तथ्यजाँच भ्रामक सूचना वागमती

एनपिएलको मैदानमा ओलीको समर्थनमा नारा घन्किएको भाइरल भिडियो भ्रामक


एनपिएलको मैदानमा ओलीको समर्थनमा नारा घन्किएको भाइरल भिडियो भ्रामक

  • टेकमान शाक्य – 

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा अहिले चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) का क्रममा केपी ओलीको समर्थनमा नारा घन्किएको दावीसहितको एउटा भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर हाम्रो तथ्य जाँचले यो दावी भ्रामक भएको पुष्टि भएको छ।

के हो दावी ?

नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणमा त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जोडिएको छ। प्रतियोगिताको पहिलो दिन ‘फ्लडलाइटसहितको एनपीएलमा घन्कियो केपी ओली आई लभ यूको नारा’ टेक्स्ट ओभरले राखेर रमेश लामा नाम गरेको फेसबुक पेजमा भिडियो पोस्ट भएको छ।

हेर्नुहोस् भिडिओको स्क्रिनसट-

हेर्नुहोस्, भिडिओको अर्काइभ लिंक

रमेश लामा नामक फेसबुक पेजमा पोष्ट भएको यो भिडियोले यो तथ्यजाँच गर्दासम्म १३ हजार लाइक, १६ सय कमेन्ट, ९२५ सेयर छ भने १५ लाख पटक भिडियो हेरिसकेको छ। भिडियो भाइरल भएको र त्यसमा भएका कमेन्टहरु हेर्दा अन्यौल देखिएकोले हामीले यसको तथ्य जाँच गर्ने निर्णय गर्‍यौँ।

यही भिडियोलाई अरु सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत डाउनलोड गरेर भाइरल बनाइरहेका छन् ।

के हो तथ्य ?

यसबारे तथ्य जाँच गर्ने क्रममा हामीले भाइरल भिडियोको ‘कि फ्रेम’को स्क्रिनसट निकालेर त्यसलाई गुगल इमेज सर्च गरेर हेर्‍यौँ। यस क्रममा हरिशरण जमकट्टेल नाम गरेको टिकटक एकाउन्टमा यो भिडिओ भेटियो। भिडिओको फ्रेममा कुनै पनि टेक्स्ट ओभरले गरिएको थिएन।

हेर्नुहोस् भिडिओको स्क्रिनसट

 

हेर्नुहोस् भिडिओको अर्काइभ लिंक

यो भिडिओ कुन मितिमा अपलोड भएको भनेर हामीले जाँच गर्‍यौँ। टिकडाटालगायत अरु विभिन्न माध्यमले जाँच गर्ने क्रममा यो भिडिओ नेकपा एमाले निकट युवा संघका वागमति प्रदेश संयोजक हरिशरण जमकट्टेलको टिकटक एकाउन्टमा आठ महिनाअघि अर्थात् २०२५ को मार्च ४ को दिन अपलोड भएको भेटियो।

हेर्नुहोस् स्क्रिनसट


युवा संघका वागमती प्रदेश संयोजक जमकट्टेलले नै यही भिडिओको आसपासमा अर्को भिडियो पनि अपलोड गरेका छन् । जुन भिडियोमा त्रिपुरेश्वरको दशरथ रंगशालाको दृश्य प्रष्टसँग देख्न सकिन्छ भने ग्राउण्डमा खेलाडीहरु फुटबल खेलिरहेका छन् । आवाजमा केपी ओलीको समर्थनमा नारा लगाएको सुनिन्छ।

 भिडियोमा दर्शकको माथि छत पनि देख्न सकिन्छ। जबकि कीर्तिपुरको मैदानमा दर्शक बस्ने सिट बनाइए पनि छत बनाइएको छैन।

हेर्नुहोस् भिडिओको स्क्रिनसट

हेर्नुहोस् अर्काईभ लिंक

उनले २०२५ को मार्च ४ मा यो भिडिओ अपलोड गरेका कारण यो मितिमा दशरथ रंगशालामा कुनै प्रतियोगिता भएको थियो कि थिएन भनेर हामीले खाेज्यौँ। त्यसक्रममा दि काठमाडौं पोष्टले २०२५ को मार्च ३ मा दशरथ रंगशालामा भएको केपी ओली कपको उपाधि मछिन्द्र एफसीले जितेको समाचार प्रकाशित गरको भेटियो।

हेर्नुहोस् स्क्रिनसट

हेर्नुहोस् समाचारको अर्काइभ लिंक

त्यसपछि हामीले केपी ओली कप भएको समयमा भिडियो अपलोड गर्ने युवा संघ नेपालका वागमती प्रदेश संयोजक हरिशरण जमकट्टेललाई सम्पर्क गर्यौँ । जमकट्टेलको भनाई अनुसार यो भिडियो उनले आफैंले मोबाइलमा कैद गरेर पोष्ट गरेका थिए भने यो भिडपयो आजभन्दा ९ महिनाअघि मार्च ३ मा त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको केपी ओली कप फुटबल प्रतियोगिताकै हो ।

सुन्नुहोस्, उनीसँग गरिएको टेलिफोन कुराकानी

तथ्यजाँचः एनपीएलमा केपी ओलीको समर्थनमा नारा घन्किएको दावीसहितको भिडियो।

दावीकर्ताः रमेश लामा फेसबुक पेजसहित सामाजिक संजाल प्रयोगकर्ता ।

तथ्यः भ्रामक सूचना । नेपाल प्रिमियर लिग (एनपीएल) मा नारा घन्किएको भनेर दावी गरिएको भिडियो फुटेज अहिलेको होइन । यो भिडिओ ९ महिना अघि एमाले निकट युवा संघ नेपालका वागमती प्रदेशका संयोजक हरिशरण जमकट्टेलले आफ्नो मोबाइलमा कैद गरेर आफ्नो टिकटक एकाउन्टमा सन् २०२५ अप्रिल ४ को मितिमा पोष्ट गरेका छन् ।  त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको केपी ओली कप फुटबल प्रतियोगिताका क्रममा खिचिएको यो भिडिओसँग नेपाल प्रिमियर लिग (एनपीएल)को कुनै पनि सम्बन्ध छैन।


प्रतिक्रिया दिनुहोस्
सबैभन्दा धेरै हेरिएको
Add