तथ्यजाँच भ्रामक सूचना वागमती

नकाबधारीसँग बालेनले गोप्य बैठक गरेको भन्दै फैलाइएको भिडियोको तथ्य यस्तो छ


नकाबधारीसँग बालेनले गोप्य बैठक गरेको भन्दै फैलाइएको भिडियोको तथ्य यस्तो छ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले रातारात नकाबधारी मानिसहरुसँग गोप्य बैठक बसिरहेको दावी गर्दै एउटा भिडियो फेसबुकमा भाइरल भइरहेको छ। भिडियोमा अनुहार लुकाउने गरी मुकुन्डो लगाएका केही व्यक्तिहरु र टेबलमा दुई वटा टेलिभिजनको बुम माइकसमेत देखिन्छ। 

तर हाम्रो तथ्यजाँचमा भने उक्त दावी गलत देखियो। सात महिनाअघि भारतको उडिसास्थित किट कलेजसँग सम्बन्धित घटनामा भएको एउटा पत्रकार सम्मेलनको भिडियोलाई भ्रामक दावीकासाथ फैलाएको पुष्टि भएको छ। हालका घटनासँग यसको कुनै सम्बन्ध छैन। 

के हो दावी?

बुधबार (असोज ८ गते) राति गुरुप्रसाद भट्टराईले ‘बालेन शाहको गोप्य बैठकमा नकाबधारी नक्कली जेनजीको बैठक भएको दावी गर्दै नेपालमा बालेनले तालिवान तयार गरिरहेको आरोप लगाउँदै फेसबुकमा एउटा भिडियो सेयर गरे। 

भट्टराईलाई केपी ओली नेतृत्वको सरकारले २०७७ सालमा नेपाल रेलवे कम्पनीको महाप्रबन्धक नियुक्त गरेको थियो। 

हेर्नुस् अर्काइभ लिङ्क। हेर्नुस् स्क्रिनरेकर्ड-

यो तथ्य जाँच तयार गर्दासम्म उनको भिडियोमा ५ सयभन्दा बढी रियाक्सन, १ सयभन्दा बढी सेयर र ३० भन्दा बढी कमेन्ट छन्।

त्यसैगरी १० हजार फलोअर रहेका प्रकाश तुम्बापो लिम्बु नामक फेसबुक प्रयोगकर्ताले पनि  ‘हेर्नुस् साथी हो, बालेन शाहको रातारात गोप्य मिटिङ’  लेखिएको सोही भिडियो राखेको छ। 

यो तथ्य जाँच गर्दासम्म सो भिडियोमा २८ हजारभन्दा बढी रियाक्सन, २३ सय कमेन्ट र २७ सय सेयर देखिन्छ। हेर्नुस् स्क्रिनरेकर्ड, हेर्नुस् अर्काइभ लिङ्क। 

यसैगरी १२ हजार फलोअर भएका र विभिन्न टेलिभिजनमा काम गरिसकेका पत्रकार सुमन ढुङ्गानाले पनि यो के हो, के देश सक्ने हो, किन यो मुकुण्डो, अब अति भयो, यसको सत्यतथ्य दे सरकार  लेख्दै सोही भिडियो राखेका छन्। लाइक काउण्ट लुकाइएको सो भिडियो १३९ पटक सेयर गरिएको छ भने ५६ हजारभन्दा बढी पटक भिडियो हेरिसकिएको छ। 

हेर्नुस् स्क्रिनसट

के हो तथ्य?

हामीले यो भिडियोको तथ्य जाँच गर्न सुरुमा भिडियोको की फ्रेम निकाली रिभर्स इमेज सर्च गर्‍यौँ। यस क्रममा हुबहु दृश्य नदेखिए पनि उस्तै खालको एउटा फोटो भेटियो जसमा KIIT Incident लेखिएको थियो। तर सो लिङ्कमा क्लिक गर्दा उही फोटो भने भेटिएन। 

 

त्यसपछि हामीले भिडियोमा देखिएका दुई वटा टेलिभिजनका बुमहरु मध्ये एक प्राइम टेलिभिजनको युट्युब पेजमा ‘किट कलेज’ कीवर्ड राखेर सर्च गर्दा भाइरल भिडियोमा देखिएका जस्तै व्यक्ति एक भिडियोमा देखिए। २०८१ फागुन ८ गते प्राइम टेलिभिजनले युट्युवमा राखेको भिडियोमा ती व्यक्ति देखिन्छन्। भिडियोमा पुरै मुख छोपिने कालो मास्कमा चश्मा लगाएका व्यक्तिलाई देख्न सकिन्छ। उनको पहिरन भाइरल भएको भिडियोमा जस्तै थियो। टिभीको भिडियोमा अनुहार भने ब्लर (धमिलो) गरिएको थियो।

हेर्नुस् स्क्रिनसट

भिडियोको लिङ्कका लागि यहाँ क्लिक गर्नुस्

सो भिडियो भारतको उडिसा राज्यमा नेपाली विद्यार्थीको आत्महत्याको घटनासँग सम्बन्धित हो। उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेकनोलोजी (छोटकरीमा किट)मा पढ्दै गरेकी प्रकृति लम्सालको आत्महत्यापछि नेपाली विद्यार्थीहरुले छानबिनको माग गर्दै आन्दोलन गरेका थिए। आन्दोलन साम्य पार्न सो विश्वविद्यालयले नेपाली विद्यार्थीलाई निकालिदिएको थियो।

सो विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुमाथि कुटपिट भएको दावी पनि गरिएको थियो। उक्त भिडियो सोही घटनापछि नेपाल फर्किएका नेपाली विद्यार्थीहरुले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गरेको बुझिन्छ। 

विद्यार्थीहरुले अनुहार छोपेर गरेको पत्रकार सम्मेलन बारे २०८१ फागुन ९ गते अर्थडबली अनलाइनले पनि समाचार राखेको छ। हेर्नुस् अर्काइभ लिङ्क, हेर्नुस् स्क्रिनसट –

युट्युबमा सोही विषयको भिडियो खोज्दै जाने क्रममा हामीले नागरिक पत्र टिभी नामको युट्युब च्यानलको सोही पत्रकार सम्मेलनको ७ महिना अघि अपलोड गरिएको एउटा भिडियोमा हालको जेन जी आन्दोलनपछि चर्चामा आएको संस्था हामी नेपालको लोगोसहितको ज्याकेट लगाएका सुदन गुरुङलाई पनि देख्यौँ।

भिडियोको लिङ्कका लागि यहाँ क्लिक गर्नुस्

त्यसपछि हामीले हामी नेपाल संस्थाको इन्स्टाग्राम पेजमा खोजी गर्‍यौँ। यसै क्रममा ३० हप्ता अगाडि अपलोड गरिएको भिडियो भेटियो जसमा अङ्ग्रेजीमा  हाम्रा विद्यार्थीहरु यसरी पिटिएका थिए  लेखिएको छ। 

हेर्नुस् ओरिजिनल लिङ्क। हेर्नुस् स्क्रिनरेकर्ड –

हामी नेपाल संस्थाले अपलोड गरेको मिति २०२५ फेब्रुअरी २० लाई नेपालीमा रुपान्तर गर्दा २०८१ फागुन ८ गते देखिन्छ। 

अतः नकाबधारी मानिसहरुले बालेनसँग गोप्य मिटिङ गरेको भन्ने दावी गर्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडियो भ्रम फैलाउने उद्देश्यले प्रेरित देखिन्छ। भिडियो ७ महिना पुरानो हो र अहिलेको घटना र बालेनसँग यसको केही सम्बन्ध छैन। 

तथ्यजाँच

दावीः नकाबधारी मानिसहरुले बालेनसँग गोप्य मिटिङ गरेको।

दावीकर्ताः गुरुप्रसाद भट्टराई, सुमन ढुंगाना लगायतका फेसबुक प्रयोगकर्ता।

तथ्यः भ्रामक सूचना। सो भिडियो ७ महिना पुरानो हो। भिडियोको हालका घटना र बालेनसँग केही सम्बन्ध छैन। सात महिनाअघि भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट)मा अध्ययनरत नेपाली विद्यार्थीको मृत्युपछि नेपाल फर्काइएका विद्यार्थीहरुले पहिचान लुकाउन अनुहार छोपेर कलेजले गरेको व्यवहारबारे पत्रकार सम्मेलन गरेको समयको भिडियो हो। 


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add