएको खबर भाइरल छ। चलनचल्तीको नोटलाई बन्द गरेर नयाँ डिजाइनका साथ नयाँ नोट आएको भन्दै प्रचार गरिएको सूचना हाम्रो तथ्य जाँचमा भने गलत रहेको पाइएको छ।
के हो दाबी ?
असोज २ गते बिहीबार, दिउँसो ३ः५४ मा “Vikram Tiwari” नामको फेसबुकमा फोटोसहितको एउटा पोस्ट भयो, जसमा पुरानो हजारको नोट बन्द भएको दावी गर्दै नयाँ नोट आएको र पुरानो नोट छ भने ब्याङ्कमा गएर साटेर नयाँ नोट साट्न सकिने दावी गरिएको छ।
८ हजार फलोअर्स भएको उक्त पेजमा राखिएको पोस्टमा हामीले तथ्य जाँच गरिरहँदा १० हजार रियाक्सन, ७३३ कमेन्ट र ३६८ पटक शेयर भएको छ।
हेर्नुहोस् स्क्रिनसट-

हबहु सोही फोटो र स्टायटस यहाँ र यहाँ पनि हेर्न सकिन्छ।
के हो तथ्य ?
नयाँ नोट दावी गरिएको फोटोमा अक्षर स्पष्ट छैन, रुपैयाँ एक हजारको पनि हिज्जे बिग्रिएको छ। सामान्यतया एआईबाट फोटो बनाउँदा यसरी हिज्जे बिग्रन सक्छ।

हामीले तथ्य जाँचको लागि यो फोटोलाई गुगलमा रिभर्स इमेज सर्च गर्यौँ। तर, कुनै पनि आधिकारिक सञ्चारमाध्यम या नेपाल राष्ट्र बैङ्कले यस्तो नोटको फोटो राखेको भेट्टाउन सकेनौँ।
त्यसपछि हामीले नेपाल राष्ट्र बैङ्कको www.nrb.org.np वेबसाइट हेर्यौ । वेबसाइटको Bank Notes Security Features मा गएर नक्कली र सक्कली नोटको बारेमा हेर्यौ ।
नेपाल राष्ट्र बैङ्कले राखेको सक्कली नोट :


हामीले राष्ट्र बैङ्कले नयाँ नोट सार्वजनिक गरेको भन्ने विषयमा कुनै जानकारी र आधिकारिक सूचना प्राप्त गर्न सकेनौँ । बरु, पहिले एक हजारको नोटमा एउटा मात्रै हात्ती हुने गरेकोमा २०७७ को साउनदेखि जुम्ल्याहा हात्तीसहितको नयाँ नोट बजारमा पठाइएको अनलाइन खबरले समाचारमा उल्लेख गरेको छ ।
२०७७ साउन ७ गते अनलाइन खबरमा प्रकाशित समाचार :

अनलाइन खबरमा प्रकाशित समाचारको अर्काइभ लिंक (समाचार पढ्न यहाँ क्लिक गर्नुहोस्)
तथ्य जाँच
दावी : नयाँ डिजाइनका साथ एक हजारको नयाँ नोट प्रयोगमा आएको ।
दावीकर्ता : “Vikram Tiwari” नामक फेसबुक पेज ।
तथ्य : मिथ्या सूचना। नेपाल राष्ट्र बैङ्कले एक हजारको नयाँ नोट बनाएको छैन। अहिले चलनचल्तीमा रहेको एक हजारको नोट नै आधिकारिक हो। यो फोटोमा नेपाली शब्दका हिज्जे बिग्रिएको देख्दा यसलाई एआईबाट तयार पारिएको देखिन्छ।